जोखिममा २१ हिमताल « Himal Post | Online News Revolution
Logo

जोखिममा २१ हिमताल



काठमाडौं, फागुन १४  । 

सगरमाथा क्षेत्रमा पर्ने इम्जा हिमतालमा निकास खोलेर नेपाली सेनाले ३ दशमलव ४ मिटर सतह घटाएपछि त्योभन्दा तल ५० किलोमिटर क्षेत्रका बासिन्दा सुरक्षित भएका छन् । ३ हजार हिमतालमध्ये २१ वटा फुट्न सक्ने उच्च जोखिममा छन् । हिमाली क्षेत्रमा लामो समयदेखि काम गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिमोडले सन् २०११ मा प्रकाशित गरेको प्रतिवेदनमा २१ हिमताल उच्च जोखिममा रहेको उल्लेख छ ।

प्रतिवेदनअनुसार च्छो रोल्पा, वरुण, इम्जा, लुम्दिङजस्ता हिमताल जोखिमसूचीको माथिल्लो क्रममा छन् । यसमध्ये अहिलेसम्म च्छो रोल्पा र इम्जाको मात्रै सतह घटाउने काम भएको छ । ‘यसको मुख्य कारण बढ्दो ग्लोबल वार्मिङ हो,’ सिँचाइ मन्त्रालयअन्तर्गत जलउत्पन्न प्रकोप व्यवस्थापन विभागमा कार्यरत श्रीकमल द्विवेदीले भने, ‘विश्वको तापक्रम वृद्धिसँगै हिमनदीको हिउँ पग्लिने क्रम तीव्र भयो । यसले नयाँनयाँ हिमताल बन्नुका साथै हिमतालमा पानीको मात्रा बढ्दै गयो र हिमताल फुट्ने खतरा पनि बढ्यो ।’

लामो समयदेखि नेपालका हिमनदी तथा हिमतालबारे अनुसन्धानमा संलग्न द्विवेदीका अनुसार इम्जाजस्तै अधिकांश हिमताल सन् १९५० पछि बनेका हुन् । यस्ता हिमतालको बनोट नै कच्चा र जोखिमयुक्त हुन्छ ।

हिमनदी सबैभन्दा तल्लो भागबाट पग्लन सुरु हुन्छ । हिमनदीको हिउँ पग्लिएको ठाउँमा गहिरो खाल्डो बन्छ । हिमनदीले नै जम्मा गरेका चट्टानका टुक्राले पर्खालको काम गरेपछि त्यहाँ पानी जम्न सुरु हुन्छ ।

हिमनदी माथिमाथि सर्दै जाने र माथिबाट हिउँ पग्लिएर आउने दुवै क्रमले तीव्रता पाएपछि हिमतालले थेग्न सक्नेभन्दा धेरै पानी जम्मा हुन्छ र यसले विस्फोट हुने खतरा बढ्छ ।नेपालमा हिमताल विस्फोटको सबैभन्दा पुरानो घटना करिब ४ सय ५० वर्षअघिको माछापुच्छ्रे हिमताल विस्फोटलाई मान्ने गरिएको छ । यही हिमताल विस्फोट भएर पोखरा उपत्यकाको अहिलेको स्वरूप बनेको मान्यता छ ।

रेकर्डमा भेटिने पहिलो घटना भने १९ साउन २०३४ मा नारे हिमताल विस्फोट हो । आमादाब्लम हिमालमा रहेको यो हिमताल विस्फोट हुँदा तीनजनाले ज्यान गुमाउनुपरेको अनुमान छ । यसले ठूलो भौतिक क्षति पनि गरेको इसिमोडले उल्लेख गरेको छ । यसको तीन वर्षपछि २०३७ असार १० गते तमोर उद्गम स्थलमा रहेको नग्मा पोखरी विस्फोट भयो । यसले ७१ किलोमिटर तलसम्म क्षति पु¥याएको थियो । यी घटनाले पनि सरकारको ध्यान तान्न सकेकै थिएन । हिमताल विस्फोटबारे सरकारको ध्यान गएको सन् २०४२ पछि मात्रै हो ।

२० साउन २०४२ मा सगरमाथाकै फेदमा रहेको डिग च्छो हिमताल विस्फोट भएको थियो । यसले निर्माणाधीन नाम्चे जलविद्युत् परियोजना पुरै बगाइदियो । यहाँ करिब ३० लाख रुपैयाँबराबर क्षति भएको अनुमान छ । यही घटनाले सरकारको ध्यान तान्यो ।

विदेशी संस्था पनि सक्रिय भए । त्यसपछि बल्ल हिमतालको खतराको अध्ययन सुरु भयो । ६ वर्षपछि २९ जेठ २०४८ मा दोलखाको छुबुङ हिमताल विस्फोट भयो । यसले रोल्वालिङ उपत्यकामा ठूलो सन्त्रास उत्पन्न ग¥यो ।सन् २०५० सालमा जल तथा ऊर्जा आयोगले केही जापानी संस्थासँग मिलेर गरेको अध्ययनको प्रतिवेदन आयो । यसले खतरामा रहेका हिमतालबारे जानकारी दियो । प्रतिवेदनमा सातवटा हिमताल उच्च जोखिममा रहेको औंल्याइएको थियो ।

त्यतिबेला हिमताललाई लिएर विभिन्न समयमा विभिन्न किसिमका अध्ययन भए । विदेशी विश्वविद्यालय र अनुसन्धाताहरूसँगको अनुसन्धानमा कुनै न कुनै रूपमा नेपाल सरकारको पनि संलग्नता रह्यो । सरकारले हिमतालको जोखिम कम गर्ने ठोस कार्यक्रम भने ल्याउन सकेन ।

यसैबीच १८ भदौ २०५५ मा तामपोखरी विस्फोट भयो । द्विवेदीसमेत संलग्न रहेको टोलीले उक्त विस्फोटबारे अध्ययन गरेको थियो । यो घटनामा पनि दुईजनाको मृत्यु भयो । आठवटा पुल र ठूलो मात्रामा भौतिक संरचनाको क्षति भयो । नदी किनारका उब्जाउ बेंसीहरू पुरिए ।

३० साउन २०६० मा माछापुच्छे« शृंखलामै पर्ने कबचे हिमतालनजिक ठूलो बाढी आयो । सुरुमा कबचे हिमताल नै विस्फोट भएको अनुमान गरिए पनि नजिकैको सोंबु हिमनदीमा हिमपहिरोले बाढी सिर्जना गरेको देखियो । यसले मादी नदीवरपर ठूलै क्षति निम्त्यायो ।

यसैगरी, २०६९ वैशाखमा सेती नदीमा आएको बाढी पनि अन्नपूर्ण हिमशृंखलामै सिर्जना भएको हो । तर, यो बाढी हिमताल विस्फोटको कारणले नभएर हिमपहिरोका कारणले आएको द्विवेदी बताउँछन् । यस्ता घटनाले नेपालमा हिमताल विस्फोटको जोखिम रहेको बताउँछ ।सन् १९९३ मा सातवटा मात्रै जोखिमपूर्ण हिमताल पहिचान भएकामा सन् २०११ मा आइपुग्दा यो संख्या२१ पुगेको छ । यो संख्या अझ बढ्न सक्छ । त्यसपछि कुनै अध्ययन नहुँदा जोखिममा रहेका हिमतालको अध्ययन आवश्यक छ ।

‘ग्लोबल वार्मिङ जति बढ्दै जान्छ, हिमनदीमाथि सर्ने प्रक्रिया त्यति नै छिटो हुन्छ,’ विभिन्न कालखण्डमा इम्जाको आकार कसरी बढ्दै गयो भन्ने चित्र देखाउँदै द्विवेदीले भने, ‘यसरी हिमतालको जोखिम बढ्दै जान्छ ।’

यो जोखिमको पहिलो भागिदार नजिकै रहेका हिमाली क्षेत्रका बासिन्दा नै हुन् । त्यसपछि उक्त हिमताल नजिकैबाट बग्ने नदीवरपर रहेका तराईसम्मकै बासिन्दाले जोखिम भोग्नुपर्छ । बेंसीका रहरलाग्दा खेत र वारिपारि आवतजावत गर्ने पुल सबै हिमतालको जोखिममा छन् । नदी किनारमा करोडौं लागतमा बनिरहेका जलविद्युत् आयोजनालाई पनि हिमताल विस्फोटले क्षति पु¥याउँछ भन्ने त डिग च्छो विस्फोटले नै देखाएको छ । यसरी बढेको हिमतालको सतह घटाउने र सम्भावित हिमताल बन्ने ठाउँमा निकास दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

नेपाली सेनाले इम्जा हिमतालको सतह घटाएर आर्जन गरेको आत्मविश्वास, अनुभव र उत्साह कायम राख्दै अरू हिमतालमा पनि काम गर्नुपर्ने विज्ञहरूले सुझाउँदै आएका छन् । नेपाली सेनाले यो काम गर्न सक्ने बताइसकेका छन् । इम्जामा बिनाक्षति काम सम्पन्न भएपछि सेना उत्साही भएको र महŒवपूर्ण अनुभव आर्जन भएको जनाएको छ ।

इम्जाको कामको कमान्ड गरेका प्रमुख सेनानी इन्जिनियर भरतलाल श्रेष्ठले नेपाली सेना हिमतालको सतह घटाउने कामका लागि योग्य भएको बताएका छन् ।सेनाको यो अनुभवलाई उपयोग गर्दै सरकारले २१ वटै हिमतालको सतह घटाउने काम थालनी गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । हिमतालको सतह घटाउनु जोेखिमयक्त काम हो ।इम्जाको सतह घटाउन राष्ट्रसंघीय वातावरणका लागि विश्व कोषको करिब ३० लाख अमेरिकी डलर खर्च भएको छ । यसलाई हेरेर हिमताल नबनून् भन्नेमै ध्यान दिनुपर्दछ ।

यो खबर आजको राजधानी दैनिकमा  छ ।