राज:लघुकथा  « Himal Post | Online News Revolution
Logo

राज:लघुकथा 



निशा केसी

“छाता भए एकछिनलाई दिनु न बहिनी अर्जेन्ट पर्‍यो ।” भिजेको लुगा टक्टक्याउँदै उनले भनिन् । “छैन त दिदी । भए पनि यत्रो पानी छाताले के थाम्थ्यो ?” दर्किएको पानी देखाउँदै पन्छिन खोजेँ । सोचेँ बाटो हिँड्ने जतिलाई छाता बाँडेर के साध्य ? बाटोमा खोलो बग्न थालिसकेको थियो । त्यैबेला उनको मोबाइल बज्यो । “खुरुक्क पुलिस लिएर जाउँ न दाइ किन तिरिहने चार हजार ?” उनले भनिन् । उताको मान्छेले पुलिस लग्नु भन्दा चार हजार तिर्नै ठिक भनेको जस्तो लाग्यो । उनी अलि आपदमै परेको बुझेपछि खाली मुडातर्फ इसारा गर्दै भनेँ, “बस्नु न ।” “धन्यवाद” उनले कृतज्ञता जाहेर गरिन् र कसैलाई कल गरिन् । कल नगएपछि खुइय सुस्केरा हाल्दै भनिन्, “फेरि स्विचअफ् गरेर मोरेछ मोराले ।” “के भएछ दिदी ?” जिज्ञासा थाम्नै नसकेर सोधेँ । “एउटा दाइको आईफोन हराएछ । भेट्टाउनेले मलाई फोन गरेर हैरान पारिसक्यो चार हजार लिएर मोबाइल लिन आउनु भनेर । पुलिसमा खबर गरौँ भनेको दाइ मान्नु नै हुन्न ।” “ओहो यो त पुलिसलाई नै खबर गर्नुपर्ने रहेछ त । बेकारमा किन तिर्ने त्यत्रो रकम ?” मैले थपेँ ।

“हराउनेलाई मतलब छैन मलाई के को टाउको दुखाई ?” उनको मोबाइल फेरि बज्यो । मोबाइल भेट्टाउनेले चाबेलको हेल्पिङ ह्यान्डस अगाडि कुरिरहेको छु भनेपछि उनी पानीको परवाह नगरी हिँड्न लागिन् । जाँदाजाँदै एउटा झोला दिदैं भनिन्, “यो राख्दिनु है फर्किंदा लिएर जान्छु ।” उनी गएपछि मनमा कुरा खेल्यो । छ महिना अगाडि राजले ल्याई दिएको मेरो आइफोन पनि त पसलबाटै हराएको थियो । भेटेको होइन । के भेटिन्थ्यो हराएको मोबाइल ?

पानी पर्न रोक्कियो । बाटोमा मान्छेहरू हिँड्न थाले । “बहिनी झोला दिनु त उनले बाटैबाट झोला मागिन् ।” “मोबाइल दियो त दिदी ?” झोला दिँदै सोधेँ । “दियो नि । टयापे मोराहरु रैछन । सिक्री लुछ्ला भन्ने कत्रो डर ।” “खै हेरुँ त ।” उनले मोबाइल देखाइन् । ”ठ्याक्क मेरै मोबाइल जस्तो ।” पछाडि हेरेँ । सेप्टी पिनले हल्का कोरेर लेखेको ‘राज’ अझै मेटिएको रहेनछ । खुसीले धड्किरहेको मुटु थामेर भनेँ, “यो त मेरो मोबाइल हो । मसँग थुप्रै प्रमाणहरु छन् ।” उनले तुरुन्तै ह्यान्डस फ्रि राखेर दाइलाई फोन गरेर बेलिबिस्तार लगाइन् । ”अब त पुलिस केश नै गर्नुपर्ला जस्तो छ नि दाइ ।” उता दाइले हड्बडाउँदै भने, ”पर्दैन, पर्दैन मोबाइल उनैलाई दिएर आउनू ।”