आज घटस्थापना,घरघरमा जमरा राखिदै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आज घटस्थापना,घरघरमा जमरा राखिदै



१५ असोज, काठमाडौं । विजयादशमीको पहिलो दिन शनिबार घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना गरिन्छ । आजैदेखि नवरात्र आरम्भ हुन्छ ।

घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ ।

आज कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ ।

जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको छ ।

यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्न भक्तजनको भिड लाग्छ ।

आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २५ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ । असोज २५ गते देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको समितिले जनाएको छ ।