प्रचण्ड नेतृत्वको सरकारमा विजयकुमार गच्छदारले स्थान नपाउने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रचण्ड नेतृत्वको सरकारमा विजयकुमार गच्छदारले स्थान नपाउने



[su_quote]नेताहरुका अनुसार प्रचण्ड सरकारमा दुई जना मात्र उपप्रधानमन्त्री रहनेछन् । जसमा कांग्रेसबाट उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र माओवादीबाट उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा भइसकेका छन् ।[/su_quote]२७ साउन, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा विजयकुमार गच्छदारले स्थान नपाउने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड गच्छदारलाई मन्त्री बनाउन सकारात्मक थिए । तर, मधेसी मोर्चाको चेतावनी र कांग्रेसले पनि इच्छा नदेखाएपछि गच्छदार स्वयंमलाई सरकारमा लैजाने सम्भावना सकिएको छ ।

नेताहरुका अनुसार प्रचण्ड सरकारमा दुई जना मात्र उपप्रधानमन्त्री रहनेछन् । जसमा कांग्रेसबाट उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र माओवादीबाट उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा भइसकेका छन् ।

तर, गच्छदारलाई नलिएपनि उनको पार्टी फोरम लोकतान्त्रिकलाई भने सरकारमा लैजाने सम्भावना कायमै छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार अहिले पनि गच्छदारको पार्टी फोरम लोकतान्त्रिकका लागि दुई मन्त्रालय छुट्याइएको छ । एक नेताले भने, सरकारमा गच्छदार स्वयंमलाई ल्याउने सम्भावना अन्त्य भइसक्यो । तर, उहाँको पार्टीलाई भने ल्याउन सकिन्छ । दुई मन्त्रालय छुट्याएर राखेका छौं ।’

केपी ओली नेतृत्वको अघिल्लो सरकारमा गच्छदार उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री थिए । तर, सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल सुरु भएपछि फोरम लोकतान्त्रिकले समर्थन फिर्ता लियो र प्रधानमन्त्रीको चुनावमा माओवादी अध्यक्ष प्रचण्डलाई मत दिएको थियो ।

नेताहरुका अनुसार यो पटक पनि गच्छदार स्वयंम सरकारमा जान चाहेका थिए । र, उनले निकै पहल गरेका पनि हुन् ।
तर, तीनबुँदे सहमति गर्दै प्रचण्डलाई समर्थन गरेको मधेसी मोर्चाले उनलाई मन्त्री बनाउन नहुने शर्त नै बनायो । र, गच्छदारलाई मन्त्री बनाए आफूले समर्थन नगर्ने बताएपछि प्रचण्ड केही हच्किएका थिए ।

फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीले आफूहरुले प्रचण्डलाई भोट हालेको भदन्दै सहयोगीकै भूमिकामा रहने बताए ।

तर, सकारमा सहभागिताबारे कुनै प्रस्ताव नआएको उनले बताए । प्रधनमन्त्रीमा प्रचण्डको समर्थक समेत बसेका चौधरीले भने, अहिलेसम्म आधिकारिक प्रस्ताव आएको छैन । कुनै प्रस्ताव आयो भने पार्टीमा छलफल हुन्छ ।’

साना दलबाट थप दुई मन्त्री

सत्तारुढ कांग्रेसले १३ र माओवादीले ८ मन्त्रालय लिने समझदारी भएको छ । राप्रपालाई दुई मन्त्रालय दिइएको छ भने नेकपा संयुक्तले एक पाएको छ ।

सत्तारुढ दलका नेताहरुका अनुसार फोरम लोकतान्त्रिकका लागि दुई मन्त्रालय छुट्याइएको छ । र, साना दलबाट अरु दुई मन्त्री हुने सम्भावना छ । माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले प्रधानमन्त्री बन्नु अघि नै समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहलाई मन्त्री बनाउने आश्वासन दिएको बताइएको छ ।