मेस्सीले सन्यास घोषणा फिर्ता लिए - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मेस्सीले सन्यास घोषणा फिर्ता लिए



२९ साउन, काठमाडौं ।  स्टार फुटबलर लिओनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टिममा र्फकने घोषणा गरेका छन् ।

२९ वर्षे मेस्सीले झण्डै दुई महिना अघि सन्यासको घोषणा गरेका थिए । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा हार्ने क्रममा आफैंले पेनाल्टी मिस गरेपछि मेस्सीले अप्रत्यासित रुपमा सन्यास घोषणा गरेका थिए ।

तर, अर्जेन्टिनी राष्ट्रपतिदेखि सबैले उनलाई सन्यास फिर्ता लिन दबाव दिए । हालै मात्र अर्जेन्टिनाको प्रशिक्षक बनेका इडगार्डो बौजाले बार्सिलोना पुगेर मेस्सीसँग छलफल गरेका थिए ।

लगतै मेस्सीले सन्यास फिर्ता लिएका र उनको नाम विश्वकप छनौट टोलीमा समावेश गरिएको छ । अर्जेन्टिनाले आगामी सेप्टेम्बरमा उरुग्वे र भेनेजुएलाविरुद्ध विश्वकप छनौट खेल्दैछ ।

अर्जेन्टिनी मिडियाहरुका अनुसार मेस्सीले देशको मायाले सन्यासको निर्णय फिर्ता लिएको बताएका छन् । उनले भनेका छन्, फाइनलको रात मेरो मनमा धेरै कुरा खेल्यो र सन्यासबारे गम्भीर रुपमा सोचेँ । तर, मेरो देश र मेरो जर्सीप्रति प्रेम छ ।’

मेस्सी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता हुन् । उनले १३३ खेलमा ५५ गोल गरेका छन् । उनले भनेका छन्, अर्जेन्टिनाको फुटबलमा धेरै राम्रो गर्नु छ । तर, यो म भित्रै रहेर गर्न चाहन्छु न कि बाहिर बसेर आलोचना गरौं ।’

२००८ को बेइजिङ ओलम्पिकमा अर्जेन्टिनालाई स्वर्ण दिलाएका मेस्सीले देशका लागि अरु ठूला उपाधि दिलाउन सकेका छैनन् । पछिल्लो केही वर्षमा उनले दुई पटक कोपा अमेरिका र एक पटक विश्वकपको फाइनलमा हार व्यहोरे ।