सुजाताको गैरकानूनी सम्पत्ति कती ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सुजाताको गैरकानूनी सम्पत्ति कती ?



काठमाडौं । सरकारबाट औषधोपचारका लागि ५० लाख रुपैयाँको आर्थिक सहायता लिएकी कांग्रेस नेतृ सुजाता कोइरालाको जग्गाजमीन सरकारले तोकेको हदबन्दी भन्दा बढी भेटिएको छ । भूमि ऐनले तोकेको भन्दा बढी जमीन राख्नु गैरकानूनी मानिन्छ । र, यस्तो जमीन राज्यबाट अधिग्रहणका लागि योग्य मानिन्छ ।

मोरङको बिराटनगरनजिकै बखरी भन्ने ठाउँमा सुजाताका १० कित्ता जग्गा छ । ती जग्गा एक विघादेखि ४ विघासम्मका छन् । र, बिराटनगर–१५ मा समेत रहेका दुईवटा कित्तासमेत जोड्दा सुजाताका नामको जमीन १४ बिघाभन्दा बढी छ । तराईमा १४ बिघा जमीन एउटा व्यक्तिका नाममा राख्नु गैरकानूनी मानिन्छ ।

हेर्नुहोस् ऐनको प्रावधान

भूमि ऐन (पाँचौं संशोधन) को परिच्छेद ३, दफा ७ अनुसार भित्री मधेससमेत सम्पूर्ण तराई क्षेत्रमा एक परिवारका नाममा १० बिघा हदबन्दी तोकिएको छ । तर, सुजाताको बखरीमा रहेको जमीनमात्रै १४ विघाभन्दा बढी छ ।

बखरी र बिराटनगर उपमहानगरपालिकामा रहेको १४ विघा जमीनमात्रै सुजाताको सम्पत्ति हो भन्ने तपाईले ठान्नुभयो भने यसबाट उनको अपमान हुन सक्छ ।

सुजाताको थप जग्गा जमीन मोरङको डाइनिया गाविसमा पनि छ । डाइनियामा उनको थप ५ कित्ता जग्गा छ, जसको क्षेत्रफल करिब दुई विघा हुन्छ । यो सहित जोड्दा सुजाताका नाममा करिब १६ बिघा जमीन रहेको देखिन्छ ।

सुजाता कोइरालाले पराराष्ट्रमन्त्री हुँदा सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नै उनले हदभन्दा बढी जमीन देखाएकी छिन् । तैपनि यसबारे अहिलेसम्म कसैले चासो दिएको छैन ।

कोइराला आफैँले हस्ताक्षर गरेर ०६७ भदौ २३ गते सरकारलाई आफ्नो सम्पत्ति भूमि ऐनले तोकेको हदभन्दा बढी देखाएकी हुन् ।