एमसीसीले नेकपामा बबन्डर: सचिवालय बैठकमा के होला ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एमसीसीले नेकपामा बबन्डर: सचिवालय बैठकमा के होला ?



काठमाडौं- अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को बिषयले नेकपालाई फेरी विवादको उत्कर्ष लिने भएको छ ।

बजेटमै एमसीसी कार्यक्रम राखेको भन्दै नेताहरुबीच विवाद सुरु भएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार यहि बिषयमा कडा छलफल भएको स्रोतले बताएको छ ।

ओली-प्रचण्डबीच बजेटको समिक्षा, एमसीसी र संविधान संशोधनको ऐजेण्डाको बिषयमा छलफल भएको थियो । भेटमा अध्यक्ष प्रचण्डले पार्टीमा निर्णय नगरी एमसीसी बजेटमा राखिएको भन्दै असन्तुष्टि जनाएको स्रोतको दाबी छ ।

सरकारले बिहिबार संसदमा पेश गरेको बजेटमा अन्तरदेशीय प्रशारण लाइन निर्माणका लागी ३६ अर्ब २ करोड बजेट विनियोजना गरेको थियो । चोर बाटोबाट बजेटमा एमसीसी घुसाउन खोजेको भन्दै नेताहरु झलनाथ खनाल र भिम रावलले प्रधानमन्त्रीको आलोचना गरेका थिए ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको भेटपछि शनिबार आकस्मिक रूपमा सचिवालय बैठक बोलाउने निर्णय भएको छ । बैठकमा देशको पछिल्लो राजनीतिक अवस्थाको समिक्षा गर्नुका साथै एमसीसी र संविधान संशोधनको बारेमा समेत छलफल हुनेछ ।

नेकपाका प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले शनिबार साढे नौ बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिएका छन् ।

पार्टीभित्र एमसीसी परियोजना संसदबाट पारित गर्न नहुने आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले भने त्यसलाई अघि बढाउने तयारी गरेको स्रोतको दाबी छ । उनले पार्टीभित्रका बिरोधीहरुलाई तह लगाउन बाजेटमा उक्त कार्यक्रम समावेश गरेको बताइएको छ ।

नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा समेत प्रधानमन्त्री ओलीले एमसीसी चांडै संसदबाट अनुमोदन हुने बताएका थिए।