साँच्चै म अभागी हुँ ! « Himal Post | Online News Revolution
Logo

साँच्चै म अभागी हुँ !



-दीपक घिमिरे

लकडाउन भनेर पुरै बन्द छैन, तर हामी घर भित्रै छौ । बजार खुल्ला छ, काम गर्नेहरू गरेकै छन् । बाटोमा उस्तै गाडीहरू कुदेकै छन् । सपिङ सेन्टरहरूमा भिडभाड उस्तै छ ।

दैनिक न्युजहरूमा अमेरिकामा मर्नेहरूको ठुलो सङ्ख्या आइरहन्छ । यता हामी आत्तिनु स्वभावीकै हो, उता घरमा झन् पिडाले पिरोलिन्छन् ।

अस्ति बा लाई भिडियो कल गरेँ, बाले मेरो अनुहार पढ्नुभयो सायद अनि भन्नू भो “तनाव नलिएस् !”

लिँदैन भनेर छोटो उत्तर दिए पनि मनभरी पीडा बाले बुझिसक्नु भएको थियो । कोरोनाको महामारीमा बसेको छोरोलाई सम्झेर बा आमा पनि आत्तिनु हुन्छ तर मलाई सान्त्वना दिन आफूहरू हिम्मती देखिनुहुन्छ ।

आमाले हालखबर सोध्दै गर्दा बा ले फोन खोस्नु हुन्छ अनि भन्नू हुन्छ “हामी नेपाली कोरोनासँग डराउनु हुँदैन, आत्मबलले धेरै रोगलाई जितिन्छ, आत्तिने काम नगरेस् ।”

मैले फोन राखौँ भन्नै पर्दैन, बाले उतैबाट काटिहाल्नु हुन्छ । कारण पिडाले हिक्का छुट्छ होला, म सजिलै बुझ्छु ।

छोरो आजभोलि खास्सै फोनमा बोल्न मन गर्दैन । भिडियो कल उ आफै गर्छ, हेर्छ अनि पिसाब लागेको या अरू कुनै बहाना गरेर मम्मीलाई फोन जिम्मा लगाएर भाग्छ । म उ सँग जिस्किन, बोल्न खोज्छु, उ अनेकौँ बहाना गरेर भागिहाल्छ ।

“छोरो किन मसँग बोल्न मन गर्दैन ?” म यो प्रश्न बुढीलाई हरेक दिन सोध्छु ।

उ निराश हुँदै भन्छे “तपाईँ को अनुहार हेरेर उ एकान्तमा जान्छ अनि घोरिएर बस्छ । केही सोध्यो भने रिसाउँछ या रुन्छ ।”

बुढीले यति भन्दैगर्दा आँखा रसिला गराउँछे, म मेरा आँसु लुकाउन हत्केलाले आँखा पुछ्न थाल्छु । मलाई परिवारको मायाले सताउँछ, परिवारलाई मेरो मायाले सताउँछ ।

म्यासेन्जरमा घण्टौँ गफिँदा पनि नथाक्ने छोरो अनुहार हेरेरै भाग्छ, बा आफ्नो अवस्था सुनाउनु भन्दा मेरो अवस्था सुनेर अर्ती अनि हिम्मत दिन तिर लाग्नुहुन्छ । आमा गाउँघरमा सुनेका अमेरिकाका खबरले विक्षिप्त भएर बोल्ने आँट गर्नुहुन्न ।

भाइहरू पनि उस्तै तनावमा छन् । घर बस्दा बस्दा बोर लाग्यो भनेर अस्ति मैले भन्दा भाइले भन्यो “थपक्क लागेर बस, बाहिर निस्कने होइन ।”

कोरोनाको कहरले परिवार भित्रको पीडा यति बेला महसुस गर्दैछु । परदेशी हुँदा खास्सै पिडाबोध नगरेको मेरो मन कोरोना कहरबिच एक्लो बस्नुपर्दा महसुस गरेको छु ।

खानु, रमाउनु एकातिर छ, परिवार प्रतिको माया अर्को तिर । तिनै खाना हिजो वाह भन्दै खाइन्थ्यो, आजभोलि तिनै खाना छ्या भन्दै खान थालिएको छ । मन खुसी भए पो खाना पनि छिर्दो रहेछ ।

जीवनमा खास्सै लोभ गरिएन । र आज पनि त्यो लोभ छैन । हैसियत बनाउनु पर्छ भन्ने आफ्नै सोच थियो तर लोभ गरेर धनी बन्न मन छैन । त्यही सोचले गर्दा होला, कोरोनाले अमेरिकामा प्रवेश गर्दैगर्दा काम छाडियो । अमेरिका पुरै काममा व्यस्त हुँदा हामी एउटा घरभित्रका साथीहरू काम छाडेर घर भित्रै बस्न थाल्यौ ।

काम नछाडेका साथीहरू भन्थे “डराउनु पर्दैन, काम गर्न नछाड्नुहोस् ।”

तर हाम्रो घरभित्र बस्ने पाँच जनामा एकता भयो, सबैले काम छाडेरै बस्यौँ । घर खर्च बाहेक गाडी खर्च, मोबाइल खर्च इन्स्योरेन्स गरेर प्रतिव्यक्ति लगभग हजार डलर मासिक खर्च आउँछ तर पनि हिम्मत गर्‍यौ । दुई दिन मन शान्त भयो, खुसी भयौँ तर, दिनहुँ बढ्दो सङ्क्रमितले गर्दा तनाव कम हुन सकेन, बरु तनाव बढ्न थाल्यो ।

दुई महिना अघि दैनिक आठ/दस हजार भेटिने सङ्क्रमितको सङ्ख्या बढेर आजभोलि दैनिक पैँतिस हजारमा पुगेको छ । मर्नेको सङ्ख्या दैनिक पाँच सय बाट बढेर पच्चिस सय पुगेको छ । यस्तो बेला हामीलाई कस्तो भएको होला ?

रिस डाहा गर्नेहरू पनि छन् । अस्ति एक जना साथीले म्यासेन्जरमा म्यासेज गरेर हाँसो मजाकमै भन्दिए “चोक्टा खान गएको थिइस् नि है !”

खिस्स हाँसेको इमो पठाउनु बाहेक केही उत्तर थिएन । उनले फेरि लेखे “डोनाल्ड ट्रम्पले सबैलाई खेददै छ रे, फर्किने त होलास् नि है ?”

त्यसमै पनि हाँसेको इमो रिप्लाई पटाइदिएँ अनि उनको म्यासेज सिन गर्नै छाडिदिएँ । पिडामा मल्हम लगाउन सक्दैनौ भने पनि नुन/खुर्सानी चैँ नदल्नुपर्ने उनले । सायद अरूको पिडामा हाँस्ने बानी छ उनको । समाजमा त्यस्ता मान्छे पनि हुन्छन् भनेर चित्त बुझाउनु बाहेक अरू उपाय हुँदैन ।

घरमा खुसी छु भनेर देखाउन हामी परदेशीहरू जहिल्यै आतुर हुन्छौ । मनको पीडा भनेकै घरको याद हो । बा आमा, श्रीमती, सन्तान, भाइ बहिनीकै यादले सताइरहन्छ । यस्तो बेला मन भक्कानिनु सामान्य नै हो तर पनि हाँसेर बोल्दा संसार जितेको महसुस गरिन्छ ।

“बिहान उठेर योगा गरेस्, तातोपानी खाईरहेस, बाहिर ननिस्केस् !” यी बा का अर्ती उपदेश हुन ।

यी अर्ती उपदेशले म सुरक्षित रहुँला, तर उता मेरा बा आमा, छोरो, श्रीमती अनि भाइ/बुहारीहरू कुन हालतमा छन् ? यो तनावले म सुरक्षित हुन सकेको छैन ।

थाहा छ सबै सकुशल हुनुहुन्छ, तर पनि तनाव अनेक हुन्छन् परदेशमा !

सामान्य ज्वरोलाई नटेर्ने मेरा बा, “जिउने मर्ने भगवानको हातमा हुन्छ” भन्ने मेरी आमा अनि “ह्या ! क्यै नि हुँदैन” भन्दै बस्ने मेरो भाइ बिरामी भएको खबर सुन्न नपरोस् भन्दै तनाव लागिरहन्छ । फोनमा बोल्नै नखोज्ने सन्तानहरूको माया त झन् यहाँ लेखेर साध्य नै छैन ।

“के खानु भो ? कति खानु भो ? किन नसुत्या ? कति अबेर सम्म सुत्या ? किन मोटाको ?” यस्ता प्रश्न बुढीबाट सुनिने सामान्य प्रश्न हुन । उसलाई मेरो चिन्ता छ । उ आफूहरू सुरक्षित भएको सुनाइरहन्छे, तर म असुरक्षित भएकोमा पिडाबोध गरेर बस्छे ।

“काममा नजानु, बाहिर ननिस्कनु है !” उसको यो सधैँको आग्रह हो । उ धेरै कुरा गर्न मान्दिन, मात्र अर्ती उपदेश अनि आग्रहमै कुरा सकिन्छ । यस्तो बेला परिवारभन्दा टाढा हुँदाको पीडा नराम्रो सँग महसुस हुन्छ ।

परदेश आफैमा पिडाले भरिएको ठाउँ हो । झन् कोरोना महामारीले गर्दा लाखौँले ज्यान गुमाइरहेका छन् । यस्तोबेला घर/परिवार सँगै बस्न नपाउनेहरू साँचिकै अभागी हुन । आज सोच्दैछु, म पनि एउटा अभागी नै रहेछु । जोसँग सबै छ तर सँगै केही छैन ।