१३औँ साग: आज कुन-कुन खेल कहाँ हुँदैछन ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

१३औँ साग: आज कुन-कुन खेल कहाँ हुँदैछन ?



काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुदको तेस्रो दिन आज ९ बजेबाट विभिन्‍न प्रतिस्पर्धा सुरु हुदैछन् । चर्चाका हिसाबले महत्वपूर्ण मानिएका क्रिकेट, फुटबल र भलिबलका खेलहरूमा आज नेपालले विभिन्‍न देशको सामना गर्दैछ।

आज दिउँसो १ बजे दशरथ रङ्‍शालामा नेपाल र भुटानबीच पुरुष फुटबल हुँदैछ भने सोही समयमा पोखरा स्टेडियममा नेपाल र श्रीलंकाबीच महिला फुटबल।

पुरुष फुटबलअन्तर्गत आज बंगलादेश र माल्दिभ्स पनि भिड्दैछन्। यो खेल साँझ ५ बजे दशरथ रङ्‍शालामा हुँदैछ। महिला फुटबलतर्फ आज पोखरा स्टेडियममा साँझ ५ बजे भारत र माल्दिभ्स भिड्दैछन्।

बिहान ११ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुरुष समूहअन्तर्गत नेपाल र श्रीलंकाबीचको टि–२० त्रिकेट खेल हुनेछ। आजै महिलातर्फ श्रीलंका र बंगलादेशबीच टि–२० खेल हुनेछ।

भलिबलअन्तर्गत आज दिउँसो २ बजे त्रिपुरेश्वरको कभर्ड हलमा नेपाल र भारतका महिला टिमबीच फाइनल खेल हुँदैछ। यस्तै, पुरुष भलिबलतर्फको फाइनल खेल दिउँसो ४ बजे सोही कभर्ड हलमा भारत र पाकिस्तानबीच हुँदैछ।

एथलेटिक्सअन्तर्गत आज बिहान ९ बजेबाट दशरथ रङ्‍शालामा १०० मिटर, ४०० मिटर, १५०० मिटर अन्तर्गत महिला र पुरुष दुवैतर्फको दौड हुनेछ। पुरुष र महिलातर्फ सटफुट खेल पनि हुनेछन्।

ब्याडमिन्टनतर्फ पुरुष र महिला सिङ्‍ल्स र डबल्स दुवै विधामा खेलहरू हुनेछन्। ब्याडमिन्टन खेलहरू पोखरास्थित ब्याडमिन्टन कभर्ड हलमा हुनेछन्। यी खेल बिहान १० बजेबाट सुरु हुनेछन्।

साइक्लिङ अन्तर्गत आजका खेलहरू बिहान ९ बजेबाट सुरू हुनेछन्। साइक्लिङका खेलहरू काठमाडौंको गोकर्णमा हुनेछन्।

गल्फतर्फ आज पुरुष र महिला दुवैतर्फ पहिलो राउन्डका खेल हुनेछन्। गल्फका सबै खेल गोकर्णमा हुनेछन्। गल्फका खेलहरू बिहान ९ बजेबाट सुरु हुनेछन्।

करातेका खेलहरू आज बिहान ९ बजेबाट ललितपुरको सातदोबाटोस्थित नेपाल कराते एकेडेमीमा सुरु हुनेछ। करातेतर्फ आज ६ वटा विधामा प्रतिस्पर्धा हुनेछ। कुमुते ६० केजी पुरुष, कुमुते ६७ केजी पुरुष, कुमुते ५५ केजी महिला, कुमुते ६१ केजी महिला, कुमुते ७५ केजी पुरुष र कुमुते ६८ केजी महिला तर्फका करातेका खेलहरू आज हुनेछन्।

खो–खोतर्फ आज महिला र पुरुष दुवैतर्फका सबै सेमिफाइनल खेलहरू हुनेछन्। खो–खोका सबै खेलहरू कीर्तिपुरमा हुनेछ। सुटिङअन्तर्गतका खेलहरू पनि आज हुनेछन्। सुटिङका खेलहरू सातदोबाटोमा हुनेछन्।

टेबलटेनिसअन्तर्गत आज २२ वटा खेल हुँदैछ। बिहान ९ बजेबाट सुरु हुने टेबलटेनिसका प्रतिस्पर्धा सबै लैनचौरस्थित टेबुल टेनिस हलमा हुनेछन्। पुरुष तथा महिलातर्फ सिङ्‍ल्स र डबल्स खेलहरू आज हुनेछन्। तेक्‍वान्दोअन्तर्गत विभिन्‍न तौल समूहका खेलहरू पनि आज सातदोबाटोस्थित तेक्‍वान्दो हलमा हुनेछन्।

टेनिसतर्फ आज पुरुष र महिलातर्फका सबै सेमिफाइनल खेलहरू हुनेछन्। सबै खेल सातदोबाटोमा हुनेछन्। टेनिसअन्तर्गत आज १२ वटा खेल हुनेछन्। ट्राइथलन अन्तर्गत महिला र पुरुष एकल प्रतिस्पर्धाहरू आज लेकसाइड पोखरामा हुनेछन्।

यसगरी उसुका ८ वटा खेल आजै हुँदैछ। उसुका यी सबै प्रतिस्पर्धा नेपाली सेनाको लगनखेलस्थित फिट्नेस सेन्टरमा हुनेछ।