त्रि.वि.को साख बचाउने कसरी ? « Himal Post | Online News Revolution
Logo

त्रि.वि.को साख बचाउने कसरी ?



~अच्युत शाली घिमिरे~

शिक्षा त्यस्तो चिज हो,जस्ले मानिसलाई पूर्ण रूपमा मानिस बन्न सिकाउँछ। सूक्ष्म भावनाहरूद्वारा सचेत गराई सत्यको पथमा लम्किन मानिसमा अनन्त शक्ति पैदा गर्ने काम शिक्षाले गर्छ। शिक्षाले मानवताको आह्वान खँदिलो बनाउँछ, विश्वास उत्पादन गरी गहिरो चेत खुलाउँछ। मानवका हित हुने क्रियाहरूमा सक्रिय रहेर शिक्षाले मानसिक र शारीरिक शक्तिको भरपूर विकास गराउँदछ।उच्च शिक्षाको धरोहरका रूपमा स्थापित जेठो त्रिभुवन विश्वविद्यालयले साँच्चै नै नेपालीलाई शिक्षाको माध्यमबाट परिपक्व बनाउन सकेको छ त? आधुनिक शिक्षाको वृत्ति, संस्कारको श्रेष्ठता र अभिरुचि अनुसारको व्यक्तित्व निर्माणमा त्रि.वि. ले कत्तिको भूमिका खेल्न सकेको छ त ? वा त्रि.वि. आफैँ सिकिस्त बिरामी भएर शय्यामा भुलभुलैयायुक्त समयक्रम व्यतित गरिरहेछ? हिजो त्रि.वि को ६०औँ वार्षिक दिवस, यस्तै प्रश्नहरूको खोजिमा बहस गरौँ।

वास्तवमा विश्वविद्यालयहरू यन्त्र उब्जाउने कारखानाजस्तै छन्। यहाँको शिक्षा प्रणाली, घिच्याएर वाक्क लाग्ने गरि शिक्षकका लेक्चर र ऐँठनयुक्त सिलेबस र पुस्तक सामग्रीमा भर परेको छ। शिक्षा एक कला हो, मानिस हर तरहका अनुभवले पनि सिक्ने गर्छ।जसरी मानिसलाई दुःख पर्दा ऊ दुःख निवारणका अभ्यासहरू गर्न सिक्छ, उसैगरी शिक्षा व्यावहारिक र सत्य चेतमा विकसित हुनु पर्छ। विश्वविद्यालयको शिक्षा खासमा भन्ने हो भने एउटा जञ्जीरमा बाँधेर बौद्धिक हुन आएको वर्गलाई मुर्खता लाद्‌ने  अविवेकी शिक्षा हो। प्रमाणपत्र दिँदैमा व्यावहारिक पाटोबाट विश्वविद्यालयले आफू मुक्त भएको मान्न मिल्दैन। एउटा बीउ हातमा लिएर निस्किएको ग्र्याजुएट विद्यार्थीलाई बीउ रोप्ने जमिन,चाहिने खुला हावा, उज्यालो, पोषणआदिको समेत ज्ञान नदिनुले विश्वविद्यालय अझै बाहिरी दुनियाँको शिक्षाबाट टाढै रहेको कुरा प्रस्ट हुन जान्छ।

त्रि.वि. को परीक्षाप्रणाली, पठनपाठन, अध्ययनअनुसन्धानका अवस्थाहरू समेत नाजुक छन्। उत्कृष्ट हजार विश्वविद्यालयहरूमा त्रि.वि. पर्नुले मात्र समाजमा यसले दिने योगदानको मूल्याङ्कन हुन सक्दैन। र अरू उचित विकल्प नभएरै त्रि.वि. धाउनु परेको बाध्यात्मक परिस्थितिलाई विद्यार्थी पढ्न आएकै छन् भनेर नजरअन्दाज गर्न पनि मिल्दैन।अनेकौँ भयावह वेथितिहरूलाई बोक्दै त्रि.वि.ले अब कहिलेसम्म चाहिँ नेपालको शिक्षा प्रणाली स्थायीरूपमा समाधान गर्न सक्छ ? यो भने प्रतीक्षा कै विषय बनेको छ।

हालसालै अखबारहरू त्रि.वि. का घिनलाग्दा घटनाहरूले रङ्गिए। त्यस्ता घटना पहिला कति भएका थिए र ढाकछोप गरिएका थिए भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ। सेवा आयोगका सदस्यले नातेदारलाई वदनियत ढङ्गले उत्तीर्ण गराएका खबरहरू। परीक्षा नियन्त्रण कार्यालयले लब्धाङ्क प्रत्रमा परीक्षार्थीको प्राप्ताङ्क नै हेरफेर गरेका खबरहरू। विश्वविद्यालयको हाताभित्र नै प्राध्यापकवर्ग द्वारा छात्राहरूमाथि गरिएका यौन दुर्व्यवहारका खबरहरू। यस्ता केही उदाहरण दिनयोग्य घटनाहरूबाट पनि प्रस्ट हुन्छ, त्रि.वि को साख गिर्दैछ।

राजनैतिक भागबन्डाबाट हुने पदाधिकारी नियुक्ति र त्यसकै आडमा विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमा हुने गैरकानुनी हर्कतहरू। यी एकअर्कामा जोडिएर सतहमा आउने कुरा हुन्। नियुक्तिका बेलामा हुने लेनदेन र गोप्य सहमति र त्यसकै आधारमा हुने पार्टीलाई फाइदा पुग्ने निर्णयहरू। विश्वविद्यालय नराम्ररी कुराजनीतिको चङ्गुलमा फसेको छ। खुल्ला प्रतिस्पर्धाबाट भन्दा पनि आसेपासे र नातेदारलाई जागिर खुवाउने लालसामा हुने हिनामिना र नियुक्तिहरू, यी सबै प्राज्ञिक थलोलाई धराशायी बनाउने खेलहरू हुन्। पेसागत हकहितभन्दा पनि पार्टीको झन्डा बोकेर विश्वविद्यालयमा हालीमुहाली गरिरहेका प्राध्यापक सङ्गठन, कर्मचारी युनियन र विद्यार्थी युनियनहरू पनि त्रि.वि.को यो उदेकलाग्दो अव्यवस्थाका साक्षीहरू हुन्। शिक्षाको भोक लिएर विश्वविद्यालय छिरेका सबै वर्गहरू राजनीतिको तानशाही प्रवृत्ति बोकेर समाजमा फर्कन्छन्। उनीहरूले समाजलाई के सिकाउँछन् वा समाजले विश्वविद्यालयलाई हेर्ने दृष्टिकोण अब कस्तो रहन्छ? यी प्रश्नहरू आफैँमा कारुणिक छन्। समाजलाई उत्पादक कसरी बनाउने भन्दा पनि अहङ्कार, हिंसात्मक प्रवृत्तिद्वारा समाजमा चातुर्यको खेल कसरी खेल्ने जस्ता पाठ पढाउँछ विश्वविद्यालय। यी खतरायुक्त अनुभवहरूबाट डराउनेहरूलाई, समाजमा छक्कापञ्जा गर्न नजान्नेहरूलाई प्रमाणपत्र बाकसमा बन्द गरेर कोरिया जाने ज्ञान बाँड्छ विश्वविद्यालय। साँच्चै विद्यार्थीलाई के चाहिएको छ? त्यो उनीहरू स्वयम् विश्वविद्यालयको प्राङ्गणमा गएर बुझ्ने थोरै छन्। तर सङ्कीर्णता र विर्कीर्णता नै शिक्षा हो भनेर बुझ्ने धेरै छन्। रोजगार भनेको अफिसको घुम्ने कुर्चीमा बसेर फाइल पल्टाउनु मात्र होइन; जति नै डिग्री हासिल गरे पनि परेको खण्डमा हिलो माटोमा पनि खेल्न सक्नु पर्छ भन्ने ज्ञान विश्वविद्यालयले दिन सकेको छैन। जसका कारण समेत बेरोजगार रहेको बहानामा विश्वविद्यालयलाई सराप्दै स्वदेशी भावहरूबाट विचलित भएर पश्चिमा देशहरूमा भाडा माझ्न जानेको लर्कै लाग्छ।

शिक्षा सुधारको आधार विश्वविद्यालय हो र यसद्वारा नै राष्ट्रको सुनौलो भविष्य कल्पना गर्न सकिन्छ। विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री हुने प्रावधानमा परिमार्जन हुनु पर्ने जरुरी छ। दलीय राजनीतिबाट मुक्त गरेर पदाधिकारीहरू खुल्ला प्रतिस्पर्धाबाट चयन हुन थाले भने त्रि.वि.ले पुनर्जीविन पाउने निश्चित प्रायः छ। योग्य नेतृत्वको छनोट गरेर त्रि.वि.लाई प्राज्ञिक, आर्थिक एवम् व्यवस्थापकीय दृष्टिकोणले स्वायत्तता दिन सक्नु पर्छ। पार्टी पङ्क्तिको चाकरी गर्न खुलेका प्राध्यापक, कर्मचारी र विद्यार्थीका अनियन्त्रित सङ्गठनलाई नियमन गर्नुपर्छ। सम्बन्धन दिँदा गुणस्तर र पूर्वाधारको ख्याल गरेर मात्र दिनुपर्छ नत्र मेडिकल शिक्षामा जस्तै विद्यार्थीबाट  मनोमानी शुल्क दोहन गर्ने प्रवृत्ति अत्य हुनेछैन। सम्पूर्ण संयन्त्रमा गुणस्तरीय सेवा प्रवाह गर्न सके, प्राध्यापकको वृत्ति विकासमा उचित मूल्याङ्कन गर्न सके, कर्मचारीमा जबाफदेहिता सिर्जना गर्न सके, र विद्यार्थीको आत्मविश्वास जित्न सके त्रि.वि.को गुमेको गौरव फिर्ता ल्याउन सकिन्थ्यो। यो आफैँमा चुनौतीपूर्ण छ तर कुशल व्यवस्थापन द्वारा दीर्घकालीन योजना बनाएर अगाडि बढेको खण्डमा असम्भव भने छैन।

चिकित्सा शास्त्र अध्ययन संस्थान