जसले अरूलाई कोरोनाबाट बचाउन लडे, आफैँ संक्रमित भए - Himal Post Himal Post
  • १० बैशाख २०८१, सोमबार
  •      Mon Apr 22 2024
Logo

जसले अरूलाई कोरोनाबाट बचाउन लडे, आफैँ संक्रमित भए



धनगढी- कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित परासन स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट जनक धामी कोरोना रोकथामसम्बन्धी कार्यशालामा सहभागी हुन २० जेठ दिउँसो धनगढी आउँदै थिए ।

धनगढी पुग्नै लाग्दा उनले आफू पनि संक्रमित बनेको खबर फोनबाट पाए । सुरुमा उनी निकै आत्तिए । फेरि बिरामीको सेवा गर्दागर्दै संक्रमित बनेकामा गर्व महसुस गरे र आत्मबल बलियो बनाए ।

उनी सीधै धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुगे र आइसोलेसन वार्डमा बसे । आइसोलेसनमा रहँदा संसारभर बढ्दो संक्रमणका समाचारले डर पैदा गथ्र्यो । ‘तर, कोरोनाका लक्षण नदेखिएकाले छिटै निको हुन्छु भन्ने आत्मविश्वास थियो,’ उनी भन्छन्, ‘साथीभाइ र आफन्तबाट हौसला पाइरहें । कोरोना लाग्दैमा आत्तिनुपर्ने रहेनछ ।’

लकडाउनयता उनी नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेर भारतबाट भित्रिएका नेपालीको स्वास्थ्य जाँचमा खटेका थिए । क्वारेन्टाइनमा बसेकाहरूको ज्वरो नाप्ने, आरडिटी परीक्षण र पिसिआरका लागि थ्रोट स्वाब संकलन गर्थे । ८ जेठमा पनि उनी यही काममा थिए । आरडिटी परीक्षण क्रममा सोही दिन आफूमा भाइरस सरेको धामीको अनुमान छ ।

‘पिपिई थिएन, सीमाबाट क्वारेन्टाइनसम्म पुर्‍याउन टिपरको व्यवस्था गरेका थियौं,’ उनी भन्छन्, ‘तर, उनीहरू टिपरमा नजाने भन्दै विवाद गर्न थाले । मैले भीडलाई सम्झाएँ, त्यहीवेला संक्रमण भएको शंका छ ।’ पुनर्वासका ३३ जनाको त्यही भीडमा रहेका पाँचजनामा संक्रमण पुष्टि भएको थियो ।

१४ दिनपछि कोरोना जितेर धामी घर फर्के । थप १४ दिन होम क्वारेन्टाइनमा बसे । आइतबारदेखि काममा फर्किए । उनी कोरोना संक्रमण देखिएका सुदूरपश्चिम प्रदेशका पहिलो स्वास्थ्यकर्मी हुन् ।

कञ्चनपुरकै लालझाडी गाउँपालिका–२ शंकरपुर स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट श्याम राना चैत अन्तिम सातादेखि क्वारेन्टाइनमा बसेकाहरूको ज्वरो मापन, आरडिटी परीक्षण र स्वाब संकलनमा खटिएका थिए ।

उनले ज्वरो मापन, आरडिटी परीक्षण र स्वाब लिएका एक जनामा जेठ अन्तिम साता संक्रमण पुष्टि भयो । अन्य सात जनामा एन्टिबडी पोजिटिभ देखियो । संक्रमितको सम्पर्कमा आएकाले उनले पनि पिसिआर परीक्षण गराए । ३१ जेठमा उनको रिपोर्ट पोजिटिभ आयो । उनीसँगै अन्य १७ जनाको रिपोर्ट पोजिटिभ आएको थियो, त्यस दिन ।

संक्रमण पुष्टि भएपछि होम क्वारेन्टाइनमै बसेका रानाको १० असारमा दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । ‘लकडाउनपछि स्वास्थ्य चौकीभन्दा क्वारेन्टाइनमा गएर बढी खटिनुपर्‍यो । कतिवेला संक्रमण भयो, पत्तै भएन,’ उनी भन्छन् । एउटा मात्र पिपिई पाइएकाले त्यसलाई धोएर पुनः प्रयोग गरेका थिए, उनले । उनका अनुसार वैशाख दोस्रो सातापछि पर्याप्त पिपिई उपलब्ध भएन ।

कोरोना संक्रमण देखिएका पुनर्वास नगरपालिकाको त्रिभुवन स्वास्थ्य चौकीका ल्याब इन्चार्ज दुर्गादत्त भट्ट र सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डकी स्टाफ नर्स दुर्गा चौधरी पनि उपचारपछि घर फिरेका छन् । भट्ट पनि क्वारेन्टाइनमा बसेकाहरूको स्वास्थ्य जाँचमा खटिएका थिए ।

स्टाफ नर्स चौधरी संक्रमितको प्रत्यक्ष सम्पर्कमा त गइनन्, तर आरडिटी पोजिटिभ देखिएका र शंकास्पद बिरामीलाई औषधि वितरण गर्थिन् । उनमा १ असारमा संक्रमण पुष्टि भएको थियो, ९ असारमा दोस्रो रिपोर्ट नेगेटिभ आयो । आइसोलेसनमा उपचाररत संक्रमितलाई सिसीक्यामेराबाट निगरानी गर्ने र टाढैबाट सल्लाह दिने गर्थिन् । अप्रत्यक्ष सम्पर्कबाटै आफू संक्रमित भएकामा उनलाई आश्चर्य लागेको छ ।

सुदूरपश्चिममा हालसम्म १५ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयहरूका अनुसार तीमध्ये चारजना निको भएर घर फर्केका छन् भने अन्य उपचाररत छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार सबैभन्दा बढी बाजुरामा सात स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । कञ्चनपुरमा पाँच, कैलालीमा दुई र डडेल्धुरामा एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।

अधिकांश स्वास्थ्यकर्मीले सुरक्षा सामग्री अभावमा जोखिम मोलेरै काम गरिरहेका छन् । स्वास्थ्य सामग्री लगाउने र फुकाल्ने सही तरिका अपनाउन नसक्दा पनि संक्रमणको जोखिम हुन सक्ने कार्कीको बुझाइ छ ।

धनगढीबाट तेजराज भट्टले नयाँ पत्रिकामा लेखेका छन् ।