आज सार्कको ३१ औँ वार्षिकोत्सव - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आज सार्कको ३१ औँ वार्षिकोत्सव



हिमाल पोष्ट / २३ मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३१ औं वार्षिकोत्सव तथा सार्क बडापत्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाईदैछ । ३१ वर्षअघि सात राष्ट्रले संस्थापक सदस्यका रुपमा यस क्षेत्रको चरम गरिबी हटाउन तथा शान्ति, स्थिरता र समृद्धिका लागि साझा प्रयास थालनी गरेका थिए ।

सन् १९८५ डिसेम्बर ७–८ मा बंगलादेशमा सार्कको पहिलो शिखर सम्मेलन भएकोे थियो । सार्कमा अहिले अफगानिस्तान, बंगलादेश, भुटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका सदस्य छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण एसियाको चौतर्फी विकासका लागि सार्कका सदस्य राष्ट्रबिच बृहत्तर सहयोग अपरिहार्य भएको बताएका छन् ।

सार्क स्थापनाको ३१ औँ वार्षिकोत्सव तथा सार्क बडापत्र दिवसका अवसरमा दिएको सन्देशमा उनले दक्षिण एसियालाई विकासमा रुपान्तरण गर्न सबै सदस्य मुलुकले आफ्नो प्रयास दोब्बर पार्नुपर्ने बताएका छन् ।

सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले यस क्षेत्रका नागरिकको विकासका आकाङ्क्षा पूरा गर्न सार्कले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

सार्कका विगतका निर्णय र प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनमा उनको जोड छ । तीन दशक लामो क्षेत्रीय सहयोगको सार्कको यात्रा दक्षिण एसियामा गरिबी निवारण, शान्तिको प्राप्ति, स्थायित्व र समृद्धि भएको चर्चा गर्दै उनले तिनलाई हासिल गर्न सार्कले विभिन्न संयन्त्र र निकाय स्थापना गरेर काम गरिरहेको आफ्नो सन्देशमा उल्लेख गरे ।

सार्कले निर्धारण गरेका लक्ष्य र उद्देश्य प्राप्तिका लागि राजनीतिक प्रतिबद्धता र एकीकृत प्रयास अपरिहार्य भएको पनि उनको सन्देशमा उल्लेख गरिएको छ ।