चर्चामा आलेको सातौं गियर : 'स्पीड ब्रेकर' तहसनहस ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चर्चामा आलेको सातौं गियर : ‘स्पीड ब्रेकर’ तहसनहस !



गत सालको पुस १० गते पहिलोपटक मन्त्री बन्दा प्रेम आलेको छबी विवादित थियो । प्रतिनिधि सभाको असंवैधानिक विघटनसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिस्तार गरेको मन्त्रिपरिषदमा आले वनमन्त्री बनेका थिए ।

त्यतिबेला उनको ‘टङ स्लिप’ पनि मिडियामा चर्चामा रह्यो । उनले कहिले सरकार सातौँ गियरमा कुँदेको बताउने गरे भने कहिले रुखले कार्बनडाइअक्साइड फाल्छ भन्दै सार्वजनिक भाषण गरे । तत्कालीन नेकपाको केपी ओली पक्षमा रहेरै मन्त्री खाएका आले समयान्तरमा माधवकुमार नेपालले एमाले विभाजन गरेर बनाएको नेकपा एकीकृत समाजवादीमा आए ।

प्रतिनिधि सभाको दोस्रो विघटनलाई पनि असंवैधानिक करार गर्दै सर्वोच्च अदालतले ओलीलाई पदच्यूत गरिदियो । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । दल विभाजनसम्बन्धी अध्यादेश ल्याइयो र एमाले विभाजन भयो । आलेलाई मन्त्री मोहले छोडेको थिएन ।

उनले आफू मन्त्री बन्नका लागि निरन्तर देउवासँग कुरा गरिरहे । माधव नेपालसँग उनको निकटता बढ्यो । उनी नयाँ दल नेकपा एसमा सामेल भए र पर्यटन मन्त्रालयको जिम्मेवारी पाए । जतिबेला एमाले विभाजनको संघारमा थियो, त्यतिबेला आलेले नेपाललाई ढाडस दिए । विभाजन गर्न उकासे । ओलीको ढाल बनेका भनिएका आलेले नेपाललाई साथ दिए ।

त्यतिबेलै आलेले नेपाललाई भनेका थिए, ‘म मन्त्री बने भने तपाई र प्रधानमन्त्रीलाई झुक्नुपर्ने काम गर्दिन ।’ यही सन्देश उनले देउवासमक्ष पनि पुर्याएका थिए । देउवाले नेपालसँग सल्लाह गरेर आउन सुझाव दिए । अन्ततः आले पर्यटनमन्त्री भए ।

मन्त्री भएको ४ महिनापछि आले फर्ममा आएका छन् । उनले ट्याक्सी महँगो भएको भन्दै एयरपोर्टमा शटल बस सेवा संचालन गरे । विवादित बतास समूहलाई दिइएको नारायणहिटी संग्राहलयको क्याफ्टेरियामा बनेका संरचना आफैं गएर भत्काए । बतास समूहले कानूनी छिद्र प्रयोग गरेर आफ्नो कब्जामा लिएको नारायणहिटी संग्राहलयको छानबिन गराए । उनी यतिमा मात्र रोकिएका छैनन् ।

पहिलोपटक मन्त्री बन्दा उनले भन्ने गरेको ‘सातौं गियर’मा आफैं कुद्न थालेका छन् । देशभरिका ऐतिहासिक र सार्वजनिक सम्पदालाई जोगाउन उनले ठूलै रिस्क लिएका छन् । यसैबीच उनले कोरोना संक्रमण फैलिएपछि विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने क्रममा उद्धार उडानमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न समिति गठन गरेका छन् ।

मन्त्री आलेले बिहीबार सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन् । समितिमा प्रेमनाथ ठाकुर र टेकनारायण पौडेल सदस्य रहेका छन् । समितिलाई १० दिनमा प्रतिवेदन दिन भनिएको समितिका एक सदस्यले जानकारी दिए ।

‘कोरोनाको पहिलो र दोस्रो संक्रमण लहरमा विदेशमा फसेका नेपालीलाई स्वदेश ल्याउनका लागि सरकारले उद्धार उडान गरेको थियो । त्यसमा नेपाल एयरलाइन्सका ६५ र हिमालय एयरलाइन्सले २ सय ३९ ‘चार्टर्ड फ्लाइट‘ गरेको थियो,’ मन्त्रालयका ती अधिकारीले भने, ‘त्यसको छानबिन गर्नका लागि समिति गठन भएको हो ।‘ समितिले शुक्रबारबाट छानबिन थाल्ने बताइएको छ ।

आलेले यत्तिकैमा रोकिने छाँट देखाएका छैनन् । ठूलो व्यापारिक घरानियाँ मानिएको बतास समूहले उनलाई मन्त्रीबाट हटाउने चेतावनी दिएको छ तर त्यसको परवाह आलेले गरेका छैनन् । बतास समूहबाट आले बिस्तारै यसअघिको सरकारका पालामा भएका भ्रष्टाचार र अनियमिततामा केन्द्रित भएका छन् ।

आलेलाई रोक्ने प्रयास विभिन्न ठाउँबाट नभएको होइन । उनलाई प्रधानमन्त्री देउवाले समेत सबै कुरा मिलाएर अघि बढ्न सुझाव दिएका छन् । तर उनले जहाँ अनियमितता छ, त्यहाँ आफूले हात हाल्ने र अनियमिततालाई नष्ट गर्ने अभियान नरोकिने जवाफ आलेले दिने गरेका छन् ।