नेदरल्याण्ड्सलाई जितेर लिगमा सुरक्षित हुन चाहन्छौं - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेदरल्याण्ड्सलाई जितेर लिगमा सुरक्षित हुन चाहन्छौं



विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेदरल्याण्ड्ससँग खेल्न नेपाल भोलि शनिबार त्यसतर्फ जाँदैछ । र, साउनको अन्तिममा दुई खेल उसकै घरेलु मैदानमा खेल्दैछ ।

नेदरल्याण्ड जानु अघि नेपालले क्रिकेटको मक्का भनेर चिनिने लर्डसमा एमसीसीसँग खेलेर आएको छ र आत्मविश्वास बलियो बनाएको छ । एमसीसी टुरपछि नेदरल्याण्डसँग खेल्ने नेपाली टोलीमा सुनिल धमला नयाँ अनुहारका रुपमा आएका छन् ।

नेदरल्याण्ड भ्रमणका सन्दर्भमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कासँग गरिएको कुराकानीः

एमसीसी टुर कस्तो रहृयो ?

टिमले राम्रो खेल्यो, सवैले राम्रो खेले । लर्डसमा पनि सवैले राम्रै खेल्यौं । नेदरल्याण्डसको टुरमा कसरी एडजष्ट हुने भन्नेमा सहयोग पुग्यो ।
नेदरल्याण्ड हामी दुई/चार दिन अगाडि गइरहका छौं । हामीले त्यही अनुसारको तयारी गरेका छौं । मुख्य लक्ष्य भनेको त्यहाँको अवस्थामा कसरी खेल्ने भन्ने हो ।

युके टुर नेपालको अवस्था भन्दा फरक छ ? नयाँ प्लेयरहरुले कस्तो खेले ?

त्यो एउटा अन्तर्राष्ट्रिय क्रिकेटको अवसर हो । अन्तर्राष्ट्रिय कि्रकेटमा कम्प्लेन गर्ने पाटो पनि छैन । आगमी दिनमा सफल राष्ट्र बन्ने हो भने सबै चुनौतिहरुलाई लिएर अगाडि बढ्नुपर्छ । हाम्रो लागि यो चुनौति भन्दा अवसरको रुपमा लिन जरुरी छ ।

व्याटिङमा एमसीसीमा बलर्समा डिपेन्ड भएको जस्तो देखियो । त्यस्तै हो ?

सोमपाल व्याटिङ गर्नु भन्दा पहिला नेपालले १७० बनाइसकेको थियो । यद्यपी खेलिसकेपछि सवैको जिम्मेवारी हुन्छ । बलरले हान्न हुन्न, व्याट्सम्यानले मात्र हान्नुपर्छ भन्ने होइन । ११ जना खेल्छन्, सबैले भूमिका निर्वाह गर्नुपर्छ ।

व्यक्तिगत रुपमा तपाईँ आफू आउट हुँदा कस्तो अनुभव भयो ?

३० रन हानिसकेको थिएँ । आफ्नै गल्तीले दुर्भाग्यवस आउट भएँ । लर्डसमा त्यो अवसर हत्तपत्त पाइँदैन । त्यसैले दुःख लाग्यो ।

अहिले नेदरल्याण्डसँग खेल्नका लागि ओपनिङमा सुनिल धमला ल्याइएको रहेछ । सुवासलाई छाडेर उसलाई ल्याइएको छ, उसबाट टिमको अपेक्षा कस्तो छ ?

भर्खर छानिएको छ । हामीसँग ओपनरको रुपमा अनिल मण्डल पनि छ । धमला अहिले ग्रुमिङ फेजमा छ । आशा छ उसले राम्रो गर्छ । त्यो वातावरणमा उसले खेल्न पनि सक्छ । हरेक खेलाडीमा यस्तो चुनौति आइरहन्छ । खेलाडीले यस्ता अवसरहरुको सदुपयोग गर्न सक्नुपर्छ । आफूले आफूलाई टेस्ट गर्ने अवसर पनि हो ।

फ्यानहरुले चाँही सोमपाललाई व्याटिङमा लाने हो कि भन्ने चाहना व्यक्त गरेका छन् नि ?

फ्यानहरुको आफ्नै धारणा हुन्छ । नेपाल क्रिकेटको भित्रको स्ट्रक्चर भिन्न खालको छ । सोमपाल मात्र नभई, क्रिकेट सोमपाल, पारस, ज्ञानेन्द्र भन्दा ठूलो हो । अहिले सोमपालको मुख्य फोकस भनेको बलिङ मात्र हो । उसले व्याटिङमा योगदान गर्न सक्छ । व्याटिङमा आएका अवसरहरुको उसले सदुपयोग गर्न सकेको खण्डमा फाइदा हुनेछ ।

बलिङमा रेगुलर बलरको भन्दा पनि सागरले ब्रेक थ्रू दिएपछि विकेट र्झन थालेको थियो …..

जति पनि खेलाडी थिए, उनीहरु मध्ये २/३ जना मध्ये अधिकांशले पहिलो पटक खेलिरहेका थियौं । त्यो दिन सागरले राम्रो खेल्यो, कुनै दिन अरुले राम्रो खेल्न सक्छ ।

भिन्न परिस्थितिमा फरक-फरक खेलाडी जम्न सक्छन् । स्पिनरहरु भनेको हाम्रो सबैभन्दा महत्वपूर्ण पार्ट हो । त्यो पीचमा स्पिनरहरु चल्ने भएकाले हामीले एक जनामात्र फस्ट बलर लिएर खेलेका थियौं । त्यसले गर्दा त्यो अवस्था हेरेर गर्ने निर्णय हो ।

हामी चेजिङ टिम हौं, यसपटक चाँही टस जितुर पनि व्याटिङ गर्‍यौं नि के हामीले प्रयोग गरेका हौं ?

चेज वाइज हामी राम्रो छौं । अन्तिम पाँच वर्षको अवस्था हेर्ने हो भने हामीले खेलेका टी-२० का खेलहरुमा चेज गरेर जितेका छौं । ५० ओभरको खेल हेर्ने हो भने पहिला व्याटिङ गर्दा समस्या आएको छ । तर, टिममा सुधार ल्याउन पहिलो व्याटिङ गर्नु पनि महत्वपूर्ण विषय हो ।

नेदरल्याण्ड्स अहिले अफगनस्तिान खेलिरहेको छ । र, पहिलो खेलमा इनिङको हार व्यहोरेको छ । यो म्याचमा चाँही उनीहरुको व्याटिङ भर्सेज हाम्रो वलिङ हो ?

पछिल्लो समय खेलिएको एकदिवशीय खेलमा नेदरल्याण्ड्सलाई हामीले २ विकेटले हराएका थियौं । हिजो उनीहरुले के गरेका थिए, हामीले के गरेका थियौं त्यो भन्न मिल्दैन । हरेक टिम सबै बलिया छन् । दुवै टिममा कडा टक्कर हुन्छ । एउटा पक्षमात्र राम्रो गरेर जित्न सकिन्न । समग्रममा व्याटिङ र बलिङ दुवैमा राम्रो गर्न सकिन्छ ।

नेदरल्याण्ड्ससँग हामीले दुईवटा म्याच खेल्दैछौं । त्यसमध्ये एउटा मात्र जित्यौं भने पनि हामी अर्को चरणमा जाने सम्भावना छ । हाम्रो पोजिशन लिगमा कस्तो छ ?

हरेक खेल महत्वपूर्ण छ । तर, यो हाम्रो डु अर डाइ सिचुएसन हो भन्न मिल्दैन । ४ वटा राउण्ड छ । र, ८ खेल बाँकी छन् । हामीलाई ४/५ वटा खेल जित्न आवश्यक छ । त्यसका लागि पहिले जित निकालेर सुरक्षित बस्न जरुरी छ । अवसर छ हाम्रो लागि हामीले अहिले पछिल्लो दुई खेलमा केन्दि्रत हुन जरुरी छ ।

फ्यानहरुलाई केही भन्न चाहनुहुन्छ ?

सबै खेलाडीले जिउज्यान दिएर खेलिरहेका छन् । तपाईहरुले समर्थन गरिदिनुहोस्, जुन गरिरहनुभएको पनि छ । हामी सक्दो प्रयास गछौं, जबसम्म नेपालका लागि खेल्छौं ।

 

source:onlinekhabar