प्रचण्ड दिल्ली जाँदा भारतले गर्न खोजेको काम के हुन् ? ल हेर्नुस ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

प्रचण्ड दिल्ली जाँदा भारतले गर्न खोजेको काम के हुन् ? ल हेर्नुस !



काठमाण्डु, २९ भदौ– भारतले सन् १९९६ मा भएको महाकाली सन्धियताका सबै परियोजना कार्यान्वयन गर्ने प्रस्ताव पठाएको छ ।

 

भदौ पहिलो साता उपप्रधानमन्त्री विमलेन्द्र निधि र सोमबार परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतमार्फत भारतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यो सन्देश पठाएको छ । प्रचण्डको भ्रमणका दौरान महाकाली सन्धियता दुवै मुलुकबीच भएका सबै विकास निर्माण आयोजना कार्यान्वयनमा औपचारिक रूपमै अग्रसरता देखाउने तयारी भारतको छ । नेपाली प्रधानमन्त्री बिहीबार भारतको राजकीय भ्रमणमा आउँदै छन् ।

‘महाकाली सन्धिमा हस्ताक्षर भएयता कार्यान्वयन हुन बाँकी रहेका सबै सन्धि–सम्झौता समयबद्ध कार्यान्वयनका लागि नेपालसँग यसपटक प्रतिबद्धता जनाउनेछौँ, प्रधानमन्त्री प्रचण्डको भ्रमणलगत्तै परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा यस विषयमा विस्तृत काम हुनेछ,’ भारतीय विदेश मन्त्रालयसम्बद्ध स्रोतले भन्यो । भारतीय अधिकारीहरूको प्रस्तुतिबाट भारतको मुड बदलिएको विश्लेषण गर्न थालिएको छ । मन्त्री महतले भेटवार्ताहरूपछि भने, ‘राजनीतिक विषयमा यो गर्नुस्, त्यो गर्नुस् भन्ने कुरा छैन, विकासका एजेन्डा कार्यान्वयन गर्न उहाँहरू गम्भीर भएको मैले पाएँ ।’

प्रधानमन्त्री नरेन्द मोदीका निकट भाजपा महासचिव राम माधवले सोमबार साँझ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई रात्रिभोज दिएका थिए । उनीअघि प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि मन्त्री महतसँग भेटेका थिए । भारतीय मन्त्रीहरू तथा दुवै भेटहरूमा भारतको मुड बदलिएको स्पष्ट संकेत मिलेको नेपाली अधिकारीले बताए ।

परराष्ट्रमन्त्री महतसँग सोमबार भएका बेग्लाबेग्लै भेटवार्तामा विदेशमन्त्री सुष्मा स्वराज, विद्युत्मन्त्री पियुष गोयल र जलस्रोतमन्त्री उमा भारतीले नेपालको हितमा हुने कुनै पनि परियोजनामा भारतले सहयोग गर्ने भन्दै प्रस्ताव ल्याउन आग्रह गरेका थिए । जलस्रोतमन्त्री भारतीले सीमावर्ती क्षेत्रमा भएका बाँधका विषयमा नेपालको चासो सम्बोधन गर्दै दुईपक्षीय टिम तत्काल गठन गर्न प्रस्ताव गरेकी थिइन् । स्रोतका अनुसार उनको भनाइ थियो, ‘नेपाललाई कहाँ–कहाँ अब्जेक्सन छ, प्रस्ताव राख्नोस्, छलफल गर्न तयार छौँ ।’

विद्युतमन्त्री गोयलले पनि दुईदेशीय प्रसारण लाइन निर्माण तथा स्तरोन्नतिका लागि लिखित प्रस्ताव ल्याउन आग्रह गरेका थिए । स्रोतका अनुसार मन्त्री महतलाई गोयलको भनाइ थियो, ‘पाँच सात सय करोडसम्मको प्रस्तावका बारेमा तत्काल निर्णय गर्न सकिन्छ, नेपालको भनाइ लिएर आउनुहोला ।’

बृहत्तर सम्बन्ध स् भारतको प्राथमिकता बृहत सहमतिका आधारमा असन्तुष्ट पक्षहरूका राजनीतिक मागहरूलाई एउटा समयबद्ध ढाँचाका आधारमा सम्बोधन हुने सन्देश नेपालले भारतलाई दिएको छ । भारतले नेपालको यो प्रयासलाई समर्थन गरेको छ ।

नेपालसँग औपचारिक र अनौपचारिक छलफलपछि भारतले अहिले नेपालको संविधानका बिषयमा अल्झिन रुची देखाएको छैन । ‘अहिले भारतको जोड आर्थिक विकास र परियोजनाका बिषयमा केन्द्रित छ, नेपालको राजनीतिक समस्या समाधानको प्रयासमा भारतको समर्थन र सहयोग छ, एउटा समयमा यसको छिनोफानो हुन्छ भन्ने विश्वासमा भारत छ,’ विदेश मन्त्रालय स्रोतले भन्यो, ‘मधेशको इस्यु भारतका लागि सुरक्षा चासोको बिषय हो, तर ८० प्रतिशत निर्वाचित प्रतिनिधिको निर्णयलाई भारतले उपेक्षा गर्न सक्दैन, चाहेको पनि छैन, यही सन्देश प्रधानमन्त्रीकहाँ पु(याइएको छ ।’

नेपाल भारत सम्बन्धबारे जानकार तथा सुरक्षा मामिला विज्ञ डा निहार नायकको विश्लेषणमा यसपटक प्रधानमन्त्री प्रचण्डको भ्रमणमा नेपाल र भारतबीच विश्वासको तह माथि उठ्ने छ र सानातिना राजनीतिक बिषयमा बृहत्तर सम्बन्ध अल्झिनु हुँदैन भन्नेमा दुवै देशको शीर्ष नेतृत्व सहमत हुनेछन् । ‘सम्बन्धित अधिकारीहरूसँग कुरा भए अनुसार प्रधानमन्त्रीको भ्रमण लगत्तै दुईपक्षीय संयन्त्रहरूले काम गर्नेछन् र पुराना सन्धी सम्झौताहरूको कार्यान्वयनले गति पाउनेछ’ नायकले नयाँ पत्रिकासँग भने ।

समाजबादी चिन्तक सुधीन्द्र भदोरियाले नेपाल र भारतबीच असमझदारी बढाउन खोजिएको तर अहिले त्यो अवस्था नरहेको भन्दै प्रधानमन्त्री प्रचण्डको भ्रमणपछि सम्बन्ध थप मजबुत हुने बताए । उनले मधेशी मोर्चालाई वर्तमान सत्ता गठबन्धनले समेटेर लैजाने र अरु दलहरूसँग पनि सहमतिका आधारमा अघि बढ्ने विश्वास व्यक्त गरे । ‘प्रचण्डको छिमेक नीति स्वागतयोग्य छ, उहाँले दुवैलाई समेटेर सन्तुलितरुपमा अघि बढ्न खोज्नुभएको छ’ भदोरियाले भने ।
नयाँ पत्रिकाबाट