‘चुली’ लघुन्यासभित्रका साहसिक क्रेम्पोन पाइलाहरू « Himal Post | Online News Revolution
Logo

‘चुली’ लघुन्यासभित्रका साहसिक क्रेम्पोन पाइलाहरू



समिक्षा:- बिकेश कविन

विधाः उपन्यास (लघुन्यास)
लेखकः सरुभक्त

‘चुली’ लघुन्यासभित्रका विविध पक्षहरूः
सङ्घर्ष, जीवनप्रतिको प्रेम, प्रकृतिप्रतिको अथाह आस्था, अहम्वादी आचरण, प्रेयसी (प्रणय) र घरपरिवारको सुमधर परिकल्पना, स्वअस्तित्वपूर्ण आचरण र विचरण, लक्ष्यप्राप्तिको निम्ति महान् अठोट÷सङ्कल्प, जीवनवादी अवधारणा, जीवन र मृत्युको सूक्ष्म आत्मीय अध्ययन, पर्यावरणीय अनुकूलता, मानव बाँच्नुको परम उद्देश्य, लक्ष्यप्रति विपुल आस्था, नितान्त फरक र निजी जीवनवादी पदार्पण, मृत्युसँगको पटक–पटकको साक्षात्कार, आत्मिक पारस्परिकता, राष्ट्रप्रेम, हिमालहरूको सौन्दर्य, मानव जीवनका रङ्गीविरङ्गी कुसुमहरू, परोपकारी र निःस्वार्थ मनोभावना, सरसफाई, मानवता…… आदि आदि इत्यादि ।

‘चुली’ लघुन्यासभित्रको भूगोलः

१) चुली याने टाकुरा । चुली याने हिमालको सबैभन्दा टुप्पो भाग । चुच्चो भाग । हिमालको अन्तिम उचाइ । हिमालमा सुन्दरता छ, हिमालमा समस्याहरू पनि छन् । जीवनमा सुन्दरता छ, जीवनमा समस्याहरू पनि छन् । जीवन याने हिमाल नै हिमालको एक सुन्दर देश । जीवन याने सङ्घर्ष । जीवन याने खोज । जीवन याने साहस ।

२) ‘चुली’ लघुन्यासभित्रको मुख्य पात्र ‘ऊ’ हुन्छ । ‘ऊ’ पात्रको नाम लघुन्यासमा खुलाइएको छैन । ऊ आफ्नो भाग्यमाभन्दा पनि कर्ममा विश्वास गर्छ । सगरमाथाको चुलीसम्म पुगेर फर्कनुलाई उसले आफ्नो जीवनको परम लक्ष्य बनाउँछ । यसको निम्ति ऊ विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको आधारशिविरमा पुग्छ । ऊसँग उसका भारी बोकिदिने केही भरियाहरू हुन्छन् तर ऊसँग कोहीँ पनि गाइड हुँदैनन् । न त ऊसँग सहआरोहीहरू नै हुन्छन् । याने ऊ एक्लै सगरमाथाको आरोहण गर्ने हुन्छ । उसको मान्यता, मान्छे समाजमा बस्नुपर्छ तर हिमाल चढ्दा एक्लै चढ्नुपर्छ ।

३) सगरमाथाको आधारशिविरमा मेला लागेझैँ हुन्छ । त्यहाँ थुप्रै भरियाहरू हुन्छन् । गाइडहरू हुन्छन् । त्यहीँ उसले भाटेचिया पनि पिउँछ । ऊ निकै मिलनसार प्रवृत्तिको हुन्छ । जोसुकैसँग सजिलै घुलमिल हुन्छ । यसर्थ उसले त्यहाँका भरिया र गाइडहरूसँग मज्जाले कुरा गर्छ । सबैको कुरा सुन्छ । सबैको रहर र सपना सुन्छ । सबैको दुःख र बाध्यता सुन्छ । आखिर दुःख र पीडाभित्र त आशाका स्वर्णिम फूलहरू फुल्ने गर्छन् । उसले आधारशिविरमै एउटा भोटेकुकुरलाई आफ्नो प्रिय बन्धु बनाउँछ । ऊसँग हाँस्छ, रमाउँछ र खेल्छ । यसरी उसले हिमालमा पनि परस्पर भावनाको फूल फुलाउँछ । आत्मासँग आत्मीयता साट्छ । प्रेम साट्छ । सम्बन्ध गाँस्छ । वास्तवमा मानिस र जनावरहरू फगत भौतिकरूपमा भिन्न छन् । आध्यात्मिकरूपमा नियाँल्ने हो भने सम्पूर्ण प्राणी समान छन् । किनकी आत्माको कुनै रूप हुँदैन । आत्मा त रूपहीन हुन्छ ।

४) सबैभन्दा पहिलो दिन ऊ खुम्बु आइसफलसम्म पुग्छ । त्यसपछि पुनः आधारशिविरमा फर्कन्छ । दोस्रो दिन सबेरै ऊ लह्प्साङ्की चोमोलोङ्माकी देवीलाई खादा चढाउँछ अनि नजिकैको एउटा चट्टानमा चढ्छ । तेस्रो दिन मौसम अलि बिग्रेको हुँनाले ऊ पदयात्रा गर्छ । चौथो र पाँचौँ दिन भने त्यहाँको मौसम बडो प्रतिकूल रहन्छ, त्यसैले यी दुई दिन ऊ केही पनि गर्दैन । छैठौँ दिनमा त्यहाँको मौसममा निकै अनुकूलता आउँछ । सातौँ दिनमा ऊ सगरमाथाको आरोहणको निम्ति निस्किने कुरो गर्छ तर उसका भरियाहरूले मौसम बिग्रनसक्ने हुँनाले थप दुई दिनपछि आरोहणको निम्ति निस्कन परम अनुरोध गर्छन् तर उसले कसैको एक सुन्दैन ।

५) सातौँ दिनमा सगरमाथाको आरोहणको निम्ति ऊ सबेरै सबैसँग विदा लिन्छ । त्यसपछि आफ्नो पिठ्यूँमा नब्बे पाउन्डको भारी बोकेर ऊ सगरमाथा चढ्न निस्कन्छ । उसको लक्ष्य एउटै हुन्छ– जसरी पनि सगरमाथाको चुलीसम्म पुग्ने र पुनः फर्कने । ऊ नितान्त आशावादी छ । उसलाई आफूप्रति पूर्ण विश्वास छ । उसको मान्यता छ– सङ्घर्ष नै जीवनको परम मार्ग हो । सङ्घर्षभित्र नै रहस्य छुपेको हुन्छ । जो मान्छे सङ्घर्ष गर्छ, उसले आफ्नो जीवनको नयाँ पाटो भेट्टाउँछ । जो मान्छे सङ्घर्षहीन हुन्छ, ऊ दिशाहीन हुन्छ ।

६) ऊ सगरमाथा चढ्न थाल्छ । उसको क्याम्प दुईसम्मको यात्रा सुखद् नै रहन्छ । क्याम्प तीन चढ्ने क्रममा त्यहाँ हिमपहिरो खस्छ जसको फन्दामा ऊ फस्छ तर ऊ निरन्तर सङ्घर्षरत रहन्छ । कसैगरि हार खाँदैन । जसोतसो ऊ हिमपहिरोबाट सुरक्षित रहन्छ । ऊ निरन्तर हिमाल चढिरहन्छ । हिमालका विविध कठिनाईहरू सहन्छ । ठक्करमाथि ठक्कर खान्छ तर ऊ बस् आफ्नो लक्ष्यप्रति अगाडि बढिरहन्छ ।

७) हिमाल चढ्दा उसले आफ्नी प्रयेसीलाई सम्झन्छ जो उसको सम्पूर्णरूपमा प्रेयसी भइसकेकी हुँदिन । ऊ कल्पनाको सागरमा चुर्लुम्म डुब्छ । आफ्नी प्रेयसीलाई अँगालो मार्छ । म्वाइँ खान्छ । अन्ततः आफ्नी प्रेयसीलाई सगरमाथाको चुलीमा पुगेर कोसेली ल्याइदिने आश्वासन दिन्छ । पुनः ऊ यथार्थको दुनियामा आइपुग्छ । उसको साहस भन्नु नैै उसको प्रेम हो । उसको प्रेम भन्नु नै उसकी प्रेयसी हो जो उसको प्रेयसी भइसकेकी छैन । यसरी ऊ हिमाल चढ्दा पनि आफ्नो फुलिरहेको प्रेमलाई सम्झन्छ । ऊ प्रेमी हो । ऊ प्रेम गर्छ । ऊ जीवनलाई प्रेम गर्छ । हिमाललाई प्रेम गर्छ । सङ्घर्षलाई प्रेम गर्छ । ऊ आफ्नी प्रेयसीलाई बहुत प्रेम गर्छ ।

८) ऊ निरन्तर सगरमाथा चढिरहन्छ । आफ्नो सङ्घर्षमय क्रेम्पोन पाइलाहरू अगाडि बढाइरहन्छ । कुनैकुनै ठाउँमा ऊ क्षणभरको निम्ति आराम पनि गर्छ तर धेरैचाहिँ गर्दैन । दिनभरि ऊ अगाडि बढिरहन्छ । चुलीतर्फ अग्रसित रहन्छ । प्रचुर चिसो, हिउँवर्षा आदि इत्यादि भए तापनि ऊ रातमा पनि आराम गर्दैन । एकपटक त्यहाँ त्यहाँ खाल्टो खनेर त्यहीँ निदाउँन खोज्छ ऊ तर उसको लक्ष्यप्राप्तिको चाहनाले उसलाई सुत्न दिदैन । अर्थात् ऊ निदाउँदैन किनकी उसको लक्ष्य चुलीसम्म आफ्नो पाइला टेक्नु हो । रातमा पनि आफ्नो टाउकोमा टर्चलाइट बालेर ऊ सगरमाथा चढिरहन्छ । यसैगरि चढ्दाचढ्दै ऊ हिलेरी स्टेपसम्म पुग्छ जुन बडोे खतरनाक हुन्छ । त्यहाँ पुनः उसले हिमपहिरो सहनुपर्छ । ऊ जसोतसो आफूलाई बचाउँछ । वातारण अलि स्थिर भएपछि ऊ फेरि अगाडि बढ्न थाल्छ । यसर्थ उसको अथाह लगाव र मिहिनेतले गर्दा ऊ सगरमाथाको चुलीसम्म पुग्छ । त्यहाँ उसले पुनः आफ्नी प्रेयसीलाई सम्झन्छ । तर ऊ धेरै खुसी र उत्साहित भने भएको हुँदैन किनकी उसलाई सकुशल फर्कनुपर्ने पनि हुन्छ ।

९) अब ऊ सगरमाथाको चुलीबाट फर्किन थाल्छ । जब ऊ हिलेरी स्टेपबाट अलि तलसम्म झरेको हुन्छ, तब त्यहाँको मौसम बहुत बिग्रन्छ । हिमतुफान चल्न थाल्छ । हिमतुफानले उसलाई पनि उडाइदिन्छ अनि निकै पर लगेर पछारिदिन्छ । तथापि ऊ बाँच्ने प्रयत्न गरिरहेकै हुन्छ । अन्ततः हिमपहिरो पनि खस्न थाल्छ अनि यही हिमपहिरोको चपेटामा परेर उसले आफ्नो जीवन सगरमाथालाई नै समर्पित गर्छ । र ऊ सदाको निम्ति सगरमाथामा नै अलप हुन्छ ।

उसले आफ्नो जीवनको अन्तिम समयसम्म सङ्घर्ष गर्छ । वास्तवमा जीवन भन्नु सङ्घर्ष नै त रहेछ । मानिसले पनि आफ्नो जीवनको हिमालहरू चढ्न सङ्घर्षरत रहनुपर्छ । चुली चुम्न साहसिक रहनुपर्छ ।