विपक्षी दलकी नेतृद्वारा पर्यटनमन्त्री शाहीलाई अष्ट्रेलियामा स्वागत गर्ने - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

विपक्षी दलकी नेतृद्वारा पर्यटनमन्त्री शाहीलाई अष्ट्रेलियामा स्वागत गर्ने



एडिलेड । नेपाल फेस्टिबल (महोत्सव)मा सहभागी हुन नेपालका पर्यटनमन्त्री जीबनबहादुर शाही आज काठमाडौंबाट प्रस्थान गरेका छन् । भिक्टोरिया राज्यको मेलवर्नमा आयोजना हुने महोत्सवमा उनी  पुग्नु अघि एक दिनका लागि दक्षिण अष्ट्रेलियाको राजधानी एडिलेड आउँदैछन् ।

दुई महिना अघि नेपाल भ्रमण गरेकी दक्षिण अष्ट्रेलियाको विपक्षी दलकी नेतृ तथा सांसद जीङ लिले बिहीबार बिहान दक्षिण अष्ट्रेलियाको संसदमा स्वागत तथा भेटघाट कार्यक्रम राखेकी छन् ।

गैरआवासीय नेपाली संघ दक्षिण अष्ट्रेलियाका सचिव नविन पन्तले दिएको जानकारी अनुसार पर्यटनमन्त्री शाही स्थानीय समय अनुसार बिहान साढे ६ बजे एडिलेड आइपुग्ने छन् । जहाँ दक्षिण अष्ट्रेलियास्थित नेपाली महावाणिज्य दूत दीपक धमलासहित गैरआवासीय नेपाली संघ दक्षिण अष्ट्रेलियाका नेताहरुले उनलाई स्वागत गर्नेछन् ।

बिहान ११ बजे उनी दक्षिण अष्ट्रेलियाको संसद भवनमा पुग्नेछन् । त्यहाँ आयोजना हुने ‘मिट एण्ड ग्रीट’ कार्यक्रममा दक्षिण अष्ट्रेलियाको प्रतिपक्षी दल लिवरल पार्टीका तर्फबाट सांसद जीङ लि, कृषि तथा पर्यटन छायामन्त्री डेविट रिडवेट लगायत सहभागी हुनेछन् ।

बिहान एघार बजेको भेटघाटमा लिवरल पार्टीका राज्य नेता स्टेभ मार्शल, सांसद जोन गार्डनर, राचेल स्याण्डर्शन, कोरी वीनगार्ड पनि सहभागी हुनेछन् ।

दिउँसो साढे ३ बजे मन्त्री शाहीको दक्षिण अष्ट्रेलियाको सरकारका बहुसाँस्कृतिक मन्त्री जोई एडिशनसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यहाँ नेपाल र दक्षिण अष्ट्रेलिया सरकारबीच आपसी सहयोगबारे छलफल हुनेछ ।

साँझ उनको सम्मानमा दक्षिण अष्ट्रेलियाको नेपाली महावाणिज्य दूतावास र गैरआवासीय नेपाली संघले स्वागत तथा रात्री भोज आयोजना गरेको छ । उक्त रात्री भोजका क्रममा दक्षिण अष्ट्रेलियास्थित नेपाली बुद्धिजिवीहरु व्यवसायीहरु, विद्यार्थीहरु तथा नेपाल भ्रमण गरेका अष्ट्रेलियनहरुको सहभागीता हुनेछ ।

राजनीतिक भेटवार्ताको प्रयास

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका कार्यसमिति सदस्य नारायण काफ्लेका अनुसार मन्त्री शाही शुक्रबार बिहान मेलवर्न आइपुग्नेछन् जहाँ शुक्रबार दिउँसो नै राजनीतिक भेटघाटको कार्यक्रम तय गर्ने प्रयास भइरहेको छ ।

अष्ट्रेलियामा डिसेम्बर दोस्रो हप्तापछि वार्षिक विदाहरु पर्ने तथा राजनीतिक नेताहरु पनि विदामा बस्ने भएकाले समय मिलाउन कठिन हुने बताइएको छ । यद्यपी मन्त्री शाही डिसेम्बर १७ को नेपाल फेष्टिबलमा सहभागी भएपछि १८ मा बि्रसवेन जानेछन् जहाँ उनको पर्यटन व्यवसायीहरुसँग भेटघाट हुने छ ।

 

उनी डिसेम्बर २० मा सिड्नी आउने र २१ डिसेम्बरमा नेपाल फर्किने कार्यक्रम छ ।