आहा ! त्यो पो हो दसैँ « Himal Post | Online News Revolution
Logo

आहा ! त्यो पो हो दसैँ



-दीपक घिमिरे

प्रत्येक वर्ष स्कुलको ड्रेसलाई दसैँमा नयाँ कपडाको रूपमा लगाइन्थ्यो अनि दसैँपछि त्यसैलाई स्कुलको ड्रेसको रूपमा लगाइन्थ्यो । काँचो कपडा मङ-मङ बसाउँथ्यो । त्यो उत्पात मीठो वासनाले भरिएको कपडा लगाउन हामीलाई दसैँ कुर्नै पर्थ्यो ।

बा अलिकति पैसा बोकेर दसैँ ल्याउन कृष्णनगर हिडेपछी बल्ल हामीलाई दसैँको रौनकता घरभित्रै आएजस्तो अनुभूति हुन्थ्यो । त्यो बेला चाडपर्वका किनमेल कृष्णनगर या त्यो सँगै जोडिएको भारतीय बजार बढनिमा गरिन्थे ।

दसैँको रौनकता घरभित्र टुसाउँदै गरेको जमराले दिन्थ्यो अनि आँगनमा पलेटी कसेर बसेका रनेदाईले दिन्थे । घर पोत्ने कमेरो माटो ठुल्ठुला बाल्टीमा भिजाइएका हुन्थे भने ढोका रङ्गाउने पुराना ब्याट्री खोज्न हामी लमही बजारका रेडियो मर्मत दुकानका नाली कोट्याउँथ्यौ ।

जमरा टुसाएपछी त्यो कोठामा हामीलाई प्रवेश निषेध हुन्थ्यो । हामी दिनमा सयौँ पटक जमरा कत्रा भए भन्दै हेर्ने हुँदा उज्यालोले जमरा हरियो भइदिन्छ भनेर आमाले त्यो कोठामा ताल्चा ठोक्दिनुहुन्थ्यो अनि हामी आँगनमा लुगा सिउँदै बसेका रनेदाईको छेवैमा बस्थ्यौ ।

“यो लुगा लगाएपछि त ठुला बाबु आकाशमा उड्नुहुन्छ । मेरो छातीमा आधा सिएको लुगा टाँस्दै रनेदाईले जिस्काउँथे ।

म कल्पना गर्थे “के साँच्चै यो लुगा लगाएपछि म नि चरा जस्तै उडुँला त ?”

उड्न खुब रहर हुन्थ्यो त्यतिबेला । त्यसैले त परालको आँटी बाट उडेर भुईँमा पछारिदा पनि खुब मजा आउँथ्यो ।

हरेक गाउँमा जिम्दारहरू पनि हुन्थे । जिम्दारको घरमा दसैँमा बलि दिन भनेर आगमनै बोको बाँधिएको हुन्थ्यो । उसको आवाज अनि गन्ध लगभग गाउँ भरी महसुस गरिन्थ्यो । जिम्दारका आँगनमा बाँधिएका बोकाले निकाल्ने आवाजबाटै हामी दुईचारजना साथीले बोकाको जस्तै आवाज निकाल्न सिकेका थियौ । पछि स्कुल बढ्दै जाँदा थाहा भो , त्यस्तो आवाज निक्लनु हुँदैन रहेछ । अघिल्लो बेन्चमा बस्ने केटीलाई जिस्काउन बोकाको आवाज निकाल्दा साथीले पुरी सरको डस्टरबाट कुटाई पनि खायो ।

जिम्दारका आँगनमा बलि दिने बोका बाँधिएजस्तै हामी धेरै छरछिमेकका घरका छानामा कुभिण्डा हुर्कँदै हुन्थे , अष्टमीमा बलि दिनको लागि । हामी हरेक दिन एक अर्काका छानामा चढेर हुर्कँदै गरेका कुभिण्डोलाई देखाउँदै भन्थ्यौ “तेरो बलि त सानो हुन्छ बे , हाम्रो त ठुल्लो छ ।”

आजभोलि बोकाको उचाइ र तौल नापे जस्तै हामी कुभिण्डाको तौल र आकार नाप्थ्यौ अनि सानो हुनेलाई गिज्याउँथ्यौ । हाम्रो बलिको बोकाको न आवाज हुन्थ्यो , न त गन्ध । अष्टमीको दिन बाले चारवटा काठका खुट्टा बनाएर आँगनमा कुबुइण्डो छिनालेपछि हाम्रा निधार रङ्गिन्थे । मासु त हाम्रा घर पनि पाक्थे तर किनेर ल्याएको , बलि दिएको कुभिण्डो आगमनै ढलेको हुन्थ्यो रातै भएर । फरक यत्ति थियो कि जिम्दारको आँगनमा ढलेको बोको रगतले रातो हुन्थ्यो , हाम्रो आँगनमा ढलेको कुभिण्डो रङले ।

चौपारीमा पुने दाइले खोरखोरे खेलाउँथे । पैसा हुनेहरू दाउ हेर्दै कहिले चिडी त कहिले ईट अनि कहिले बुर्जा त कहिले पान मा दाउ थाप्थे । हामी नहुने बुङ्गाहरू दुई हातले चिउँडो देखि कान सम्म छोपेर मज्जाले हेर्थ्यौ ।

जित्नेहरूले कहिलेकाहीँ एक दुई रुप्पे दिन्थे अनि हामी पनि दाउ थाप्थ्यों , मैले चिडीमा भाग्य देख्थे , तारेले बुर्जामा । हरि , ज्ञानु हरू ईटमै दाउ देख्थे । र कहिलेकाहीँ फ्रीमा पाएको एक दुई रुप्पे बाट पचास साठी बनाएर फर्कन्थ्यौ ।

दिनभर चौतारोमा खोरखोरे हेर्दै बसेको चाल पाएपछि आमाले बेलुका झपार्ने एउटै शब्द हुन्थ्यो “तेरा दसैँका लुगा नपाउने भैस , बा ले नदिने भन्नु भाछ ।”

घरको काम नगरी बरालिँदा मैले मात्र होइन , गाउँभरिका म जस्ता सबैले घर गाली पाउँथे । अनि फेरि पहिला घरको काम सक्न लाग्थ्यौ । खेत गएर घाँस ल्याउने , भैँसी खोला लगेर नुहाइदिने अनि बल्ल चौतारो झरेर खोरखोरेमा ढुक्ने उस्तै गरेर । यो दसैँ छुट्टीको हाम्रो दैनिकी जस्तै थियो ।

गाउँमा टिन टल्कने घर कमै थिए । पल्लो गाउँमा डबरे बाजेको घर टिन लागेको र भित्तामा चुना लगाएको सेतो थियो । बाकी जम्मै घर खरले छाएका अनि माटोले लिपेका ।

हामी ग्रुप बनाएर घर पोत्ने माटो लिन टाढा टाढा जान्थ्यौ । रातोमाटो लिन रातोडाँडा लमही पुग्थ्यौ भने सेतो कमेरो लिन गौरी । लिएको माटोले घर पोतेपछि टलक्क टल्कने घर । दसैँ आएपछि घरै उज्यालो , मनै उज्यालो ।

दसैँमा धेरै ठाउँमा मेला लाग्थे । पाचँपुन्ने मेला भन्थिम हामी । तर मेला जाने सुको हुन्थेन । बा आमाले टीका लाएर पैसा दिनुहुन्थेन ।

“छोरालाई पैसा दिन्नन् , ल ठुली गर !” भन्दै आमाले खुट्टा तेर्स्याइदिएपछि घप्लक्कै खुट्टामा घोप्टिनु पर्थ्यो । पिरले अलिकति आँसु आउला झैँ हुन्थ्यो , रसाएका आँखा पुछ्दै गाउँ डुलिन्थ्यो ।

एउटा साथी छ खेमे । नाम खेमराज हो , त्यो बेला खेमे भन्थिम , आजभोलि दूधवाले भन्छु । दूध बेचेरै करोडपति भएको एउटा त्यै छ अरू बाकी जम्मै कि त लाहुर छौ , कि जागिरे । सानै देखिको कामलाई निरन्तरता दिएर सफलता चुमेको त्यै एउटा हो खेमे ।

उसले दूध बेच्न सिकाएपछि गोजामा अलिकति पैसा देखिन थाल्यो । पोहोर परार जस्तो आर्थिक नाकाबन्दी हाम्रो घरमा पनि लाग्न छाड्यो । खेमेले लगाइदिएको दूधको ठेक्कामा दूध दिन थालेपछि उ मेरो व्यापारिक गुरु भयो । अनि उसैको सङ्गतले पछिका दसैँमा खोरखोरे खेल्ने दुईचार रुप्पे जोडिन थाल्यो ।

दुईचार रुप्पेको जोहो गर्न खेमेले सिकाएपनी दसैँमा निधार बेचेर पैसा कमाउन चैँ माइलाले सिकाएका हुन । माइला भनेर बोलाउँथ्यौ , खास नाम श्रीधर थियो । आजभोलि उनी छम्पाली माइला भएका छन् । न श्रीधर भए , न माइला मात्र रहे !

छम्पाली माईलेले त्यो बेला भनेका थिए “निधार बेच्न ठुलाबा माइलाबा हैन मामा पर्ने तिर हिडनु पर्छ बड्डा । नत्र त निधार भरिन्छ , गोजी रित्तै ।”

उनले भनेजस्तै दसैँमा म मामाघर दौडिन्थे , गाउँमै भएका बा नाता लाग्नेका घरमा बाध्यताले जाने अर्कै कुरा भो , नत्र गइएन । पछि पछि गाउँ घरमा दसैँको दिन केटाकेटी देखिनै छाडे । घरमा टीका लगायो अनि मामाघर टाप ।

अहिलेको जस्तो छोरालाई पनि माया मानेर दक्षिणा दिने चलन थिएन । घुचुक्क खुट्टामा ढोगेपछि दुईचार शब्दको आशिषनै त्यो बेलाको दक्षिणा हुन्थ्यो । तर मामाघरबाट पाइने दुईचार रुप्पे पनि त्यो बेला अहिलेको हजारौँ भन्दा कम्ता लाग्दैनथ्यो । मामा नाता पर्नेको घरमा निधार बेच्न टुप्लुक्क पुग्नु त्यो बेलाको बाध्यतानै थियो । आशिषभन्दा महत्त्व दक्षिणामा आउने पैसाको हुन्थ्यो ।

दसैँको दिन नयाँ कपडा लाएर हिडनुको मजा अहिले कल्पना गर्दा पनि एक्लै हाँसिन्छ , त्यो बेला झन् कति हाँसिन्थ्यो होला ? प्रत्येक वर्ष स्कुलको ड्रेसलाई दसैँमा नयाँ कपडाको रूपमा लगाइन्थ्यो अनि दसैँपछि त्यसैलाई स्कुलको ड्रेसको रूपमा लगाइन्थ्यो । काँचो कपडा मङ-मङ बसाउँथ्यो । त्यो उत्पात मीठो वासनाले भरिएको कपडा लगाउन हामीलाई दसैँ कुर्नै पर्थ्यो ।

दसैँको दिन निधार बेचेर आएको पैसाले हामी खुत्रुके किन्थ्यौ , फिल्म हेर्थ्यौ । लमहीको शङ्कर टाकिजमा छ रुप्पेको प्रथम श्रेणी टिकेट काटेर जुटका बोरामा बसेर फिल्म हेर्ने म मात्र होइन , ईश्वरी , घने , किस्ने , बिमले , तारे , निर्मली दिदी , मिरा अझै जिउँदै छन् । त्यो दिन सम्झेर उनीहरूलाई मलाई जस्तै अचम्म लाग्छ होला कि नाई ?

दिउँसो तीन बजे देखि राती छ बजे सम्मको फिल्म हेरेर घर फर्किदा बाटोमा रामजाने स्टाईलमा डाइलग मार्दै आइन्थ्यो अनि घर आइपुग्दा बाको हातबाट गब्बरसिंङ स्टाईलको कुटाई सबैले खान्थे । र पनि त्यो दसैँको महत्त्व अहिलेको भन्दा लाखौँ गुणा बढी हुन्थ्यो ।

अरुबेला फिल्मको टिकेट काट्ने पैसा नहुँदा हलको भित्तामा कान टाँसेर डाइलग सुन्थ्यौ अनि स्कुलमा गएर खररर फिल्मको डाइलग भनेर सबैलाई अचम्मित पार्थ्यौ , तर दसैँको बेला छ रुप्पेको टिकट काट्थ्यौ , अनि अभिनय सहित डाइलग भन्थ्यौ । फिल्मका मिठा गीत गाउँ टोलमा गुनगुनाउने ध्रुव दाइ गाउँघरमै छन् , विजय दाइ लाहुर छन् म जस्तै । ती दाइहरूले त्यो दसैँको याद गर्चन होला कि नाई ?

पैसा नहुँदा हल भित्र घुसाउने ध्रुव , भेली चोर्न सिकाउने विजय दाइहरू पनि त्यो बेला दसैँका मेरा सहयात्री हुन्थे । दसैँमा खर्च जुटाउन मकै , तोरी , मुसुरो सिला खोज्न (किसानले बाली भित्राईसकेपछी बचेको खोज्न जानू) गएर भेटेको अन्न बेचेर दसैँ खर्च जुटाउन सिकाउने पुने दाइलाई गुरु नै मान्नु पर्छ । पैसा कसरी कमाउने भनेर उन्ले नै सिकाए जीवनमा पहिला ।

त्यो बेलाको दसैँको याद गर्दा चिटिक्क पोतिएका घर , छानामा हुर्कँदै गरेको कुभिण्डो , नयाँ लुगा , आँगनमा मेसिन चलाउँदै बसेका रनेदाई अनि तिनै साथीभाइको याद आउँछ । अहिलेको दसैँ त फेसबुकमा आउँछ अनि दशा लगाएर सकिन्छ । दसैँ भन्ने बित्तिकै खुसी हुने हामीहरू आजभोलि दसैँ आउँदैछ भन्दा विरक्त लागेको अनुहार बनाउँछौ अनि भन्छौ “दसैँ आईगो , तनाव छ ।”