प्रधानमन्त्रीले अन्त्य गरेको संसद् अधिवेशन कांग्रेस–जसपाले ब्युँताउने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रधानमन्त्रीले अन्त्य गरेको संसद् अधिवेशन कांग्रेस–जसपाले ब्युँताउने



काठमाडौं- विपक्षी दल कांग्रेस र जनता समाजवादीका शीर्ष नेताहरू संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई दबाब दिने मनस्थितिमा पुगेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा मंगलबार बैठक गर्दै कोरोना संक्रमण जोखिम कम गर्न बेवास्ता र संसद् अधिवेशन हठात् अन्त्य गरेर सरकार गैरजिम्मेवार बनेको भन्दै सरकारलाई दबाब दिने विषयमा छलफल गरेका हुन् ।

कोरोनाको संक्रमणबाट नियन्त्रण गर्दै नागरिकलाई बचाउन थप गम्भीर बन्नुपर्नेमा प्रधानमन्त्री र सत्तारूढ दलका शीर्ष नेताहरु नै सत्ता संघर्षको आपसी किचलोमा छन् । नागरिकका स्वास्थ्य समस्या र संसद्मा बेवारिसे बनाइएका एजेन्डालाई लिएर कसरी र कहाँ विरोध गर्न सडकमा जान संक्रमणको स्थितिले दिँदैन । जनताको आवाज उठाउने संसद् पनि हठात् अन्त्य गरिँदा विकल्प खोज्नेबारे नेताहरूले बहस गरेका हुन् ।

बैठकमा जनता समाजवादीको जोड संसद् अधिवेशन बोलाउनुपर्नेतिर थियो । उसको प्रस्तावमा कांग्रेस पनि नकारात्मक थिएन । असार १७ गते प्रधानमन्त्री ओलीसँग भएको देउवाको गोप्य भेटघाटका क्रममा एमसीसीको विषय पनि थियो । यसै अधिवेशनबाट एमसीसी पारित गराउने आश्वासन ओलीबाट देउवाले पाएका थिए ।

जुन कुरा उनले सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा उठाउँदै ओलीबाट आफू ‘ठगिएको’ प्रतिक्रिया दिएका थिए । जनता समाजवादीका नेताहरुसँग भएको छलफलमा पनि देउवाले एमसीसीको विषयलाई उठाउने गरी संसद् अधिवेशन बोलाउँदा के हुन्छ भन्ने चासो व्यक्त गरेका थिए ।

जनता समाजवादीका लागि एमसीसीभन्दा नागरिकता बढ्दा प्राथमिकता थियो । नागरिकताको विषयमा कांग्रेसको धारणा पनि समान छ । तर, सभापति देउवाको चासो एमसीसीतिरै बढी केन्द्रित थियो । देउवाको चासोमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी, नागरिकतालगायत विधेयकमा छलफल गर्न सकिन्छ भन्ने भनाइ राखेका थिए ।

‘तर, संसद् अधिवेशन बोलाउनेरनबोलाउने अहिले कुनै टुंगोमा पुगेन,’ कांग्रेसका एक नेताले भने, ‘सरकारको अकर्मण्यता र संसद्मा बेवारिसे भनेका एजेन्डामा लामो छलफल भयो । समान धारणा पनि बने । तर, निर्णयमा हामी पुग्न सकेका छैनौं, फेरि बस्ने भनेर उठेका छौं ।’

सभामुख र संसद्मा रहेका राजनीतिक दलहरुको परामर्शविपरीत प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट निर्णय गराई हठात् संसद् अधिवेशन अन्त्य गर्ने कदम उठाएकोमा कांग्रेस जनता समाजवादीजतिकै आक्रोशित छ ।

खास गरी, पार्टी सभापति देउवा एमसीसीलाई संसद्मा प्रवेश नै नगराई अधिवेशन अन्त्य गराएकोमा बढी क्रूद्ध छन् । कांग्रेसले औपचारिक निर्णयमार्फत नै सरकारको उक्त कदमको भत्र्सना गरेको छ ।

तर, त्यसको आक्रोशमा संसद् अधिवेशन बोलाउने कदम उठाउँदा सत्तारूढ नेकपाभित्र चर्किरहेको द्वन्द्वमा हस्तक्षेप गरेको सन्देश जाने भएकाले कांग्रेस नेताहरु हतारमा निर्णय लिइहाल्ने पक्षमा छैनन् । संसद अधिवेशन बोलाउँदा राजनीतिक रूपमा त्यसले पार्न सक्ने विभिन्न आयमका बारेमा समेत छलफल भएको थियो ।

बैठकमा सहभागी कांग्रेस उपसभापति विमलेन्द्र निधि त संसद् अधिवेशन बोलाउनेबारे छलफल र समझदारी केही नभएको दाबी गर्छन् । ‘संसद्को विषयमा छलफल पनि भएन, समझदारी पनि भएको छैन । संसद्मा अड्किएका विधेयक, प्रस्तावहरु र कोभिड–१९ संक्रमणको भयावह स्थितिबारे छलफल गर्‍यौं ।

सरकारका कारण अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वासमा समेत संकट आएकोबारे समान धारणा बनायौं,’ उनले भने । बैठकमा चिनियाँ राजदूतको बढ्दो सक्रियताप्रति समेत चासो राख्दै छलफल गरिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।