३१ औं झरना कप ः आयोजकलाई पन्छाउंदै युनाइटेड कपिलवस्तु फाइनलमा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

३१ औं झरना कप ः आयोजकलाई पन्छाउंदै युनाइटेड कपिलवस्तु फाइनलमा



बुटवल,३ असोज ।  रुपन्देहीको कुन्जलापुरमा जारी ३१ औं झरना कप नकआउट फुटबल प्रतियोगितामा मंगलबार युनाइटेड कपिलवस्तु विजयी हुंदै फाइनलमा प्रवेश गरेको छ ।

उमा निमावि कुन्जलापुरको मैदानमा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा आयोजक झरना स्पोर्ट्स क्लबलाई ट्राइब्रेकरमा तीनका विरुद्ध चार गोलले पाखा लगाउंदै युनाइटेड कपिलवस्तुले फाइनल भिडन्त पक्का गरेको हो । युनाइटेड कपिलवस्तुको जितका लागि गोबिन्द थापा,अजित भण्डारी,विकास राई र विमल रानाको प्रहार सफल भएको थियो भने हरि क्षेत्रीको प्रहार बाहिरिएको थियो ।

झरनाको तर्फबाट विवेक पुन,पप्पु थापा र मनु श्रीसले आफ्नो प्रहारलाई गोलमा परिणत गर्न सफल भएपनि  विवेक पाण्डे र सुवास गुरुङको प्रहार असफल हुंदा टिमले हार ब्यहोर्न वाध्य भयो ।

मंगलबारको खेलमा झरनाका गोल रक्षक मनिष गुरुङ म्यान अफ द म्याच घोषित भए । उनलाई सशष्त्र प्रहरी बेसक्याम्प गंगोलियाका डीएसपी कृष्णगोविन्द गुरुङले पुरस्कार प्रदान गरे ।

बुधबारको अन्तिम सेमिफाइनल खेलमा न्यू भैरव एफसी नवलपरासी र लिस्नु युवा क्लब कोटिहवाबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका सहसचिव मोहन रानाले जानकारी दिए । असोज ६ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले एकलाख ५० हजार र उपविजेताले ८५ हजार तथा सेमिफाइनलमा पुग्ने २ टिमले ११ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।