आमाको किरिया बसेका बालिकालाई जुट्यो २ लाख १२ हजार - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

आमाको किरिया बसेका बालिकालाई जुट्यो २ लाख १२ हजार



हिमाल पोष्ट / काठमाडौँ, मंसिर २१ । आर्थिक अभावकै कारण उपचार नपाएर आमाको निधन भएपछि किरिया बसेका दुई जना बालिकाको शिक्षाका लागि आर्थिक सहयोग जुटेको छ । गुल्मीको पूर्कोट दह गाविस–१ जुम्लीचौरका १३ वर्षीया संगीता र एघार वर्षीया रमिता किरिया बसेका थिए । उनी दुईको पठन पाठन गराउन देश– विदेशबाट २ लाख १२ हजार रुपैयाँ सहयोग संकलन भएको हो ।

ती बालिकाकी अामा ३६ वर्षकी दुर्गाकुमारी भुसालको कमजोर आर्थिक अवस्थाका कारण बेलैमा उपचार नपाएर मंसिर तीन गते मृत्यू भएपछि उनीहरु किरिया बसेका थिए ।

गुल्मीको जोहाङका विष्णु भण्डारीले चीनको ग्वाञ्झाओबाट नेपाली समूदायसँग उठाएर पठाएको १ लाख ८३ हजार र गुल्मीको सिर्सेनीका सुशील भट्टराईले काठमाड मा संकलन गरेको २९ हजार रुपैयाँ ती दुई बालिकालाई सहयोग गरिएको हो । संकलित रकम मंगलवार काठमाण्डौमा एक समारोहकाबीच गुल्मी क्षेत्र नंबर ३ का सांसद गोकर्ण बिष्टले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरलाई हस्तान्तरण गरे ।

कुँवर बालिकाका छिमेकी पनि हुन् । ती बालिकाको शिक्षाका लागि सुशील अर्याल, सूर्यकिरण कुँवर, लिला खरेल, बोमबहादुर थापा, कृष्णहरि बरालले जनही पाँच हजार रुपैयाँ दिएको सहयोगको संयोजन गरेका पत्रकार मदन खनालले जानकारी दिए ।

कार्यक्रममा सांसद गोकर्ण बिष्टले बालिकालाई पठन पाठनको व्यवस्था मिलाउने घोषणा गरे । आमाको कमजोर आर्थिक अवस्थाका कारण बालिकाहरुको पढाईमा बाधा पुग्ने देखिएपछि सहयोग अभियान चलाईएको थियो । बालिकाका पिता दुर्गा भुसाल बेरोजगार छन भने अरु दुई बहिनी पनि साना छन । कात्तिक २० गते जन्मिएकी बालिकाको स्थानीय विश्व भुसालले जिम्मा लिइसकेका छन ।