म अनुहार देखाउन रुचाउँदिन:अच्युत घिमिरे ‘बुलबुल ‘ « Himal Post | Online News Revolution
Logo

म अनुहार देखाउन रुचाउँदिन:अच्युत घिमिरे ‘बुलबुल ‘



अच्युत घिमिरे मीठो बोल्छन्।सुन्नेहरुलाई  मात्रै थाहा छ , आवाज मात्रै मीठो होइन, उनको स्वभाव पनि उस्तै मिलनसार छ। उनी व्यापक सुनिन्छन् तर हतपति भेटिँदैनन्। भीडमा, अपरिचित समूहका बिच आफूलाई चिनाउन चाहँदैनन्। त्यसैले टिभीमा देखिन खोज्दैनन्, पत्रिकामा तस्बिर छाप्न मन पराउँदैनन्। तर,उनलाई ठुलो भीडले चिन्छ, उनको वाचन कौशलमार्फत। उनले उद्घोषण गर्ने ‘बुलबुल’ र ‘श्रुति संवेग’ जस्ता कार्यक्रम लोकप्रिय छन्। वि.सं. २०५६ को मङ्सिरदेखि देखि रेडियो यात्रा सुरु गरेका उनी अहिले उज्यालो नेटवर्कमा कार्यरत छन्। उनै अच्युत घिमिरेसँग हिमाल पोष्टका लागि हाम्रा सम्बाददाता दिपक पाण्डेले गरेको भलाकुसारी जस्ता को तस्तै ।

स्वागत छ हिमाल पोष्ट  डट कममा।

धन्यवाद ।

रेडियोको दुनियाँमा रमाउन लागेको कत्ती भयो ?

जहिलेदेखि काम सुरु गरियो, त्यही बेलादेखि रमाउने गरेको छु , वि.सं. २०५६ को मङ्सिरदेखि हो ।

अच्युत घिमिरेलाई श्रोताले आरोप लगाउने गरेका छन नि ! आफूलाई देखाउन चाहदैन भन्ने  के यो सत्य हो ?

मैंले नभएको कुरा भन्नुभो भनेको भए पो आरोप लगाउनु । यो आरोप नै हैन सत्य हो । म अनुहार देखाउन रुचाउँदिन । आफ्नो परिचय आवाजबाट मात्रै स्थापित होस् भन्ने मेरो रहर हो ।

आफूलाई देखाउन नचाहानुको कारण के होला  ?

त्यस्तो ठोस कारण केही छैन । उपन्यास वा गजल वाचन गरेको आवाज मन पराउनेहरुले आ-आफ्नो विचारले मेरो जस्तो अनुहार होला भन्ने कल्पना गर्नुहुन्छ, त्यही कल्पनामा जीवित रहन सकौं भन्ने उद्देश्यले हो । अर्को कुरा जेमा काम गरिन्छ, त्यसै अनुरूपको परिचय रहोस् भन्ने पनि हो । रेडियोमा श्रव्य माध्यमबाट प्रस्तुत भइन्छ भने श्रव्य परिचय नै पर्याप्त हुन्छ जस्तो मलाई लाग्छ ।

तपाईँ एउटा चर्चित प्रस्तोता हो तर राजनीतिक टिकाटिपण्णी खासै गरेको पाइदैन नि किन ? राजनीति मन पर्दैन हो ?

खासै मन त पर्दैन तर मन नपरेर पनि अछुतो रहन सकिन्न राजनीतिबाट ।आफ्नो पेसा नै सञ्चारकर्मी भएपछि सकेसम्म कुन पार्टीको भनेर नचिनिनुमै पेशागत मर्यादा जोगिरहन्छ भन्ने मेरो बुझाई हो । अब यस्ता कुरामा धेरै लेख्यो भने एक्लो वृहस्पति झुठो भन्ने जस्तो होला भन्ने पनि डर लाग्छ । मलाई सञ्चारकर्मीहरुले सङ्गठन खोलेको र त्यसमा खुलेर देखापरेको पटक्कै मन पर्दैन । नागरिक भएको हिसाबले हामीले निर्वाचनका बेला आफूलाई चित्त बुझेको व्यक्ति वा पार्टीलाई मत खसाल्ने हो त्यो भन्दा अरू केही कुरामा पनि राजनीतिक भएर देखापर्नु राम्रो हैन । पेशागत धर्म ठुलो कुरा हो । राजनीतिक दलबाट निरपेक्ष भएर राजनीतिमा चासो राख्छु म ।

तपाईँ आवाजले नै यति लोकप्रिय हुन्छु भन्ने पहिले लागेको थियो ?

यति भनेको कति हो र ? लोकप्रियताले मान्छे कहिल्यै अघाउँदैन । मलाई यति सानो देशको यति सानो क्षेत्रमा हामीले लोकप्रियताको कति गर्व गर्ने होला र जस्तो लाग्छ । तर तपाईँले सोध्नुभएको कुराको सामान्य उत्तर चाहिँ यो हो कि म यसरी रेडियोमा बोलेर चिनिन सक्छु जस्तो पहिले लागेको थिएन । साहित्यिक वृत्तका केही मानिसहरू माझ चिनिन्छु । खुसी लाग्छ ।

तपाईँ आफू यसरी लोकप्रिय हुनुमा श्रय कस्लाई दिनुहुन्छ ?

आफ्नो कर्म, मिहिनेत र ईश्वरलाई । अवश्य पनि आफूले काम गरेको रेडियोलाई । यो माध्यम थिएन भने मेरो आवाजलाई जनमानससम्म पुर्‍याउन सक्दिन थिएँ ।

यदि रेडियो प्रस्तोता नभएको भए के हुन्थे होला जस्तो लाग्छ ?

उद्देश्य त इञ्जिनियर हुने भन्ने थियो ।

अहिले रेडियो प्रस्तोताहरूमा विकृति आएको छ भनिन्छ नि के मान्नुहुन्छ तपाईँ ?

रेडियो प्रस्तोतामा विकृति आएको भन्ने त मलाई लाग्दैन । बरु रेडियोका सञ्चालक वा लगानीकर्ताहरुले रेडियो नबुझी खोलिदिनाले र राम्रो व्यवस्थापन गरिदिन नसकेकाले सङ्ख्या धेरै भए । त्यसपछि जो पनि प्रस्तोता हुन थाल्यो । तिनलाई नियमन गर्ने निकायहरू सक्रिय हुन सकेनन् ।

रेडियो प्रस्तोता हुनुमा आवाज बाहेक अरू के गुण हुनुपर्छ जस्तो लाग्छ ?

आवाज दोस्रो कुरा हो । पहिलो कुरा अवसर चाहिन्छ । मेरो अर्थ बोल्ने मौका पाउनु पर्‍यो । राम्रो रेडियोले ठाउँ दिनुपर्यो । त्यसपछि धैर्यता । प्रशंसामा नमात्तिने र आलोचनमा पनि नआत्तिने स्वभाव बनाउन सक्नुपर्यो । आफूले सकेसम्मका राम्रा गुणहरू पालना गर्नुपर्यो ।

श्रुति संवेग र बुलबुल भनेर कार्यक्रमको नाम राख्नु को पछाडि को रहस्य के थियो ? अरू पनि राख्न सकिन्थ्यो होला नि हैन र  ?

खासै रहस्य केही पनि छैन । सामान्य रूपमा कार्यक्रम सुरु गर्ने भनेपछि यी नामहरू जुरे र यिनैलाई स्थापित गरियो ।

तपाईँले श्रुति संवेगमा पढ्ने पुस्तकहरुको छनोट के को आधारमा गर्नु हुन्छ ?

पहिलो कुरो पुस्तक श्रव्य भाषा र शैलीको छ कि छैन त्यो हेरिन्छ । कहिलेकाँही धेरै भव्य किताब पनि मनमनले पढ्दा आनन्द आउने तर पढेर अरूलाई सुनाउन अप्ठेरो हुने खालको हुन्छ । दोस्रो कुरा कि समाजमा लोकप्रिय भइसकेको पुस्तक वा कि कसैले नाम नसुनेको तर उन्नत खालको कृति भयो भने तिनलाई छान्ने गरेका छौँ । प्रकाशित भएको पुस्तक चाहिँ हुनैपर्छ । हामी पाण्डुलिपिबाट पढ्दैनौं । लेखक /प्रकाशकले वाचन गर्नको लागि अनुमति पनि दिएको हुनुपर्छ ।

अच्युत घिमिरे साहित्यकार हो भन्ने जमात पनि भेटिन्छ नि ? कलम चलाउनु भएको छ साहित्यमा ?

लामो समय साहित्यिक कार्यक्रमहरू सञ्चालन गरेको हुनाले केही साथीहरूलाई त्यस्तो लागेको होला । तर म साहित्यकार होइन । अब चाहिँ सबैले लेख्नुपर्छ भन्ने सुझाव दिनुभएकोले लेख्न सुरु गर्दैछु । अझै केही समय लाग्ला म लेखकका रूपमा बजारमा आउन ।

 

तपाईँले धेरै उपन्यास पढ्नु भएको छ आफैलाई मन परेको कुनै एकको नाम लिदा कुन लिनु हुन्छ  ?

मन परेका पुस्तक विभिन्न प्रकारका छन् । मलाई रेडियोमा नपढेको मदनमणि दीक्षितको माधवी, नयनराज पाण्डेको लु वा घामकिरी पनि मन परेका पुस्तक हुन् । रेडियोमा वाचन गरेकाबाटै पनि एउटालाई मात्रै छानेर त सकिन्न । पारिजातको परिभाषित आँखाहरू, डा. बानिरा गिरीको कारागार, नारायण वाग्लेको पल्पसा क्याफे, बुद्धिसागरको कर्णाली ब्लुज लगायत थुप्रै उपन्यासहरु मन परेरै पढेको हुँ ।

कुनै पुस्तक पढ्दा रुनु भएको वा  हास्नु भएको छ ?

धेरै छन् त्यस्ता । परिभाषित आँखाहरुको अन्तिमतिरको वाचनमा भावुक भएर रोक्नुपरेको थियो । कृष्ण धराबासीको झोलामा पनि त्यस्तो भयो । धराबासी दाइकै आधा बाटो पढ्दा चाहिँ एक ठाउँमा हाँसेरै कार्यक्रमको रेकर्ड आधा घण्टासम्म रोक्नुपरेको थियो ।

नेपालमा साहित्यकारहरू धेरै छन् तर व्यावसायिक साहित्यकारहरू खासै भेटिदैन के कारण होला ?

तपाईँले साहित्य मात्रैमा लागेर बाँच्न सकेका लेखक भन्न खोज्नुभएको होला । अब बिस्तारै नेपालमा त्यो क्रमको विकास भएको छ । कति नै भयो र हाम्रोमा पठन संस्कृति विकास भएको ? पछिल्लो १ दशकबाट बल्ल किताब पढ्नेहरुको सङ्ख्या बढ्न थालेको छ । यो क्रम अहिलेको अवस्थाबाट अझ सुदृढ हुँदै जाँदा लेखकले साहित्य मात्रै भनेर बाँच्न सक्ने अवस्था आउँछ । अहिलेको चरण चाहिँ प्रकाशकले त्यो अवस्था हासिल गर्न थालेका छन् ।

साहित्यिक कार्यक्रम उत्पादन गर्ने रेडियो र त्यसको प्रस्तोताले के गर्‍यो भने व्यावसायिक साहित्यकार उत्पादन गर्न सक्छ जस्तो लाग्छ ?

हामीले सकेसम्म गुणस्तरीय र साँच्चै यो क्षेत्रमा केही गर्छु भनेर तन मन दिएका लेखकलाई मात्रै प्रोत्साहन गरिदिने हो भने राम्रा लेखकहरुले फुल टाइम साहित्यलाई दिएर बाँच्न सक्छन् होला । तर रेडियोले गर्ने भनेको एउटा क्षेत्रसम्म हो । अरू पनि कारक तत्वहरु छन् लेखकलाई सबल बनाउने । हामी ती मध्येको एउटा सानो कारण मात्रै हौँ ।

साहित्यमा रेडियोको भूमिका कत्तिको छ ?

एकदम ठुलो छ । टिभी हेर्न फुर्सद लिएर बस्नुपर्छ । पत्रिका पढ्न पनि समय छुट्याएरै बस्नुपर्छ । आफू जुनसुकै काममा व्यस्त भए पनि कुनामा बजिरहेको रेडियो सुन्नका लागि छुट्टै समय छुट्याउन पर्दैन । यति सजिलो माध्यम छ रेडियो । त्यसैले रेडियोले जति प्रभावकारी प्रचार साहित्यको अरू सञ्चार माध्यमले गर्न सक्दैनन् । रेडियोमा जति गुणस्तरीय साहित्यक कार्यक्रमहरू बढ्दै जान्छन्, साहित्यको विकासमा उति टेवा पुग्दै जान्छ ।

तपाईँको भाषा मा रेडियो के हो जस्तो लाग्छ ?

मैंले त यसमा १७ वर्ष पूरा गरेँ । त्यसैले मेरो लागि त यो आत्मा हो । अब श्रोताका लागि पनि रेडियो ठुलो साथी हो । जनआन्दोलनका बेला हेर्नुस्, दश वर्षे युद्धका बेला हेर्नुस्, पोहोर भुईँचालो जाँदा हेर्नुस् । रेडियो जत्तिको गुणी साथी अरू केही हुन सकेन मानिसहरूका लागि । आलीसान घरबाट कुदेर सडकका पेटीमा आश्रय लिएका मानिसहरुदेखि सडक पेटीमै मागेर बस्नेहरुले पनि हातमा रेडियो लिँदै खबर सुनेको पाइयो । यही हो रेडियोको ठुलो गुण । यो भन्दा बढी परिभाषाको जरुरतै पदैन ।

तपाईँ टी भी हेर्नुहुन्छ ? टी भी हेर्दा प्राय के हेर्नु हुन्छ ?

टिभी म एकदम कम हेर्छु । हेरेका बेला समाचार र समसामयिक विषयवस्तु नै मेरा छनौटमा पर्छन् ।

तपाईँ जस्तै लोकप्रिय प्रस्तोता बन्न चाहनेहरुको लागि केही सुझाव दिन चाहनु हुन्छ ?

रेडियोको प्रस्तोता हुन वा चाँडै लोकप्रिय हुन पनि गाह्रो छैन । तर लोकप्रिय भइसकेपछि त्यसलाई टिकाइरहन गाह्रो छ । त्यसकारण यो क्षेत्रमा आउनु अघि धेरै बुझेर मात्र आउनुहोला । राम्रो रेडियोमा सुरुमै काम गर्ने अवसर पाउनुभयो भने तपाईँको व्यक्तित्व पनि त्यसै अनुसार राम्रो भएर जान्छ । पल्लोघरको मान्छे रेडियोमा बोलेर हिट् भएको थाहा पाएपछि आफू पनि प्रस्तोता बन्न हिंडेको हो भने काम छैन । मनबाटै रेडियोप्रतिको लगाव भएर आउनुहुन्छ भने तपाईँले गर्न सक्ने धेरै कामहरू छन् रेडियोमा ।

हिमाल पोष्टको लागि समय दिनु भएकोमा धन्यवाद ।

मलाई पनि आफ्ना विचारहरू राख्न दिनुभएकोमा हिमाल पोष्टलाई धन्यवाद ।