सधै प्रथम भएको भन्दै आफ्नै साथीहरूले गरे अपहरण - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सधै प्रथम भएको भन्दै आफ्नै साथीहरूले गरे अपहरण



विद्यालयमा सधै प्रथम हुने एक विद्यार्थी आफ्नै साथीहरूबाट अपहरित भएका छन् । उनलाई अपहरण गरेको आरोपमा पर्साका चार जना बालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा चार जना बालकलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू नाबालक भएकाले उनीहरूको पहिचान खुलाएको छैन।

कार्यालयका डिएसपी दीपक गिरीका अनुसार घटना शनिबार बिहान साढे ५ बजे भएको हो।

वीरगन्ज महानगरपालिका-१६ इनर्वा बस्ने १६ वर्षीय बालक आफ्नो घरको आँगनको कलमा हात मुख धोइरहेका थिए। त्यसबेला सँगै अध्ययन गर्ने चार जना साथीहरूले मिलेर कम्बलले उनलाई छोपेको डिएसपी गिरीले बताए।

बालकलाई नियन्त्रणमा लिएर मुखमा कपडा कोचेर बोल्न कराउन समेन दिई घरबाट ३ सय मिटर टाढा सम्म लगेको पाइएको छ।
सुनसान खाली चौरमा लगेर मुखमा थप गलबन्दी, पन्जा तथा रूमाल समेत् कोचेको पाइएको छ। कालो केबलको तारले मुखको कपडा नखुस्कियोस् भनेर र हात खुट्टा समेत बाँधेर नियन्त्रणमा लिएको डिएसपी गिरीले बताए।
परिवारले आफ्ना बालक हराएको भन्ने खबर पाएपछि प्रहरीको टोली खटिएको थियो।

उक्त टोलीले अपहरणमा परेका बालकको उद्दार गरेको हो। यस्तै आरोपित चार जना बालकलाई पनि नियन्त्रणमा लिएको हो। पीडित र पक्राउ परेका आरोपितहरू कक्षा १०मा अध्ययनरत विद्यार्थी हुन्।

डिएसपी गिरीका अनुसार अपहरणमा परेका बालक सँधै कक्षामा प्रथम हुने गर्थे। जसले गर्दा उनका निकटतम प्रतिस्पर्धी विद्यार्थतीहरूको रिस, द्वेस र डाहका कारण अपहरण गरेको पाइएको हो।

ती बालकमाथि ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति समेत पाएको छ। उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान गर्न लागेको हो।