वैदेशिक रोजगारको पीडालाई समेटिएको मीनराजको उपन्यास 'मुदिर' सार्वजनिक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

वैदेशिक रोजगारको पीडालाई समेटिएको मीनराजको उपन्यास ‘मुदिर’ सार्वजनिक



वैदेशिक रोजगारको पीडालाई समेटिएको मीनराज बसन्तको उपन्यास ‘मुदिर’ आज राजधानीको सर्वनाम थिएटरमा सार्वजनिक गरिएको छ।

आख्यानकार नयनराज पाण्डे, भोगीराज चमलिङ, नीलम कार्की निहारिका र संगीतश्रोताले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरे।

समकालीन लेखकको दर्जामा मीनराजलाई भित्र्याउन पाएकोमा खुसी व्यक्त गर्दै आख्यानकार पाण्डेले आफैं वैदेशिक रोजगारमा गएर लेखिएको उपन्यासमा दु:ख, संघर्ष र पीडा यथार्थ रुपमा आएको बताए। सञ्चारमाध्यामको बलियो प्रचारसँगै साता दिनभित्र लेखक परिपक्क हुने वा नहुने कुरा निर्धारण भइसक्ने भन्दै उनले छोटो धैर्य गर्न लेखकलाई अनुरोध पनि गरे।

यस्तै, संगीतश्रोताले पुँजीवादी समाजले श्रमिक समाजलाई दमित बनाएको विश्वको विकराल अवस्थासँगै अरबमा गएर नेपालीले बिताएको उर्वर समयको चित्र उपन्यासका देखिने चर्चा गरे। ‘२०६२ सालको संकटकालीन अवस्थामा भएको सामाजिक, राजनीतिक, आर्थिक अवस्थाबारे अलि लेखिएन कि,’ उनले भने, ‘पढ्दै जाँदा त्यो बेला नेपालमा रहेका नागरिकले सामना गर्नुपरेको समस्या कताकति लुकाइएको हो कि जस्तो लाग्छ।’

निहारिकाले कहालीलाग्दो यथार्थतालाई समेटेको उपन्यास वर्तमान वैदेशिक रोजगार र त्यहाँको दु:खको ऐनाका रुपमा आएको बताइन्।

अर्का वक्ता चाम्लिङले भाषिक सरलता उपन्यासको सबल पक्ष रहेको भन्दै पूर्वी ओखलढुङ्गाको आञ्चलिकतालाई पनि प्रयोगमा रुपमा समेटेको बताए। ‘उपन्यासले दुई वर्षपछि दस्तावेजको रुपमा रहन सक्ने सामर्थ्य राख्छ,’ उनले भने, ‘सस्तो श्रम गर्नु पर्ने र त्यसबाट आएको नाफाचाहिँ मुदिर (मालिक)लाई बुझाउनुपर्ने नेपाली श्रमिकको बाध्यात्मक अवस्था नै उपन्यासको मुल निचोड हो।’

शिखा बुक्सले प्रकाशनमा ल्याएको उपन्यासको मूल्य ३२५ रुपैयाँ राखिएको छ