आलोपालो तीन जना प्रधानमन्त्री बन्ने सहमति, पहिलो को भन्ने विवाद - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आलोपालो तीन जना प्रधानमन्त्री बन्ने सहमति, पहिलो को भन्ने विवाद



काठमाडौं । सत्तारूढ गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति यसअघि नै भइसकेको भए पनि पहिलो कार्यकाल को प्रधानमन्त्री बन्नेमा तीव्र विवाद देखिएको छ ।

निर्वाचनअघि नै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारको नेतृत्व (प्रधानमन्त्री) साढे दुई÷दुई वर्ष पाउने गरी सहमति गरेका थिए । प्रधानमन्त्री आलोपालो गर्ने सहमति भए पनि पहिले प्रधानमन्त्री को हुने भन्नेमा दुवै पार्टीबीच सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का बीचमा साढे दुई-दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति भइसकेको स्रोतको दाबी छ । तर, दुवै नेताले पहिला आफंै प्रधानमन्त्री हुनपाउनुपर्ने अडान राख्न थालेपछि समस्या भएको बताइएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशको सभामुख र उपसभामुुुखसहितका मुख्य पदमा भागबन्डा गरेर अगाडि बढ्नेमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहमत छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आन्तरिक समीक्षा एवं सरकार गठनको आन्तरिक गृहकार्यमा जुटेका राजनीतिक दलका नेताले निर्वाचनको परिणाम पूर्ण रूपमा आइसकेपछि सरकार प्रमुख पदमा भागबन्डा गरेर टुंगो लगाउने सहमति गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री : को पहिला भन्नेमा विवाद

आगामी सरकारको नेतृत्व गर्न देउवा र प्रचण्ड दुवैले आन्तरिक तयारी तीव्र पारेका छन् । सत्तारूढ गठबन्धनभित्रकै शीर्ष नेताका साथै गठबन्धन बाहिर रहेका साना दलका शीर्ष नेतासँग उनीहरूले छलफललाई तीव्रता दिएका छन् । देउवा र प्रचण्डले दिनहुँ त्यस्ता भेटघाट आफंै गर्नुका साथै आफ्ना विश्वासपात्र नेतामार्फत समेत छलफल चलाएका छन् ।

माओवादी केन्द्रको पदाधिकारी बैठकबाट सरकार निर्माणका लागि सबै राजनीतिक दलसँग छलफल गर्न खुला रहेको भन्दै निर्णय सार्वजनिक भएपछि गठबन्धनका नेता सशंकित भए । तर, निर्वाचनपश्चात् सोमबार पहिलोपटक बसेको सत्तारूढ गठबन्धनको बैठकले सत्तारूढकै नेतृत्वमा संघीय सरकार र प्रदेश सरकार गठन गर्नुपर्ने निष्कर्ष निकालेका थिए । सोहीअनुसार अब प्रमुख पदमा भागबन्डा मिलाउने काम भित्रभित्रै भइरहेको छ ।

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले एउटा गठबन्धनबाट चुनाव लड्ने र अर्कोतिर बसेर सरकार बनाउनु नैतिक रूपमा ठीक नभएको बताए । उनले सत्तामा गठबन्धनलाई निरन्तरता दिँदा प्रधानमन्त्री र मुख्यमन्त्रीमा आलोपालो हुने बताए । राष्ट्रपतिको हकमा जुन दलले पहिलो पालोमा प्रधानमन्त्री लिन्छ, राष्ट्रपति अर्को दलले पाउनुपर्ने उपमहासचिव बस्नेतले बताए ।

‘एउटा पार्टी नेतृत्वलाई गठबन्धनका अन्य पार्टीले निःसर्त, निर्विकल्प स्वीकार गर्दैनन् । किनकि, यो गठबन्धन हो । एउटै पार्टीभित्र त निर्विकल्प नेतृत्व मानेको छैन, कांग्रेसभित्रै मानेको छैन । सामान्य रूपमा हेर्दा एउटा पार्टी चुनावमा गयो, फर्किएर आयो । त्यहाँ लिडरसिपको विषयमा धेरै बार्गेनिङ नहुनुपर्ने हो । तर, त्यस्तो हुँदैन’ बस्नेतले भने, ‘आकांक्षी हुन्छन्, आकांक्षा राख्न पनि पाइयो । त्यसलाई निरुपण गर्ने निश्चित विधि हुन्छन्, त्यसअनुसार टुंगिन्छ । गठबन्धनभित्र पार्टीमा भन्दा अलि फरक विधि होलान् । छलफलको विधि होला । त्यसरी नै अगाडि बढ्छौं । तर, को प्रधानमन्त्री हुने वा नहुने भन्नेले गठबन्धन हुने र नहुने भन्ने निर्धारण गर्दैन, प्रभावित गर्दैन ।’

कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने निश्चित रहेको बताए । तर, सरकार गठन कस्तो हुने तथा नेतृत्वबारेमा उनले खुलाएनन् । ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ । त्यो सरकारले तपाईं हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन ? यसमा चुनौती छ,’ कोइरालाले भनेको सुभाष शाहले राजधानीमा लेखेका छन्।