ए बा ! मेरो माईती खै ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ए बा ! मेरो माईती खै ?



दीपक घिमिरे

ए बा ! साउन लागेपछी त्यसैपनी महिलाको मन चन्चल हुन्छ रे त्यसमाथि तीजको रमझम बजारभरी देख्न पाइन्छ । मन मेरो पनि चन्चल हुँदैछ । वर्षमा एक दिन रमाइलो हुने तीज नजिकिदै गर्दा जति मन चन्चल छ त्यो भन्दा धेरै रुन्छु माईती सम्झेर ।

बा ! तपाईँ परलोक भएसी मैले बा मात्र गुमाईन , आफ्नो माईती नै गुमाए । भाग्यले एउटा दाइ अनि अर्को भाइ त दिएकै हो तर ती सबै पराई भए । खै कसको दोष हो तर तपाईँ सँगै मैले माईती गुमाउदा संसार कै अभागी आईमाई ठान्छु ।

अस्ति देउरानी तीज मान्ने भन्दै माईती हिडिन । अघिल्को हप्ता नन्द र आमाजु तिज मान्न आईसक्नुभएको छ । तर म कहाँ जाऊ ?
लोकको लाज छल्न दुई वटा तिज माईतिमा गएर मनाए तर कुकुरलाई भन्दा तल्लो दर्जा आफ्नै दाइ भाउजू र भाइ बुहारीबाट पाएपछी मलाई तपाईँको याद आयो बा ।

मेरै हातले भाइलाई हुर्काएको हैन र बा मैले ? भाइ चार वर्षको हुँदा आमा बितेपछी दाइ र भाइको लागि म आमा जस्तै बनेर हुर्काएकी हैन र बा ? तर किन अहिले दुस्मन देख्छन बा दाजु भाइ दुवैले ? तपाईँ नहुदा त्यो प्यारो माइतीघर मलाई किन बिरानो लाग्दैछ बा ? ए बा ! मेरो माईती खै ?

तपाईँ बितेकै वर्ष कान्छोले पल्लो गाउँबाट थापाकी छोरीलाई घर ल्यायो । मैले एक वर्ष कुरेर बिहे गर्ने सल्लाह दिँदा उ म सँग टाढियो । उ टाढियपछि बुहारीले पनि मलाई देख्नै चाहदैने । भाउजू को अवस्था त तपाईँलाई थाहै छ । म त्यो घरमा पाइला टेक्नासाथ उनको अनुहारमा ग्रहण लाग्न थाल्छ । खै कुन दिनको पाप गरेको रैछु बा ! मेरा लागि माईती भएनन ।

मैले दाइको कपडा धोएको हैन र बा ? भाइलाई दिदी भएर पनि आमाको माया दिएको हैन र बा ? मैले दाइको लागि गरेको तपस्याको फल किन यस्तो पाउदैछु ? बा तपाईँको अभावले मलाई एक्लो बनाउदैछ । कहिले काहीँ हजुरको ज्वाइँ रिसाउदा ठुस्केको नाटक गरेर माईती जाने बाटो परारै देखि बन्द छ बा । मेरा पनि रहर थिए माईती गएर तिजमा नाच्ने , उतै दर खाने अनि हास्ने । तर यो सबै मेरो भाग्यमा रहेनछ बा । मेरो न माईती छन् न त माइतीघर । दुनियाभरका चेली बेटि माईती जाँदै गर्दा तपाईँलाई सोध्न मन लाग्यो , बा ! खै मेरो माईती ?
जेठो बाबु ले हिजो राती अन्जानमै सोध्यो “ मम्मी यो तिजमा मामा घर जाने है ? ”

हो ! उसलाई पनि रहर लाग्दो हो , मामा घर जाने । तर म उसलाई केही भन्न सक्दिन किन भने म भित्रको पीडा म आँसु सँगै निल्न सक्छु , मुख बाट ओकल्न सक्दैन । हजुरका ज्वाईले पनि कहिले काहीँ ससुराली जाने इच्छा देखाउनु हुन्छ तर कसरी लगु तपाईँ बिनाको माईतिमा ?
परार सालको तिजमा भाउजूले गरेको हेला सम्झदा अझै आँसु झर्छन बा । मैले माईती बाट केही आशा गरेको छैन तर मेरा बा र आमाले गरेको दुख बाट बनेको घरमा मलाई बाँस किन छैन बा ?

दाइ सँग भित्र कोठामा बसेकी भाउजू ले मलाई सुनायरै भनिन “ तिज खर्च भनेर बैनीलाई पैसा दिने हैन , एक रुप्पे नदिए दियौ भने म माईत हिडिदिन्छु , तिमीहरू भाइ बैना बस्नु । ” भाउजूको कुराले यस्तो लाग्दै थियो कि हामी माईतिमा सम्पती कुम्ल्याउन जान्छौ । त्यति बेला दाइले भाउजूको गालामा एक चडकन लगायर हाम्रो नाता बलियो बनाउन सक्थ्यो तर त्यसो गरेन बरु भन्दै थियो “ चाडवाड आउनै हुँदैन , माईत आईहाल्ने । यस्ती लाई किन दिउला रुप्पे । जे पाक्या छ खान्छे अनि जान्छे । ”

दाइको त्यो वचन मेरै कानले सुनेका हुन बा । त्यो दिन देखि मलाई त्यो माईतिमा पाईलै टेक्न मन लाग्दैन । तर रहर लाग्दो रैछ बा । छरछिमेकी दिदी बैनी रातो साडीमा माईत हिडिदिदा मलाई पनि रोयरै भएनी माईति जान मन लाग्छ । तर त्यति धेरै सहने शक्ति तपाईँले दिनुभएन मलाई त्यसैले आँखा को आँसु मुखले निल्दै घर बसेकी छु । माईतीलाई टाढै बाट नियाल्दै छु ।

बा ! तपाईँले यो पढन सक्नुहुदैन मलाई थाहा छ । तर खै किन आज मनको बह कोर्न मन लाग्यो । तपाईँले नपढेपनी ती तमाम बा हरुले त पढलान नि हैन र बा ? जसले गर्दा आफू बाच्दै एउटा मीठो न्यानो माईती बनाईदेलान अनि दिदी बहिनी प्रति दाजुभाइको कर्तव्य सिकाईदेलान ।

बा ! हाम्रो परिवार किन यति टाढियो ? तपाईँले दिएको संस्कार अनि सिकायको नैतिकता किन व्यवहार मा लागू गरेनन दाजुभाइले ?
हाम्री फूपू घरमा आउँदा तपाईँले गरेको माया देखेनन ती दुईभाईले । हाम्री फुपुको खुसीका लागि तपाईँले गरेको त्याग बिर्सेकै हुन त ती दुईभाईले ?

बा ! भाउजू र बुहारी पनि नारी हुन । उनीहरूको धेरै कुरा काटेर मलाई हजुरको अगाडि असल बन्नु छैन । तर एउटा नारीले अर्को नारीलाई गर्ने व्यवहार किन सिकेनन तिन्ले ? अचम्म पर्छु बा ! तपाईँले छोराहरुलाई जोईटिङ्ग्रे बन्न सिकाउनु भएको त हैन नि है ?
आमाको माया मैले अलि अलि सम्झन्छु । आमाको अनुहार अहिले त्यति याद छैन । मेरो जीवनका सुख दुखका साथी भनेकै ती दुई भाइ हुन । जो सँग मैले जीवनका बाल्यकाल बिताए ।

एक पटक खेल्दै गरेको भाइलाई रने साहुको छोराले कुटदा म उ सँग लडेको याद छ नि तपाईँलाई ? त्यो दिन तपाईँले नरोकेको भए रने साहुको छोराको ज्यानै लिइदिन्थे । म मेरो दाजुभाइलाई अन्धो माया गर्थे । मेरा दाजुभाइका दुस्मन सँग भिडन मैदानमा म अगाडि सर्थे । त्यसैले त तपाईँले मलाई माईलो छोरा भन्नुहुन्थ्यो । सबैले म भित्रको हिम्मत देखेर अचम्म पर्थे । म लडन भिडन कहिल्यै डराउथेन तर आजभोली सानो बचनले पनि मलाई महिनौ रुवाउछ । म किन यस्तो सानो मुटुको भएको छु हँ बा ?

अस्ति एउटा मान्छेले भन्दै थ्यो “ दुस्मन सँग लडने ताकत म सँगै छ भगवान् ! मलाई आफन्त सँग लडने ताकत देऊ । ” साँच्चै हो रहेछ बा । म संसारभरका मै हु भन्ने दुस्मन सँग लडन सक्छु । हास्दा हास्दै मर्न सक्छु तर मलाई मेरा दाजुभाइको सानो बचनले किन गलाउछ ? किन रुदै बस्ने बनाउछ ?

बा ! तिहारमा निधार खाली भएको तीन वर्ष भयो । मलाई त्यो दिनको भाइटिकाको महत्त्व लाग्दैन । खै किन हो , तर आउँदै गरेको तिजमा त्यही चुलोमा बनेको दर खाने रहर किन झन् बढी लाग्दैछ ?किन मलाई मेरै आगनमा नाच्न मन लाग्छ ? किन तिजमा मलाई मेरो घर बिरानो लागेर माईती घरको याद आउँछ ? ए बा ! मेरो माईती खै ? किन पराई भए मेरा आफन्त ?

हो म भित्र कमजोरी पक्कै छ । मैले आमाको माया दाजुभाइलाई दिनु गलत थियो , आफ्नै संसारमा रमाउनु नसक्नु गलत थियो । सानो चाडपर्वमा पनि माईती धाउनु गलत थियो । तर बा ! म कसरी भुल्न सक्छु त्यो मेरो जन्मघर , त्यो मेरो खेत बारी अनि कसरी भुल्न सक्छु त्यो आगन जहाँ हामी तीन दाजुभाइ तपाईँले बजायको मादलमा नाचेको । तपाईँले आमाको जस्तै स्वरमा गीत गायर हामी तिन दाजु बहिनीलाई पालपालो नचाएको त याद छ नि बा ?

बा ! मेरा रहरलाई रुवायर म घरमै बस्न सक्छु तर यो तपाईँको नातिले मामाघरको महत्त्व बुझेको छ । उ मान्दैन , म कसरी लिएर जाऊ त्यो माईतीमा जहाँ मेरा लागि मुलगेट बन्द छ । ए बा ! भाउजू र बुहारी दुवै नारी हुन , उनलाई रुदै घरमा बस्न नपरोस । रातो साडीमा सजियर माईती जान पाउन उहिरु । मेरा आँसुले उनीहरूको जीवनमा पीडा नथपियोस । म कामना गर्दछु , बा मेरा माईतिलाई अझ धेरै सुख देऊ , रुने म छदैछु ।

 

उक्त कथालाई हिमाल पोस्टको अनुमती बिना कुनै पनि अन्लाईन वा सामाजिक संजालमा हुबहु साभार गरिएमा कडा भन्दा कडा कार्वाही गरिने छ ।