गठबन्धनभित्रै उपराष्ट्रपति बन्ने हानथाप - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गठबन्धनभित्रै उपराष्ट्रपति बन्ने हानथाप



काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्दै छ । उपराष्ट्रपति चयन गर्न ३ चैतमा निर्वाचन हुँदै छ ।

आयोगले उपराष्ट्रपति पदको उम्मेदवारी दर्ताका लागि आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरेको हो । सो समयभित्र संसद् भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

उपराष्ट्रपति पदका लागि शुक्रबार साँझसम्म सत्ता गठबन्धनबाट तीन जनाको दाबी देखिएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिने सहमति भए पनि जसपासहितका तीन दलले दाबी गरेका हुन् ।

जसपाले बिहीबार नै पार्टीको संसदीय दलका नेतासमेत रहेका रामसहाय यादवलाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, शुक्रबार सत्ता गठबन्धनमा नै रहेका अन्य दुई दल नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले पनि उपराष्ट्रपतिमा आफ्नो दाबी अघि सारेका हुन् ।

उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अघि सार्ने तयारी गरेको भए पनि उनको उमेरका कारण उनलाई उपराष्ट्रपति पदमा उम्मेदवार बन्न सहज छैन । उपराष्ट्रपति बन्न ४५ वर्ष उमेर पूरा हुनुपर्छ । जनमत पार्टीले भने शुक्रबार नै ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपा एमालेले भने उम्मेदवारको टुंगो लगाएको छैन । एमालेले पार्टीको सचिवालय बैठकबाट आज उम्मेदवार तय गर्दै छ ।

जसपा नेताहरू भने गठबन्धन आबद्ध दलबीचमा नै जसपालाई उपराष्ट्रपति दिने सहमति बनिसकेको दाबी गर्छन् । जसपा प्रवक्ता मनीष सुमनले मुख्य राजनीतिक दलका बीचमा जसपालाई उपराष्ट्रपति दिने सहमति गठबन्धन बन्दा नै भएको दाबी गरे ।

निर्वाचन आयोगले भने संविधानमा फरक फरक लिंग वा समुदायका व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्ने व्यवस्था गरेको भन्दै सोहीनुसार हुने बताएको छ । आयोगले राष्ट्रपति पुरुष भइसकेका कारण महिलालाई उपराष्ट्रपति बनाउनुपर्ने आसयसहित शुक्रबार विज्ञप्ति नै जारी गरेको थियो । आयोगको विज्ञप्तिपछि गठबन्धन आबद्ध दलहरू दबाबमा परेका छन् ।

नेपालको संविधान २०७२ को धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग वा समुदायको हुने’ व्यवस्था उल्लेख छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ ९५० मा उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सोभन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने उल्लेख छ ।

२५ फागुनमा भएको निर्वाचनबाट राष्ट्रपति पदमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । आयोगले ‘उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिंग ९पुरुष० वा समुदाय ९खस आर्य० भन्दा फरक लिंग ९महिला वा अन्य० वा फरक समुदाय ९दलित, आदिवासी जनजाति, मधेसी, थारू वा मुस्लिम० को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ ।’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।