नविना र ऐन नमिलेपछि अखिलमा रविन्द्र अधिकारीको हस्तक्षेप - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नविना र ऐन नमिलेपछि अखिलमा रविन्द्र अधिकारीको हस्तक्षेप



२ भदौ,काठमाडौं । एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको कार्य बिभाजन सम्बन्धी बिबाद अध्यक्ष नविना लामा र महासचिव ऐन महरले टुंग्याउन नसकेपछि पार्टीले हस्तक्षेप गरेको छ ।

एक महिना भन्दा लामो समयदेखि कार्य बिभाजनका कारण बिभाजित बनेको अखिलको विवाद मिलाउने जिम्मा अब विद्यार्थी फाँट इन्चार्ज रविन्द्र अधिकरीले लिएका छन् ।

अखिलका पूर्व अध्यक्ष समेत रहेका युवा नेता अधिकारीले पार्टीका शीर्ष नेताहरुसँग सल्लाह गरेर विवाद टुंगो लगाउने स्रोतले जनाएको छ । विवादका कारण महासचिव महर पक्षले केन्द्रीय कमिटीको विशेष भेला आयोजना गरेपछि अखिल स्थायी कमिटी बैठक बसेको थियो ।

बैठकमा अध्यक्ष र महासचिवबीचमै विवाद भएपछि इन्चार्ज अधिकारीले हतस्क्षेप गरेको स्रोतले जनाएको छ । नविना र ऐन महरबीच स्थायी कमिटीको बैठक कतिऔं भन्नेमै विवाद भएको थियो ।

आफ्नो पक्षको अनुपस्थितिमा नविनाले एकलौटी कार्यबिभाजन गरेको भन्दै महरले अघिल्लो बैठकलाई मानेका छैनन् । त्यसैले उनले यसपटकको बैठकलाई १३ औं भनेका छन् भने नविना पक्षले १४ औं भनेको छ ।

तेह्रौं र चौधौं भन्नेमै विवाद भएपछि इन्चार्ज अधिकारीले हस्तक्षेप गरेका थिए । उनले ‘यो विवाद तपाईहरुले मिलाउन सक्नु भएन अब पार्टीले मिलाउछ भन्दै बैठक अन्त गराएको अखिल सचिव आरती लामाले बताइन् ।

महाधिवेशनमा नविना र ऐन एउटै प्यानलबाट जिते पनि अहिलेको विवादमा माधव नेपाल पक्षले नविनालाई साथ दिएको छ । नेपाल पक्षबाट अखिल स्थायी कमिटीमा सचिवहरु सुदेश पराजुली,आरती लामा र ओसिम आलममात्र छन् । महासचिव महरले पनि अखिलको विवाद पार्टीले मिलाउने गरि इन्चार्जले जिम्मा लिएको स्वीकार गरे ।

उनले भने-अध्यक्षले मिलाउनेतर्फ पहल गर्नु भएन । उहाँ आफैं विवादको पक्ष बनेर खडा भएपछि पार्टीले मिलाउने भन्यो । त्यसपछि हामीले भदौ ४ गते निर्धारित विशेष भेला स्थगित गर्‍यौं ।

यसअघि विद्यार्थी इन्चार्ज अधिकारीले अध्यक्ष नविना र महासचिव ऐनलाई कार्य बिभाजनको विवाद आफैं मिलाउन निर्देशन दिएका थिए । नविनाले आफूले गरेको कार्य बिभाजन सच्याउन मानेकी छैनन् भने महरले त्यो कार्य बिभाजननै अश्वीकार गरेका छन् ।

अब अखिलको आन्तरिक विवाद विद्यार्थी इन्चार्जले पार्टीका सम्बन्धित ठाउँमा सल्लाह गरेर अर्को बैठकमा मिलाउने गरि प्रस्तुत गर्ने सहमति भएको सचिव समिक बडालले बताए ।

source:onlinekhabar