किन लेखे टीकापुर हत्याकाण्डका नाइके रेशम चौधरीले दिल्लीबाट यस्तो पीडा …. « Himal Post | Online News Revolution
Logo

किन लेखे टीकापुर हत्याकाण्डका नाइके रेशम चौधरीले दिल्लीबाट यस्तो पीडा ….



ओइ बाउ…खोइ मेरो साईकल ?

छ महिनादेखि प्रायः हप्तामै दुर्इतिन पटक मेरो मोबाईलमा घरबाट फोनमा घण्टी बज्छ । मैले फोन उठाउन नपाई एकोहोरो बोली सुनिन्छ । ए बाउ, खोइ मेरो साईकल ?

एकदिन संयोग यस्तै पर्‍यो । मैले फोन गर्दा छोरा साईकल चलाइरहेको रहेछ । मैले फोन गर्नु, उसको साईकल बिग्रनु ! त्यो पनि कहिलै नबन्नेगरी । उ फोनमा रुन थाल्यो । मैले सकुन्जेल फकाए । नरोउ छोरा । अर्को साईकल किनिदिन्छु भने । छोरा चुप्प लाग्यो । त्यहाबाट जुनदिन छोराले सम्झिन्छ तेहिदिन फोन गर्छ र साईकलको फर्माइस गर्छ ।

बिचरी रन्जिताले पनि कतिदिन थेगोस छोराको जिद्दी ? उ पनि जब जब छोराले साईकल सम्झिन्छ तब तब मलाई फोन लगाइदिन्छे र फेरि छोराको धम्की सुन्छु म । ए बाउ, खोइ मेरो साईकल ?

पहिला पहिला भोलिभोलि भन्दै टार्थे । झुठको पनि सीमा हुन्छ । आजभोलि त छोराले पनि पत्याउन छोड्यो क्या रे ? सिधा धम्की दिन्छ, ए बाउ खोइ मेरो साईकल ? दसैँ आयो नाना किनिदिनु पर्दैन ? कपडा च्यात्तिसक्यो, के लगाउने ?

म उसको कुरा सुन्छु । फोन राखेपछि ढोका लगाएर क्वा क्वा धित मरुन्जेल रुन्छु । मुखमा हाँसो सिद्दिएको धेरै भो, आजभोलि आँसु नै साथी, आँसु नै सहारा छ ।

छोराको जिद्दी थाम्न नसकेपछि एकदिन काठमाडौंमा साथीलार्इ छोराको साईकलको लागि अनुनय गरे । साथीले पनि भोलि भन्नुभो । भोलि मलार्इ फोन गर्न मन लागेन र साथीको भोलि कहिलै आएन पनि ।

मेरो एकजना निकटको मित्रलार्इ गुहारे । दसैँ आयो, श्रीमती र छोराको लागि केही गरिदिन अनुनय गरे । उहाले पनि भोलि भन्नु भो । भोलिपल्ट दिउँसो साथीलार्इ अनलाईनमा देखे । हेलो भनेर च्याट गरे । उसले लाइन अफ ग¥यो ।

आज बिहान फेरि छोराको फोन आयो । रञ्तिा केही बोलिनन् सायद उनलाई थाहा थियो । मेरो बुढाले आजपनि पक्कै भोलि भन्नेछ ।

मन थामिएन । कोठामै घ्वा घ्वा रोए । एक्लै धित मरुञ्जेल रोए । फेरि काठमाडौंमा भाइलार्इ फोन गरे । उसले किनिदिने आश्वासन दिएको छ । सायद मेरो छोराले दसैँमा साईकल पाउँछ होला !

जिन्दगीमा धेरै गरे । रञ्जितालार्इ भोक लागेको बेला सकेको खुवाए ।आजभोलि के खान्छिन कुन्नी ? छोराको नाथे साईकलको फर्माइस पूरा गर्न नसक्नेले श्रीमतीको आवश्यक्ता कसरी पूरा गर्नु ? जे भए पनि मन बुझाएकै होलिन् ।

चित्त बुझाउनु रञ्जु । दसैँ अगाडि पनि सरकारले मुद्दा फिर्ता गर्ला जस्तो छैन । मैले आङ्ग ढाकेकै छु । तिमी कस्ती छउ ? भावनामा रुन्छु मात्रै । मलार्इ मीठो लाग्छ भनेर तिमीले पकाउने खसीको मासु नरोइकन खाउ है । हामीलार्इ अलपत्र पारेर मन्त्री बन्नेहरूको त दसैँ राम्रो होला । हाम्रो दसैँ हामीले रेडियोमा गीत बजाए जस्तै भो ।

‘दिनै बित्छ रोएर, रातै कोल्टे फेरेर
कति बसु दैयाराजै बाटो कुरेर…’

(रेशम चौधरीले लेख्दै गरेको पुस्तक ‘संयोग’मा रहेको केही अंश । टीकापुर घटनामा आधारित छ । चौधरीले आफ्नो फेसबुकमा राखेका अंश जस्ताको त्यस्तै राखिएको छ । टीकापुर हत्याकाण्डपछि फरार रहेका रेशम चौधरी भारतको नयाँदिल्लीतिर लुकेर बस्ने गरेका छन् । उनी मोस्ट वान्टेड छन् ।)

साभार दैनिक नेपाल