अब्दुस मियाँ समूहमाथि आक्रमण गर्ने एमालेकै कार्यकर्ता भएको खुलासा - Himal Post Himal Post
  • २३ मंसिर २०७९, शुक्रबार
  •      Fri Dec 9 2022

अब्दुस मियाँ समूहमाथि आक्रमण गर्ने एमालेकै कार्यकर्ता भएको खुलासा



काठमाडौं– नेकपा एमाले गोरखाका उम्मेदवार अब्दुस मियाँ समूहमाथि आक्रमण गर्ने एमालेकै कार्यकर्ता भएको खुलेको छ । उक्त आक्रमणमा हरि काफ्ले घाइते भएका थिए ।

गोरखाको च्याङ्लीमा आईतबार मध्यराती भएको आक्रमण एमालेकै कार्यकर्ताले गरेको खुलेको हो । पालुङटार नगरपालिका ६ मा पर्ने च्याङ्लीस्थित म्याङ्गो होटलमा आइतबार राति खाना खाने क्रममा एमालेकै कार्यकर्ताबीच विवाद हुँदा एमाले गण्डकी प्रदेश कमिटी सदस्य काफ्ले घाइते भएका छन्।

एमालेकै कार्यकर्ताबीच भएको विवादलाई एमालेमा उम्मेदवार मियाले भने तिरञ्जित गरी माओवादीका कार्यकर्ताले आक्रमण गरेको भन्दै प्रचार गरेपछि आक्रमण गर्ने युवाहरू एमालेकै कार्यकर्ता भएको खुलेको हो ।

काफ्लेमाथि आक्रमण गर्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू तनहुँको भएको र उनीहरू एमालेकै कार्यकर्ता भएको बुझिएको उनले बताए। काफ्लेको टाउकोमा चोट लागेको छ। उनलाई डुम्रेस्थित स्वास्थ्य संस्थामा उपचार गरिएको छ।

प्रहरीले राम सापकोटा र अजित क्षेत्रीलाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। सापकोटा युवा संघ भानु नगरका अध्यक्ष र क्षेत्री युवा संघ नेता भएको प्रहरी स्रोतको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका काफ्ले एमालेबाट गोरखा २ मा प्रतिनिधि सभा उम्मेदवार रहेका अब्दुस मियाँको चुनावी कार्यक्रममा सहभागी हुँदै आएका थिए।