कथा :घामछाया « Himal Post | Online News Revolution
Logo

कथा :घामछाया



एक बिहानै मोबाइलको घण्टी बज्यो।कल रिसिभ गर्ने बित्तिकै उताबाट एउटा अपरिचित आवाज कानमा ठोक्कियो “तपाईँ रवि बोल्दै हुनुहुन्छ हो?”। निकै हतारको बोलीले मलाई अलमल्ल पार्यो। “हजुर,म रवि नै बोल्दै छु।मैले हजुरलाई चिन्न सकिन नि।केही काम छ भन्ने भन्नुस न” मैले परिस्थितिलाई सामान्य बनाउने कोसिस गर्दै जवाफ फर्काए।

“म छायाको घरबेटी बोल्दै छु,हिजो रातिमात्रै उसलाई बुटवल अञ्चल हस्पिटलमा भर्ना गरिएको छ।तपाईँलाई रातीदेखि नै खोजेको खोज्यै छे।तपाईँ कहाँ हुनुहुन्छ छिटो आइदिनुपर्यो बाबु”

“तर म त मेरो गाउमा छु,अन्टी।जे होस म आजै आइपुग्छु” जसोतसो यति मात्र भन्न सके।
“हस छिटोभन्दा छिटो आउने कोसिस गर्नु बाबु” यति बोल्दै फोन काटिएछ,टुट टुट गरिरह्यो।

मेरो मनमा बेचैनी बढ्न थाल्यो।मनले अनेक अनुमान लगायो तर अह सही अनुमान निस्किएन मनबाट।अनि हिजोराती मात्रै उसङ्ग कुरा गरेको सम्झे।

“हेलो,छाया के गर्दै छौ?
“बसिराछु अनि हजुर के गर्दै हुनुहुन्छ?”
“म तिमीलाई नै सम्झिराछु,तिमीलाई सम्झिरहने बाहेक अरू काम नै के हुन्छ र मेरो” मैले भनेको थिए।

“अनि गाउमा पनि बुटवल बसेजस्तै ठान्नुहुन्छ कि क्या हो?खुरुखुरु आमालाई काममा सघाउनु नि।घाँस काटीदिनु,पानी ओसारीदिनु।आमा कति खुसी हुनुहुनेछ हजुरले सघाउदा” उसले मायालु पाराले भनेकी थिई।

“आमालाई त्यत्ति धेरै सघाउने मन नै भए आऊ न तिमी पनि।तिमि र म भएर सघाउला नि आमालाई।तिमीलाई माया गर्ने बाहेक अरू केही काम आएपो मलाई” मैले जिस्काउदै भनेको थिए।

“भैगो,हजुरलाई कुरामा कसले सक्छ र?बरु खाना त खानुभयो होला नि कि हिजो जस्तै खाना नखाई बस्नुभाछ?”
“तिमी नभएपछि भोक र निद्रा लाग्दै लाग्दैन मलाई अनि खाना खानै मन लाग्दैन?बरु तिमीले खायौ ?” मैले ठट्टा मै भनेको थिए।
“भर्खर बसपार्कबाट आएर खाना खानै लाको छु,आज धेरै मान्छेहरू थिए तेसैले ढिलो भयो।बरु हजुर नि खाना खाएर सुत्नु।धेरै अनिदो नबस्नु।बिरामी भैइन्छ अनि भोलिदेखी आमालाई काममा सघाउनु नि,अहिले राख्छु।” उसले भनेकी थिई।
“ओके बाबा ओके,बरु आफ्नो र बाबाको केयर गर ल,लभ यु छाया बाई”
“ओके सेम टु यु,बाई” उसले फोन राखेकी थिई।

मनभरि पिडाहरुको पोको पारेर म बुटवल जाने तयारी गर्न थाले।अखिर मेरो पनि मनै त हो,त्यो पिडाबाट अछुतो रहन सकेन मेरो मनपनि।आजसम्म छाया कहिल्यै बिरामी भएकी थिइनन मलाई भटेको दिनदेखि।कहिल्यै भागवन नसम्झिने मैले बल्ल आज भागवन सम्झिए अनि एउटा अनुरोध गरे “हे भागवन,मेरी छायालाई केही नहोस।”

“आमा म बुटवल जानुपर्ने भयो।छाया निकै बिरामी भएकी छिन रे।हजुर आफ्नो ख्याल गर्नु।म हिडे है” आमालाई यति भन्दै म घरबाट निस्के।

“बाबु,आउदाखेरी छायालाई साथ लिएर आउनु है।नमिठो खाउला,नराम्रै लगाउला तर सङ्गै बसौला।राम्रो सङ्ग जानू” आमाले गहभरि आँसु पार्दै भन्नुभयो।वर्षाको समय,गाडी चल्न सक्ने अवस्था पनि थिएन।मेरो गाउँ अर्चले बाट सिलुवा पुग्न ४ घण्टा पैदल हिड्नुपर्थ्यो अनि बल्ल गाडी पाइन्थ्यो।मनमनै छायाकै बारे सोच्दासोच्दै म सिलुवा आइपुगे।सिलुवाबाट बुटवलको लागि गाडी छुट्यो।

सायद मेरो गह्रौं मन बोकेकोले हुनसक्छ गाडीको गति निकै ढिलो हुदैथियो।गाडी कछुवाको गतिमा गुडेजस्तो लाग्यो मन छायालाई भेट्न भनेर दौडिरहेको थियो खरायो जस्तै।मनमा अनेक प्रश्न खेल्दै थियो म आफूलाई सम्हाल्ने प्रयत्न गर्दै थिए।फेरि मनले अझैपनी भन्दै थियो “छायालाई केही नहोस,छाया मेरो मेरो मात्र होइन उसको बाबाको जिन्दगी पनि हो”

बुबा सधैँ भन्नुहुन्थ्यो “रवि,तिमीले धेरै धेरै पढेर ठुलो मान्छे बन्नुपर्छ अनि बुबाआमाको नाम राख्नुपर्छ।” बुबाको यस कुराले मलाइ सधैँ अगाडि बढ्न प्रेरित गर्नुहुन्थ्यो।बुबा गाउकै स्कुलमा शिक्षक हुनुहुन्थ्यो।बुबाआमाको एक्लो छोरो भएकै कारण म उहाहरुको सर्वस्व थिए।बुबा आफूले जस्तै मैले पनि नाम कमाओस भन्ने चाहनुहुन्थ्यो।त्यसैले मलाई तानसेनको जेभिटी स्कुलमा पढाउनुभयो एसएलसी दिदासम्म।
एउटा सुनौलो सपना मनमा बोकेर प्लस टु पढ्न बुटवल झरेको थिए।सधैँ लागिरहन्थ्यो मैले केही बन्नु छ अनि केही गर्नुछ।सपनाहरू फुलाउनको लागि मैले प्लस टु पढ्न बुटवलको सिद्दार्थ गौतम बुद्ध कलेजलाई रोजे।नयाँ सहर,नयाँ ठाउँ तर बुबाआमाको त्यो पुरानै आशीर्वाद साथमा थियो।मेजर म्याथ लिएर पढे।पढाइ राम्रै चलिरहेको थियो।म पढाइमा निकै ध्यान दिन्थे।

त्यही वर्ष बुबाको निधन भयो तर कारण खुल्न सकेन।मलाई सधैँ प्रेरणा दिनुहुने बुबाको निधनले म निकै रोए तर जति रोए पनि अब बुबा फर्केर आउनुहुदैनथ्यो।मैले आफूलाई सम्हालेर मेरो आमाको भरोसा बन्नु थियो।बुबाले साथ छोड्नुभएपनी आमा साथमा हुनुहुन्थ्यो।आमाले पढ्नुपर्छ भनेपछि फेरि आमालाई एक्लै छोडेर म बुटवल झरेको थिए।

समय सेकेन्ड,दिन,हप्ता,महिना,वर्ष हुँदै बित्दै थियो।प्लस टु को क्लास सकियो।एक्जाम भयो अनि रिजल्ट पनि आयो।प्लस टु मा पनि राम्रो नम्बर ल्याएर पास भए।मेरो सफलतामा मेरी निकै खुसी हुनुभयो सायद पास म होइन उनी स्वयम हुनुभएको हो।।बुबा हुनुभएको भए कति खुसी हुनुहुन्थ्योहोला।एक पटक बुबालाई सम्झे अनि अँखाबाट आँसु खस्यो।आमा र म दुबैजना रोयौ।बुबाले पनि देख्नुभयोहोला हामी रोएको अनि रुनुभयो होला बुबापनी आफ्नै संसारमा।

ब्याचलर प्रथम वर्षको क्लास सुरुभयो।म फेरि आमालाई एक्लै छोडेर झरे त्यही बटौली जहाँ मेरो मात्र होइन मेरो स्वार्गीय बुबाको सपना अड्किएको थियो।मलाई त्यो सपना पूरा गर्नुथियो।प्रथम वर्षमा धेरै साथीहरू देखे,चिने अनि भेटे।तर मैले मेरो सपना कहिल्यै बिर्सिएको थिएन।मलाई केटीहरू भन्नेबित्तिकै एलर्जी नै हुन्थ्यो।म कहिल्यै कुनै केटी पछाडि लागिन न त उनीहरू नै मेरो पछाडि लागे।म आफ्नो सपना पूरा गर्न हिडेको मान्छे।

साथीहरू भन्ने गर्थे “ओए,रवि तिमी त हामी जस्तो होइनौ क्या हो।अझैसम्म एउटा गर्लफ्रेण्ड बनाको छैनौ त,कि तिमी पनि….?”
“होइन यार,मलाई धेरै अगाडि बढ्नु छ।म आफ्नो करियर सफल बनाउन चाहन्छु।म यो प्रेमस्रेमको चक्करमा फस्न चाहन्न।तेसैले मात्र” मैले भनिदिन्थे।

“अनि तैले मनैदेखी मन पराएको केटी भएटिस भनेनी के गर्छस?तिमी त करियर नै बनाउछस होला है?” यसरी साथीहरू मेरो खिल्ली उदाउथे अनि म नजावाफ हुन्थे।

यसरी समय बित्दै गयो।ब्याचलर सेकेन्ड इयरको पनि क्लास सुरु भयो।पढाइको रफ्तार त्यसरी नै चलिरहेको जति पहिले थियो।
हामी सेकेन्ड इयर ग्रुपले ब्याचलर फर्स्ट इयर पढ्नेहरूको लागि “वेलकम प्रोग्राम” गर्‍यो ।त्यो प्रोग्राममा मैले मेरो जीवनकै एउटी सुन्दर केटी देखे जसले मेरो मनमा प्रेमको घण्टी बजाउन सफल भैइन।मेरो केटी देख्दा हुने एलर्जीको औषधि उसले गरिदिई।एउटी सामान्य केटी जो हेर्दा बुटवल सहरमा बस्ने केटी जस्ती थिइनन।एउटा गाउमा मेलापात गर्ने सादा जीवन उच्च बिचारको भावना बोकेकी केटी थिइन उनी।तर दुर्भाग्य मैले उसको नाम सम्म जान्न सकिन त्यो दिन।

साझभरी कोठामा उस्कै तस्बिर नाचिरह्यो।मनबाट उसलाई कतिपटक हटाउने कोसिस गरे तर सकिन म त मायामा पो फसेछु।त्यो साझ न भोक लाग्यो न राती निद्रा नै लाग्यो।माया त यस्तो अनौठो हुदोरहेछ बल्ल बुझेको थिए त्यो दिन।पहिलो पटक देखैका भरमा पनि माया हुदोरहेछ।

भोलिपल्ट अरुदिन भन्दा सबेरै कलेज पुगे तर उनी आईनन त्यो दिन।मलाई कलेज बेकार आएछु जस्तो लाग्न थालेको थियो।अब वरिपरि उसकै मुहार देख्थे अनि बोलाउन खोज्थे तर उनी बिलाउथिन।भोलिपल्ट कलेजमा कसैबाट सुने उसको नाम छाया रहेछ।मन खुसीले तिनाउमा पौडी खेल्न थाल्यो।”कस्तो मीठो नाम छाया।” मनमनै सोचे।साझपख मिलनचोकबाट आउँदै गर्दा एउटा अनौठो दृश्य देखे जुन दृश्य देखेर मन हतासिन थाल्यो।छाया त बसपार्कमा सेकुवा पो बेच्दी रहेछिन।उनी आफ्नो ग्राहकलाई सेकुवा दिनमै व्यस्त थिइन म अर्कोपटि बसेर त्यो सबै क्रियाकलाप हेरिरहेको थिए।उसलाई एक पटक मात्र बोलाउन मन भएर पनि बोलाउन सकिन।मेरो बोली फुटेन।राती कोठामा आएर मनमा धेरै सवालहरू जवाफ खोज्दै थियो।”पक्कै केही न केही परिस्थिति हुनुपर्छ” यस्तै सोचेर मनलाई शान्त बनाएको थिए।त्यो रात उसङ्ग कसरी बोल्ने भन्ने योजना बनाउदा बनाउँदै निदाएछु।

बिहानै उठेर कलेज गए हिजो जस्तै एउटा आशा बोकेर।छायालाई भेट्ने आशा।तर छाया कलेज आउनै छाडिन।मलाई अब म उसको प्रेममा छु भन्ने थाहा थियो तर मैले मेरो सपनालाई भने भुलेको थिइन।

त्यो साझ गए बसपार्क तिर।सेकुवाको ग्राहक बन्नु त एउटा बाहना मात्र थियो खासमा म उसको मायाको ग्राहक बनेर गएको थिए।मनमा एउटा डर पर्दा भइरहेको थियो “के मेरो मायाले उसको मायालाई किन्न सक्ला?”
बसपार्क पुग्ने बित्तिकै छायाको सेकुवा पसल तिर गए।

“हजुर के खानुहुन्छ?” छायाले पहिलोपटक म सङ्ग बोलेकि थिई।मन बुटवलको गर्मीमा पनि शीतल भएको थियो।
“के के पाइन्छ?””पाडाको अनि बङ्गुरको,भन्नुस कुन दिउ हजुरलाई?” छायाले फेरि बोले कि थिई म सङ।उसको बोली यति मीठो अनि सरल मैले सोचेको पनि थिइन।मैले उसको बोली सुन्ने चाहनाले कुरा लम्ब्याउन खोजेको थिए।
“कसरी हो नि?”
“पाडाको एकजिरको पच्चिस अनि बङ्गुरको एकजिरको तीस रुपैयाँ” उ फेरि बोलेकि थिई।
“तेसो भए पाडाकै दिनुस न,चारजिर जति” मैले भनेको थिए।
केही समयपछि छाया बोली “लिनुस हजुरको”।

छायाको हातबाट सेकुवा लिए अनि खाए।उ जस्तै मीठो उसको सेकुवा पनि।हुन त उसको रूप,बोली बचन सबै मिठो।त्यसैले छायाकोमा सबैभन्दा धेरै भिड देखिन्थ्यो अरुकोमा भन्दा।त्यो साझ त्यति औपचारिक कुरा बाहेक केही भन्न सकिन।आफूले खाएको रु सय दिएर म हिडे बिस्तारै।कोठामा आए खाना बनाउन मन लागेन।अखिर उसले किन गरेकी छे यो सबै काम मनले बुझ्नै चाह्यो।भोलिपल्ट साझ छाया आफ्नै काममा व्यस्त भइरहेको बेला म पुगे।त्यो साझ म सेकुवा भन्दा उसको परिचय बुझ्ने उद्देश्यले गएको थिए।
“के खानुहुन्छ हजुरले? उ आफ्नै तरिकाले बोलेकि थिई।”हजुरको नाम भन्नुस न” मैले कुरा अन्तै मोड्दै भनेको थिए।

“हजुर मेरो नाम सोध्न आउन भएको कि सेकुवा खान?” छाया हल्का रिसाए जस्तै बोलेकि थिई।”होइन,यसो हजुरको परिचय थाहा पाउ कि भनेर मात्र” मैले स्थिति सुधार्ने हिसाबले बोलेको थिए।केहीबेर म मौन रहे र उनी पनि।”छाया गुरुङ,अनि हजुरको?”
“रवि मगर,घर कहाँ नि तपाइको?”
“घर स्याङ्जा गल्याङ्ग नजिकै हो अनि हजुरको नि?”
“रामपुर सुन्नुभाको होला नि?
“उम सुनेको छु,रामपुर हो?”
“होइन,रामपुर नजिकै पर्छ अर्चले”
“ए” उसले बुझेजस्तै गरी। उ अर्को ग्राहकलाई सेकुवा दिइराखेकी थिई म उसको मुहारमा एकटकले हेरिरहेको थिए।पुलुक्क म तिर हेरी उसले।मैले हतारै हतारमा प्रश्न बनाए।”कहाँ बस्नुहुन्छ नि यहाँ चाहिँ”
“म गोलपार्क बस्छु,हजुर??
“म हिलपार्क जाने गेटभन्दा ठ्याक्कै अगाडि”

यति भन्दै गर्दा पानी परेको थियो।उ आफ्नो सामान मिलाउदै थिई केही गुनगुनाएर।सायद त्यही झरीलाई गाली गर्दै थिइन होला।मैले पनि मनमनै गाली गरे।एउटा रिक्सा बोलाएर उ बसपार्कको पछिल्लो गल्लेबाट जानै लाग्दा मैले भनेको थिए “भोलि आउछु नि है म,गफ गर्न” केही नभनि उ सरासर आफ्नो बाटो लागेकि थिई।म निथ्रुक्क भिज्दै कोठामा फर्किएको थिए।

भोलिपल्ट चिसोले होला ज्यान सन्चो भएन।कलेज जान सकिन।न खाना खान नै सके।दिनभरि ओछ्यानमै सुतिरहे।साझपख उसलाई भेट्न जान पनि सकिन।”छायाले पक्कै केही सोचिहोलि” मन प्रश्नहरूको कारखाना बनिरह्यो।

अर्कोदिन बल्ल जसोतसो उठ्न सकेको थिए।साझ उसलाई भेट्न जानैपर्छ भनेर मनले कर गरिरहेको थियो।सधैझै पुगेको थिए उनी कहाँ ।
“हजुर,हिजो किन नाआउनुभाको” उसले जाने बित्तिकै सोधेकी थिई।”हिजो बिरामी थिए त्यसैले।आज नि खासै सन्चो छैन तैपनि तपाईँलाई साह्रै भेट्न मन लागेर मात्र आको” मैले नि मौकामा चौका भनेझै भने।

“अनि मलाई नै भेट्न चाहिँ किन नि?बसेको भए हुन्थ्यो त अराम गरेर”

“तिमीलाई माया गर्छु नि तेसैले” भनेर भन्न मन थियो तर सकिन। “यत्तिकै तपाईँलाई साथी जस्तै मान्छु तेसैले” मैले जवाफ फर्काएको थिए।
केही ग्राहकहरुलाई सेकुवा दिइसकेपछी उ थपक्क नबोलेर बसी।मलाई पनि बोलाउन ठिक जस्तो लागेन बस उसलाई हेरिरहे मात्र।ग्राहकहरू हिडिसकेपछि हामी दुइजना मात्र भयौ।मैले तेसैबेला भने “छाया,मलाई हजुरको नाम पहिले नै थाहा थियो।म ब्याचलर सेकेन्ड इयर पढ्छु सिद्दार्थमा।खासमा तपाईँलाई अस्तिको “वेलकम प्रोग्राम”मा देखेको थिए।”

“त्यो दिन त म एड्मिसन हुन मात्र गाको थिए।म क्लास लिनै भ्याउदिन तेसैले त्यसपछि म जानै पाको छैन।” छाया निराश भएर बोलेकी थिई।
मैले त्यो समय मेरो मनको कुरा भन्न निकै उपयुक्त ठाने।”तपाईँलाई मैले कलेजमा कति पर्खे तर नदेखेपछि मेरो त आशै हराएको थियो तर फेरि अस्ति यहाँ देखेपछि फेरि मन पलाएको हो।मलाई तपाईँ मन पर्छ छाया”आचनक मबाट प्रस्ताव आउँदा उ अचम्मित भएको उसको अनुहारले प्रस्ट बताईरहेको थियो।

“छाया,तपाईँ मेरो मनमा बसिसक्नुभएको छ।अब म त तपाईँलाई चाहेर पनि मनबाट हटाउन सक्दिन।तपाईँ मलाई जस्तो सोच्नुहुन्छ त्यस्तै जवाफ भोलिभित्र दिनुस न है।” मैले मेरो मनको सबै कुरा उ सामु राखिसकेको थियो।मन हलुको कपास भएर माथि नाचिरहेको थियो।
त्यो रातपनि निद्राले छुनै सकेन।भोलि उसले मलाई प्रेमको नतिजा भन्नेवाला थिई।त्यो प्रेमपरिक्षाको नतिजा त्यो एसएलसी,प्लस टुको नतिजा जत्तिकै महत्त्वपूर्ण थियो।भोलिपल्ट अलि सबेरै पुगेको थिए छाया आइपुग्नुभन्दा अगाडि नै।ढुकढुकी छातीभन्दा बाहिर आउला जस्तो गरी धड्किरहेको थियो।
“छाया,भन्नुस न के तपाईँ मलाई साथ दिनुहुन्छ?” मैले हिजोकै प्रश्न दोहोर्‍याए। “रवि,हजुरको बोली र स्वाभाव हेरेर हजुरलाई विश्वास गरेकी छु।कुनैदिन कस्ती केटीलाई मन पराएछु नभन्नुहोला” उ मलिन स्वरमा बोलेकि थिई।मैले पनि मन थाम्न सकिराको थिएन।मेरो अँखाबाट आशु खसिरह्यो।खुसीको आशु थियो त्यो।

त्यसदिनपछी म मजस्तो रहिन।म फेरिए अनि मेरो स्वाभाव बानी ब्योहरा सबै फेरियो।फोन नम्बर सटासाट गर्‍यौ।प्रत्येक दिनरात कुरा हुन्थ्यो तर कहिल्यै नसकिने मायाका बातहरु।जति माया गर्‍यो उति झन् माया बढ्दोरहेछ।अब उ बिनाको एकपल पनि मलाई निको लागेन।प्रत्येक पल उस्कै काखमा बस्न पाउ जस्तो लागिरहन्थ्यो।अब म फेरिसकेको थिए।अब म मेरो साथीहरू जस्तै पागल भैसकेको थिए उसको मायामा।उ सधैँ भनीरहन्थी “रवि,हजुरले धेरै पढ्नुस है।मैले पढ्न नसकेपनी हजुरले पढिदिनुस हजुरको आमा र मेरो लागि ” उसले यति भन्दा पनि ममा निकै हौसला बढ्थ्यो पढाइप्रती।प्रेममा पर्नेहरुले पढाइ बिगार्छन भन्ने कुरा गलत सबित गर्दैथियो हाम्रो प्रेमले।
एक दिन हिलपार्क घुम्न जाँदा मैले भनेको थिए “छाया,तपाईँ मेरो लागि के के गर्न सक्नुहुन्छ?”

“कतिपटक भनु के हजुरलाई,मलाई तिमी भन्नुस भनेर” उसले कुरा अन्तै मोड्न खोजेकी थिई।”भन न त,तिमी मेरो लागि के के गर्न सक्छौ?” मैले रश्न दोहोर्‍याएको थिए।”मैले हजुरको लागि जे पनि गर्न तयार छु,अखिर यो संसारमा मेरो बुबा र हजुर बाहेक को नै छ र?” उ अध्यरो मुख बनाएर बोलेकी थिई।”तेसो भए एउटा कुरा भन्छु,मान्छ्यौ?”

“के कुरा?”

“तिमी त्यो सेकुवा बेच्ने काम छोड न है अब।तिमीलाई अरू कसैले बोल्दा अनि तिमी बोल्दा मेरो मन कत्ती दुख्छ भन्या” मैले मेरो मनको उकुसमुकुसलाई बाहिर ल्याएको थिए।

“हजुरलाई थाहै छ त,यो मेरो रहर होइन बाध्यता हो।आमाले सानैमा गएपछि बुबा नै मेरो सबथोक हुनुहुन्थ्यो।बुबाले आफूले दुख गरेर यतिसम्म पढाउनुभयो।फेरि अहिले बुबा प्यारालाइसिसको बिरामी हुनुहुन्छ।बिरामी बुबालाई सधैँ औषधि दिइराख्नुपर्छ अनि मैले आफू बाच्न कै लागि भए पनि त्यो काम गरेको हु” उ रुन थालेकी थिई।मेरो अँखाबाट पनि केही थोपा आशु चुहिएको थियो।

“मलाई माफ गरिदेउ छाया,अब देखि म तिमीलाई केही भन्दिन।तर मलाई माया मार्न चाहिँ पाउदैनौ नि,प्रमिस?” मैले मौनतालाई चिर्दै भनेको थिए।”अब त म आफैलाई बिर्सेपनि हजुरलाई बिर्सन सक्दिन।हजुर मेरो मनमा हुनुहुन्छ” उनी सामान्य अवस्थामा फर्किएर मेरो अँगालोमा टासिएकी थिइन।

यसरी दिन बित्दै थिए।मैले आमालाई छाया र मेरो बारेमा सबै कुरा भनेको थिए।आमापनी धेरै खुसी हुनुहुन्थ्यो।उसले फस्ट इयरको एक्जाम दिन सकिनन मैले भने सेकेन्ड इयरको एक्जाम दिएर रिजल्ट नि आइसकेको थियो।एक दिन आमाले गाउकै बिधालयमा शिक्षक चाहिएको विज्ञापन खुलेको जानकारी दिनुभयो।आमाको आशीर्वाद र छायाको मायाले गर्दा नै म आज गाउको एउटा शिक्षक बनेर मेरो बुबाको सपना पूरा गरेको थिए।छायालाई अन्तिम पटक भेटेर केही महिना अगाडि मात्र म आफ्नो गाउँ गएको थिए।

खलासी भाइले बुटवल आइपुग्यो भनेपछि पो म झसङ्ग भए।आफ्नो विगत सम्झिदा सम्झिदै बुटवल आइपुगेछ।हतार हतार बसपार्क पारी जानलाई बाटो काट्नै खोज्दा एउटा बाइक सामुन्ने आएर रोकियो।बाइकवाला म तिर हेर्दै केही बोलिरहेको थियो म सरासर आफ्नो बाटो लागे।बुटवल अञ्चल हस्पिटल पुगेपछि छायाको बारेमा बुझे।बुबाको मृत्युको कारण बेहोशी भएको र अहिले सामान्य अवस्थामा डिस्चार्ज भएको कुरा सुनाईन एक जना नर्सले।फेरि दौडिएर उसको कोठामा गए गोलपार्कतिर।म उसको कोठामा पुग्दा बुबाको शव जलाइसकेको रहेछ।छाया सुकसुक गरी रोइरहेकि मात्र थिइन।छायालाई सन्त्वना दिँदै दिनहरू बिते।छाया जहिल्यै रोइरहन्थिन।

एकमहिनापछि छायालाई भने “छाया,जे भयो भयो।अब तिम्रो लागि म छु अनि मेरो लागि तिमि छौ।अनि आमा हुन्हुनुहुन्छ।हामी गाउमा गएर नयाँ जीवन सुरु गर्नुपर्छ।अब जिन्दगीको नयाँ यात्रा सङ्गै सुरु गरौँ।”

छाया म सङ्गै गाउँ जाने निधो भयो।भोलिपल्ट बिहानै बसपार्क आयौ।गन्तव्य सम्म आउने बस छुट्नै लागेको थियो।छाया निकै बेर हेरिरहिन त्यो ठाउँ जहाँ आफूले सेकुवा बेचेर आफ्नो बुबाको जीवन किनिरहेको थियो।निकै बेर टोलाइरहिन आफूले सेकुवा पोल्ने गरेको त्यो ठाउँ,ग्राहकहरू बस्ने कुर्चि राख्ने त्यो ठाउँ।।खलासीले गाडी हिड्नै लाएको सङ्केत गर्‍यो।फेरि त्यो बसपार्क एरिया एक पटक चारैतिर नियाल्दै बसमा चढी।बसले आफ्नो गन्तव्यको लागि यात्रा सुरु गर्‍यो सङ्गसङ्गै हाम्रो नयाँ जिन्दगीको पनि सुरुवात हुँदै थियो।

केशु खण्डलुक मगर
निस्दी गा.पा.-०६,पाल्पा