संघीय गठवन्धनले कांग्रेसलाई भन्यो-एमालेलाई पर्खनु पर्दैन, संशोधन दर्ता गर्नुस् - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

संघीय गठवन्धनले कांग्रेसलाई भन्यो-एमालेलाई पर्खनु पर्दैन, संशोधन दर्ता गर्नुस्



१ मंसिर, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठवन्धनले प्रमुख विपक्षी एमालेसँग सहमति गर्ने नाममा संविधान संशोधन विधेयक नरोक्न नेपाली कांग्रेसलाई आग्रह गरेको छ ।

गठवन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले बुधबार प्रमुख सत्तारुढ घटक कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुलाईर् भेटेका थिए ।

सिंहदरवारमा भएको भेटमा गठवन्धनका नेताहरुले तीनबुँदे सहमति अनुसार संविधान संशोधन विधेयक दर्ता नभएको भन्दै असन्तुष्टि जनाएका छन् । मधेसी मोर्चाका अधिकांश नेताहरुले एमालेसँग सहमति खोज्ने नाममा आलटाल भएको भन्दै आक्रोस पोखे । ‘हिजो आफ्नो सरकार हुँदा नगरेको एमालेसँग सहमति गर्न कुनै जरुरी छैन’ बैठकमा तमसपाका अध्यक्ष महिन्द्र यादवले भने, ‘संशोधन विधेयक दर्ता गरेपछि सहमति खोजौंला ।’

एमाले मधेस विरोधी पार्टी भएको भन्दै उनले काठमाडौंमा संविधान संशोधन हुन्न भन्ने उसले जनकपुरमा गएर संशोधनको पक्षमा छौं भनेको र डबल स्ट्याण्डर्ड देखाएको आरोप लगाए । मोर्चाका अन्य नेताहरुले पनि एमालेको बाहाना बनाएर संशोधन दर्ता टार्ने काम भएको बताएका छन् ।

यादवले त एमाले विना नै दुई तिहाई पुग्ने र संशोधन पास हुने दाबी गरेको एक नेताले बताए । बैठकमा थारुहटका नेता भानुराम थारुले कतै कांग्रसले पनि फेरि झुक्याउन खोजेको त होइन भन्ने आशंका राखेका छन् ।

गठवन्धनका नेताहरुले संविधान संशोधन नहुँदासम्म स्थानीय चुनाव हुन नसक्ने पनि बताए । स्थानीय निकाय पुनर्संरचनाका नाममा सरकार र प्रमुख दलहरुले द्वन्द्व बढाउने काम मात्र गरेको भन्दै यसलाई रोक्न माग गरेका छन् ।

जवाफमा कांग्रेस सभापति देउवाले संविधान संशोधन नभएसम्म कार्यान्वयनमा जान सक्दैन भन्नेमा आफू र आफ्नो सिंगो पार्टी प्रष्ट रहेको बताएका छन् । त्यसैले नै माओवादी र मधेसी मोर्चासँग सहमति गरेको भन्दै उनले अब छिट्टै संविधान संशोधन विधेयक दर्ता हुने आश्वासन दिए ।

लगतै मोर्चा र गठवन्धनका नेताहरुले प्रधानमन्त्री प्रचण्डले धेरै भाका राखेको भन्दै त्यस्तै हुने त होइन भनेर प्रश्न गरेका थिए । कांग्रेस सभापति देउवाले भने अब घनिभूत छलफल गरेर गठवन्धनले दिएको १५ दिने समय सीमाभित्रै संविधान संशोधन विधेयक संसदमा दर्ता गर्ने बताएका छन् ।