आस्था राउतलाई एक महिला प्रहरीको चिट्ठी - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

आस्था राउतलाई एक महिला प्रहरीको चिट्ठी



लेखक- हेमन्त गिरी

बैनी,
गाह्रो छ- तिमीलाई पनि हामीलाई पनि !

तिमीले मलाई ‘डन्ठिनी’ भन्यौ, हेर त, तिमीलाई ‘डंकिनी’ भन्ने अर्को जमात तयार भइसक्यो !
गाह्रो छ नि बैनी- सबथोक सहन अनि सबथोक झेल्न !

थाहा छ बैनी ? तिमी स्टेज चढिरहेको बेला उन्मत्त भिड सम्हाल्ने केही ‘डन्ठिनी’ हरू तिमी सँग फोटो मात्र खिच्न पाए आफ्नो जीवनको एक हिस्सा सफल भएको महसुस गर्छन् !

हाम्रो विभागीय संरचना नै अलि निर्मम छ- हाकिमहरूले आफू भन्दा तल्लालाई तपाई भनेर विरलै बोल्छन् ! अझ हामी महिलाहरूलाई त झनै हेप्छन् ! त्यसको प्रभाव धेरै थोरै ममा पनि होला । आवेगमा त्यो प्रभावको प्रादुर्भाव तिमी माथि पर्न गयो होला !

तर

तिमी त देशका गीत गाउने,चेलीका गीत गाउने,गुन्यू चोलीका गीत गाउने र मनोरञ्जन जगतकै प्रतिष्ठित कुर्सी सम्हालेको दाबी गर्ने शिक्षित,सभ्य र सहरिया घरानाकी नारी, तिमीले लगातार दश मिनेट आफ्नो ‘आपा’ हराउनु चाहिँ हुँदैनथ्यो बैनी !

सोंच त तिमी र म दुवै छोरी हौँ । दुवै आमा पनि हौँ । आमाले जे सिकायो सन्तानले त्यही सिक्ने हो । हेर त- तिमीले बोलेका शब्दमा तिमीले माफी मागिसक्दा पनि एउटा ठुलो जमातले ‘डन्ठिनी’ लाई ठिकै गर्‍यौ भनिरहेका छन् ! के सिक्यो जगतले ?!

आस्था हरायो भने संसार रहँदैन,सम्बन्ध रहँदैन,संरचना रहँदैन ! र त्यो आस्था पद,पैसा र प्रतिष्ठा सँग जोडिनु हुँदैन । आजका प्यूसाहरू भोलि ढाडी हुन्छन् । आजका प्यूपाहरू भोलि पुतली बन्छन् । समय सधैँ एकै व्यक्तिको मुट्ठीमा अडिँदैन बैनी ! अहङ्कारले अँध्यारो तर्फ लैजान्छ !

म अझै पनि तिम्रो पहराको लागि खटिनेछु- भिड तिम्रो पछि लागोस्, सफलताले तिमीलाई पछ्याओस् म सुस्तरी तिम्रो खुसीको कामना गरिरहनेछु । मात्र म प्रतिको दृष्टिकोण तिमीले बदलिदिनू, ताकि तिमी प्रति म फेरि एउटा दरिलो आस्था उमार्न सकूँ !!