आचारसंहिता पालना गर्न आग्रह - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आचारसंहिता पालना गर्न आग्रह



काठमाडौं, चैत ४ गते ।

निर्वाचन आयोगले निर्वाचन आचार संहिता अनुकूलको आचरणमा रहन सबैमा पुनः अनुरोध गरेको छ । आयोगमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएका उजुरी पर्न थालेपछि आयोगले यस्तो आग्रह गरेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बिहीबार जारी गर्नु भएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘निर्वाचन आचार संहिता अनुकूलको आचरणमा खलल पार्ने कुनै किसिमका कार्य नगर्न/नगराउन नेपाल सरकारका विभिन्न मन्त्रालय, निकाय, विभिन्न संघ संस्था, सुरक्षा निकाय र राजनीतिक दललगायत सबैमा निर्वाचन आयोग पुनः स्मरण गराउन चाहन्छ ।’’

निर्वाचनका लागि आयोगले यसअघि सरकारलाई १९ बुँदे निर्देशन, सुरक्षासम्बन्धी चारबुँदे निर्देशन जारी गरेको छ भने निर्वाचन आचारसंहिता २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता–२०७३ फागुन १८ गतेदेखि लागु गरेको छ ।

निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सञ्चालन गर्न अपरिहार्य भएको हुँदा निर्वाचन आचार संहिता पालनालाई सम्बद्ध सबैले गम्भीरतापूर्वक लिनु आवश्यक छ भन्दै विज्ञप्तिमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरालाई पुनः स्मरण गराएको छ ।