आमाछोरीका कृति एउटै मञ्चबाट विमोचन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

आमाछोरीका कृति एउटै मञ्चबाट विमोचन



काठमाडौँ । ओरियन्टल पव्लिकेशनको आयोजनामा सर्जक उषा थपलिया र उनकी छोरी संविदा वाग्लेको छुट्टाछुट्टै पुस्तक एक कार्यक्रमवीच राजधानीमा विमोचन गरिएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका स्रष्टाहरूले आमा उषा थपलियाको पुस्तक ‘नारी ! तिमी हारेकी छैनौँ’ र छोरी संविदाको पुस्तक ‘नवपल्लव’ संयुक्त लोकार्पण गरेका हुन्। सोही कार्यक्रममा उषा थपलियाको शब्द र सङ्गीतमा आमा छोरीको युगल गायन रहेको गीत ‘तिमी पाएरै खुल्यो जिन्दगीको अर्थ….’ को भिडियो समेत लोकार्पण गरिएको छ ।

प्रमुख अतिथि नेता नेपालले आमा उषा थपलियाको प्रकाशित लेखहरूको सँगालो ‘नारी ! तिमी हारेकी छैनौँ’ र छोरी संविदा वाग्लेको सृजना ‘नवपल्लव’ नामक पुस्तकमार्फत सुन्दर समाज निर्माणमा उत्प्रेरणा जगाउने विश्वास जनाए ।

‘साहित्यले समाजमा रहेका विकृतिको आवाज उठाउनुपर्दछ, समाजमा तरङ्ग ल्याउनुपर्दछ जुन यी पुस्तकहरूबाट अवश्य पाइनेछ’, नेपालले भने।

कार्यक्रममा प्राध्यापक डा. गोविन्द भट्टराई, सहप्राध्यापक डा. शैलेन्दुप्रकाश नेपाल, साहित्यकार तथा नेपाल प्रज्ञा परिषद् प्राज्ञसभा सदस्य लक्ष्मी उप्रेती, कवयत्री, उपप्राध्यापक तथा प्राज्ञसभा सदस्य डा. गिता त्रिपाठी, उप प्राध्यापक ज्ञानु अधिकारी, एलआरआई स्कुलका फाउण्डर ट्रष्टी यशोधरा पन्त, ओरियन्टल पब्लिकेशनका अध्यक्ष हरि गौतम लगायतका स्रष्टाहरूले पुस्तकको समीक्षा गर्दै थपलियाले आजको युगका शिक्षित र सचेत महिलाको अनुभूतीलाई पुस्तकमा समेटेको बताएका छन् ।

प्रौढका लागि समेत उपयोगी सिर्जनाहरूमार्फत सानै उमेरमा आफ्नो लेखन क्षमतालाई सिर्जनात्मक ढ्रगले प्रस्तुत गरेकामा वक्ताहरूले संविदा वाग्लेको प्रशंसा गरे । दुवै पुस्तक ओरियन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । ओजपूर्ण लेखहरू मार्फत उषा थपलियाले नेपालका राष्ट्रिय दैनिकहरूमा स्थापित पहिचान बनाई सकेकी छन्, निजी अनुभूति, सामाजिक विषयवस्तुका निबन्ध तथा संस्मरण, नियात्रा, कथा लगायत अलग अलग विधाका पूर्व प्रकाशित २६ वटा लेखहरू उनको पुस्तकमा समाविष्ट छ ।

७ वर्षको उमेरदेखि लेख्न थालेकी उनकी १५ वर्षीया छोरी संविदा वाग्लेको पुस्तकभित्र पुर्वप्रकाशित ५३ वटा लेखहरू समावेश छन् । उनी एलआरआई स्कुलको कक्षा ११ मा पढिरहेकी छन् । म्युजिक भिडियो नाद स्टुडियोले तयार गरेको हो ।

भिडियो