अविवाहित महिला विदेश नआएकै राम्रो (सत्यघटना) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अविवाहित महिला विदेश नआएकै राम्रो (सत्यघटना)



भूमिराज पराजुली

घरमा बुबाआमा र दाजु भाइहरु पनि छन् । भर्खरै उमेरले २० लाग्दैछ । पढाइ पनि पूरा भैसकेको छैन । घरजम गर्ने बेला पनि हुँदैछ । घरको गर्जो टार्ने बुबा र दाजुहरु छँदैछन् । यस्तो अवस्थामा घरकी छोरी पराई भूमिमा काम गर्न जान्छु भन्ने सोच बनाउनु कसैको कर होइन रहर हो ।

पहिला गाउँमा बसेकालाई शहर बस्न रहर लागे जस्तै अहिले बिदेशमा काम गर्ने रहर मौलाएको छ । ‘के हामी महिला चाहिँ सधैं घरको चुलो चौको मात्र रुँगरिहने ?’ भन्ने साहसले पनि अविवाहित नेपाली महिला विदेशी भूमीमा पुगेका छन् ।

दुई वर्षअघि सिन्धुपाल्चोबाट रोजगारीका लागि मलेसिया आएकी धना तामाङ (नाम परिवर्तन) भन्नुहुन्छ ‘घरमा आमा, बुबा र एक बहिनी हुनुहुन्छ । दादा चाहिँ दुवई जानुभएको ४ वर्ष भयो । गाउँका अरु दिदीहरु पनि विदेश गएको देखें अनि मलाई पनि विदेश कस्तो हँुदोरहेछ भनी हेर्न मन लाग्यो र बुबालाई फकाएर आएको आएको हुँ ।’

उहाँले बेलाबेला घरमा पैसा पठाइदिने पनि गर्नुहुन्छ ।  स्वदेश फकेर आफ्नै लगानीमा कस्मेटिक पसल खोल्ने उहाँको योजना छ । तामाङका कुरा सुन्दा पनि थाहा हुन्छ कि अविवाहित महिला करले भन्दा पनि रहरले बढि बिदेशिने गरेका छन् । कतिको बिदेश बसाई राम्रो भएको छ भने कतिको चाहिँ नर्क जस्तै बनेको छ ।

नेपालमै घरजम गर्ने बेला भैसेकेकाहरु बिदेश आइपुगेपछि सँगै काम गर्ने पुरुषसँग प्रेम बस्छ । यसरी बसेको प्रेम कतिको सफल भएको छ भने कतिको असफल ।  यस्तै असफल प्रेममा परेर अलपत्र पर्नेमध्ये एक हुनुहुन्छ, रीता प्रसाईं (नाम परिर्वतन) । उहाँ धरानबाट रोजगारीका मलेशिया आईपुगेको अढाई वर्ष भएछ ।

उहासँगै काम गर्ने एकजना साथीले भने, ‘रीता हेर्दामा साँच्चै राम्री छिन् । चञ्चले उसको व्यवहारले सबैलाई लट्ठ बनाइदिन्छ । गोरखाका एकजना भण्डारी दाजु यसरी नै लट्ठ परे । उनीहरु धेरै मिल्थे । तर भण्डारी दाइको घर जाने बेला हुन लागेपछि उनीहरुबीच फाटो चलेछ । मलेशियामा हुँदासम्म श्रीमान–श्रीमती जस्तै थिए । अहिले भण्डारी दाइ घर गएको दुई महिना बितिसक्दा एककल फोन समेत नआउँदा रीताका आँखा ओभाना देखिएका छैनन् ।’

साथीहरुका अनुसार उनीहरुबीच नेपाल फर्केर विवाह गर्ने वाचा समेत भएको थियो । रीताको घरमा बुबाआमा दिदी र दुईजना दाजु रहेको बुझिएको छ । स्रोतका अनुसार जेठो दाइ रोजगारीका लागि ३ वर्षदेखि साउदी अरबमा छन् ।  यसबाट प्रस्ट हुन्छ कि रीतालाई पनि बैदेशिक रोजगार बाध्यता भन्दा पनि कौतुहलता र रहर हो ।

यसरी रहरले विदेशिएका धेरै नेपाली महिलाहरुको अवस्था साँच्चै मर्मस्पर्शी बन्दै गएको छ । आफ्नो कलकलाउँदो यौवन र बैँश बिदेशमै लुटाएर फर्कनुपर्ने एकातिरको समस्या छ भने अर्कातिर कसैको भर र विश्वासमा परेर सम्पूर्ण जीवन अप्ठेरो मोडतर्फ धकेलिरहेको छ । त्यसैले आफ्नो घरको पारिवारिक पृष्ठभूमि राम्रै छ भने अविवाहित महिलाले रोजगारीका लागि बिदेश नताकेकै राम्रो ।

– उज्यालो अनलाइन