चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द « Himal Post | Online News Revolution
Logo

चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द



रुकुम, पुस २४ गते  । लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द भएका छन् । सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका धेरै सङ्ख्यामा रहेको र उनीहरुलाई न्यानो कपडाको अभावमा समस्या सिर्जना भएपछि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विद्यालयको वार्षिक पात्रोअनुसार बर्खे बिदामा कट्टी हुने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर अछामीले जानकारी दिनुभयो ।

जिल्लामा सञ्चालन भइरहेका विद्यालयले अर्धवार्षिक परीक्षा सकेर विद्यालय बन्द गरेको उहाँले बताउनुभयो । यहाँका बोर्डिङ स्कुल भने सञ्चालनमा रहेका छन् ।

रुकुममा अहिले ६५० सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । केही पहिले पानीसँगै हिमपात भएपछि अहिले जिल्लामा जाडो बढ्दै गएपछि सर्वसाधारणको जनजीवन पनि प्रभावित भएको छ । जाडोका कारण सेवाग्राहीको सरकारी कार्यालयमा उपस्थिति पनि न्यून देखिएको छ । रासस