‘नक्कली डाक्टर’लाई बिरामी जाँच्न नदिन प्रधानमन्त्रीको निर्देशन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

‘नक्कली डाक्टर’लाई बिरामी जाँच्न नदिन प्रधानमन्त्रीको निर्देशन



३० साउन, काठमाडौं । नक्कली डाक्टरको आरोपमा छानविनको दायरामा रहेका चिकित्सकहरुलाई काममा जानबाट रोक्न प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्र उप्रेतीलाई टेलिफोन गरी छानविनको घेरामा रहेका चिकित्सकहरुलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्न निर्देशन दिएका हुन् ।

नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरहरुले बिरामी जाँच गरिरहेको भन्दै उनीहरुलाई तत्काल बिरामी जाँच्नबाट रोक्न प्रचण्डले निर्देशन दिएको प्रचण्डको सचिवालयले सदस्य प्रकाश दाहालले जानकारी दिए ।

‘नक्कली भनिएका डाक्टरहरु हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न थालेको जानकारीमा आएको छ । तपाईंले तत्काल ती डाक्टरहरुलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्नुहोस्,’ प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य सचिव उप्रेतीलाई दिएको निर्देशनबारे जानकारी दिँदै दाहालले भने ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘अप्रेसन क्वाक’ अन्तर्गत गत असारमा पक्राउ गरेका ३७ चिकित्सकलाई मेडिकल काउन्सिलले निलम्बन नगर्दा उनीहरूमध्ये केही नियमित अस्पताल गएर बिरामी जाँच्न थालेका छन् । नेपाल मेडिकल काउन्सिलले हालसम्म उनीहरूको लाइसेन्स निलम्बन नगरेका कारण अदालती कारबाही जारी रहे पनि उनीहरूले बिरामी जाँच्न थालेका हुन् ।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आरोप उनीहरूमाथि लागेको छ ।

उनीहरूलाई निलम्बनका लागि मेडिकल काउन्सिलको पूर्ण बैठकबाट निर्णय लिनुपर्ने हुन्छ । तर, स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार तत्कालीन स्वास्थ्यमन्त्री रामजनम चौधरीले काउन्सिललाई पूर्ण बैठक नबस्न निर्देशन दिएका थिए ।

source:onlinekhabar