अभागी वामदेव: पार्टीले दुई पटक निर्णय गर्दापनि सांसद बन्न पाएनन् - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

अभागी वामदेव: पार्टीले दुई पटक निर्णय गर्दापनि सांसद बन्न पाएनन्



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने सचिवालयको निर्णय कार्यन्वयन नगर्न स्थायी कमिटीमा छलफलको बिषय बन्ने भएको छ । जनस्तरबाट विरोध भएको भन्दै सचिवालयको निर्णय पुनर्विचार गर्ने विषय बैठकमा छलफल हुने भएको हो ।

भदौ २६ गते बस्ने स्थायी कमिटी बैठकमा गौतमलाई राष्ट्रियसभामा लाने निर्णयको पुनर्विचार गर्न सदस्यहरुले माग गर्ने भएका छन्। जनस्तरबाटै त्यस निर्णयप्रति विरोध हुन थालेपछि स्थायी कमिटी सदस्यहरुले सचिवालयको निर्णय सच्चाउन नेतृत्वको ध्यानाकर्षण गराउने तयारी गरेका हुन्।

नेकपाका एक स्थायी कमिटी सदस्यले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने सचिवालयको निर्णयको जनस्तरबाटै विरोध भएकाले आगामी बैठकमा त्यस विषयमा प्रमुखताका साथ छलफल हुने बताएका छन् ।

अर्का एक नेकपाकै नेताले राष्ट्रियसभाको गरिमा भत्काउने काम बारम्बार भइरहेकोले त्यसबारे स्थायी समिति बैठकमा प्रश्न गर्ने बताए । राष्ट्रियसभामा उपाध्यक्ष गौतमको आवश्यकता र औचित्यबारेमा पनि छलफल हुने उनको भनाई छ।

अहिले पार्टी सचिवालयको उक्त निर्णयको सर्वत्र विरोध भैरहेको छ । जनताले हराएर पठाएका विभिन्न नेताहरूलाई पार्टीले स्थान दिएको भन्दै वामदेव प्रकरणमा नेकपाभित्रै पनि विवाद चर्किएको छ ।

राष्ट्रिय सभा लोकतन्त्रको गरिमा बढाउनका लागि भएकाले त्यसको गरिमा भत्काउने काम गर्न कसैलाई अधिकार नभएको समेत नेकपाकै नेताहरूले आवाज उठाएका छन् । उनले भनिन्। ओलीनिकट स्थायी कमिटी सदस्यहरुले पनि गौतमको नियुक्तिको विपक्षमा आवाज उठाउने तयारी गरेका छन्।

ओलीलाई दबाब दिएर गौतमलाई सिफारिस गरेकाले उनीहरुले त्यसको प्रतिरोध गर्ने तयारी गरेको स्रोतको दाबी छ। ओली निकट एक स्थायी कमिटी सदस्यले कार्यदलको प्रतिवेदनभन्दा बाहिर रहेर पार्टीभित्र नयाँ अन्तरविरोध सिर्जना गर्ने प्रयत्न भएकाले त्यसका विषयमा बैठकमा प्रश्न उठ्ने बताए।

गत साता बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रियसभामा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको थियो। अध्यक्ष ओलीले युवराज खतिवडालाई दोहोर्‍याउन चाहेका थिए। बहमुत सचिवालय सदस्यले गत फागुन १४ गतेको निर्णय कार्यान्वयन गर्नुपर्ने दबाब दिएपछि ओली लचिलो बन्न बाध्य भएका थिए।