"अदृश्य माया" भाग:१(सामान्य ईन्जिनियरको कथा) - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

“अदृश्य माया” भाग:१(सामान्य ईन्जिनियरको कथा)



नयाँ मोड बिहानको अल्रामले मेरो कानको दैलोमा एउटा बिचलित अवाज लिएर आयो। म ब्युझिएँ। आँखा मिचेर हत न पत मोबाइल तिर आफ्नो हात पुर्याएँ। अल्राम बन्द गरेँ। सायद यो आँखाले अझै सुत् भन्दै थियो होला,तर के गर्नु? काम पनि त गर्नै पर्छ। काठमाडौं छिरेको तीन महिना पछि इन्जिनियरको जागिर पाएको थिएँ।

अझै नि अल्छि गर्यो भने मेरो के होला ,आमाबुबाको सपनाहरूलाई के होला भनेर अल्छी शरिरलाई दबाएँ। बेडमा एकैछिन टुक्रुस्स बसेँ। ऐना अगाडी नजर डुलाएँ। ऐनाको परीधी भित्र एउटा डरलाग्दो पुरुषको आकृती देखिन्थ्यो। झुस्स दारी, जिङ्गृङ्ग कपाल,फुस्रो अनुहार। बिल्कुल नसुहाउँदो आफ्नै अनुहार। जुरुक्क उठेँ। टेबलको आफ्नो मोबाइल फेरि हेरेँ। अब छिट्टै तयारी नि गर्नु थियो। फ्रेस हुन बाथरुम छिरेँ। “ओहो दारी पाल्दा त हिरो देखिन्छस् त ग्याट्सी बि ,तँलाइ यो दारीमा काममा किन राख्यो के?”एेना अगाडि आफूलाई हेन्सम बनाउने प्रयास गरे। कपाल मिलाएँ। दारी एकपटक फेरि मुसारेँ। लुगा लगाएर ट्क जुत्ता फिटफाट गरेर खाना खान गएँ। बिहानको ९:३० भैसकेको रहेछ। होस्टेल लाइफ् यस्तै हुँदो हो,समयमा उठे पनि ढिलो भैहाल्छ ।

किचनबाट कुनै फरक किसिमको बास्ना भने आएको थिएन। तर पनि सोधेँ “राम दाइ आज तरकारी के हो?” फेरि हिजोकै जवाफ आयो। “त्यही त हो आलु र बन्दा।” जस्तो छ तेस्तै खानु त पर्यो। पुर्लुक्क कुक् दाइतिर हेर्दै नबोली नबोली एक दुई गास हालेँ। काठमाडौं आएपछी खान भन्दा खाएजस्तो धेरै गर्नुपर्थ्यो। घरमा आमाले पकाए जस्तो कहाँ हुन्छ? आमाले ५-६ पटक सम्म बोलाइ बोलाइ खुवाएजस्तो कहाँ हुन्छ? फेरि एकपटक आमाको याद आयो। फोन नगरेको एक हप्ता पुगिसकेको थियो क्यारे। मुख चुठेँ। ढिलो भैसकेकाले अफिस तिर लागेँ। “साला! यो घाम पनि कस्तो तैट्, कति पोल्न सक्या? त्यसै त कालो छु झनै कति कालो बनाउन खोज्या?” शान्तिनगरको गेटमा पुगेँ जहाँबाट मलाई नेपाल यातायातबाट पुतलीसडक पुग्नु थियो । नेपाल यातायातको पीडा त झन छँदै छ। गेटमा पुग्दा ९:४५  भएछ। के गर्नु बाइक छैन। हिँड्न झ्याउ। नेपाल यातायातको यात्रा मलाई सफर होइन suffer झैँ लाग्थ्यो। सिट यहाँ भाग्यमानीले मात्रै पाउँछ। मेरो अफिस अगाडि नै रोकिदिने भएकाले मात्रै नेपाल यातायात चढ्ने गर्थेँ।

एकैछिनमा गाडी आयो। मनमनै सोचेँ “आज त खाली आए नि हुन्थ्यो नि!” तर मैले सोचेँ झै कहिल्यै भएन। बिहेको गाडी झैँ हुन्थ्यो। यात्रु चाहिँ जन्ती हिँडे झै। “अन्कल छिर्नु भित्र” खलासीको अन्कलको सम्बोधनले फेरि जिन्दगीलाई ब्याङ बनाइ दियो । स्तब्ध भएँ। भित्र अनौठो रिस उठ्यो। केही बोल्न सकिन। चुपचाप भित्र छिरेँ। भित्र खुट्टा अट्ने ठाउँ हुदैन छिर्नु चाहिँ कसरी। गर्मीले हप्प बनाएको गाडी भित्र अझ मान्छेहरुका झ्याउ लाग्दा गन्थन मन्थन। हाँसो पनि लाग्यो। मनमनै हासेँ । साँच्ची काठमाडौं बासीलाई मान्नै पर्छ। जस्तो भीड होस् जस्तो फोहोर होस्। हिँडेकै छन् । बाँचेकै छन्। खलेको फेरि आवज आयो “भित्र सर्नु त अझै ।” झोक्किदै भनेँ “अब खुट्टा त आफ्नो कि अर्काको नचिन्ने बेला भैसको, कता छिर्नु?” वरीपरीका गलल्ल हाँसे। पीडा सबैको उहीँ थियो। त्यो बसको अलग अलग सुग्न्ध र दुर्ग्न्धहरु मिक्स भएर नाकको दुर्गति नै गरिसकेको थियो। अफिस अगाडि ओर्लिएँ। ओर्लिए पछि रोड छेउको बाइकको ऐनामा एकपटक अनुहार हेरेँ। हैन अङ्कल झै देखिन्छु र? घडी लगाउने बानी थिएन। मोबाइलमा चेक गरेँ। १0:१५ भैसकेछ। आज पनि लेट भैएछ। अर्को पीडा थपियो। बोस् चाहिँ जति गाली गरेपनी मिजासीला नै लाग्थे।

“ओहो आउनु भयो ईन्जिनियर साहाब,धेरै छिठाे आउनु भयो त,बाटोमा आउदा केही अप्ठेरो त भएन नि,भन्नु भएको भए आफ्नै गाडी लिएर आउने थिएँ। ” बुढाले व्यंग्य गरीहाले। बुढाको च्याम्बर पनि ढोकैमा छ। सोचेँ “साला! सारा दु:ख गर्ने हामी, अनि एकैछिन ढिला आउँदा गाली खाने पनि हामी। तँ मु*लाई के थाहा बसमा आउँदा कस्तो हुन्छ भनेर?” अनि भनेँ। “होइन सर तपाई पनि मजाक गर्नुहुन्छ। यो ट्राफिक यस्तै हो,यसको पीडा त हजुरलाई के सुनाइरहनु सर।” खिस्स दाँत देखाउँदै यसो खुसी पार्ने कोशिस गरेँ। “ल ल अलिक छिठाे आउने गर अब बाट,ल जाउ अब काम गर्न। काम चै तगडा चाहिन्छ नि” यति भन्दै बोस् आफ्नो क्याबिनमा छिरे। टाउको नुघाएर म पनि आफ्नै क्याबिनमा छिरेँ। मेरो क्याबिनको छेउमा सृजनाको क्याबिन थियो। निकै सुन्दर। पहिलो पटक देख्दा नै म मायामा परेको थिएँ। हुन त म धेरै पटक यस्तै भएको छु। तर उनमा खास भने केही थियो। उनको प्रेमी छ भन्ने थाहा पाएपछी एकैछिन पीडामा परेको थिएँ। जता पनि पीडै पीडा स्याला यो जिन्दगी। म सँग खुलेरै कुरा गर्थिन्। मेरो दारी उनलाई असाध्यै मन पर्थ्यो। भन्ने गर्थिन् “ग्याट्स तिम्रो जस्तो दारी मेरो bf को हुनु पर्ने के।” फेरि जता नि bf लाई चै घुसाइ हाल्थिन् ।

कस्तो नमज्जा। “हेलो ग्याट्स, तिमी आज नि ढिलो आयो है। “प्वाक्क बोली हाली । “अनि तिम्रो पो कोहि कोही छ चाँडै पुराइ दिन्छ बाइकमा मेरो कोही छैन,नत्र स्कुटीमा मा छोडीदिन्थी।”हाँस्दै व्यङ्ग्य हानेँ। “हाहा ल ल।” यो कस्तो प्रतिउत्तर। झन केही कुरा गरौँला भनेर पो। कुरा सुरु हुन नपाइ रोकिदिइ मोरीले। म केही नबोली काम तिर लागेँ। २ बजे काम सकियो। एउटा खुशीको कुरा के भने जति चाडो काम सकियो त्यति छिटो जाँदा हुन्थ्यो,अनि म जहिले २ बजे सम्म काम सकाइ दिन्थेँ । सबैसँग बिदा लिएँ। पेटले अघिदेखी निहुँ खोज्दै थियो। खाजा खाने सोँचमा बानेश्वर पुगेँ अनि शन्खमुल तिर लागेँ। (साथीले भनेको थियो तेता एउटा क्याफेमा दामी खाजा पाउन्छ,तर साला खानाको नाम सुनेर कुन क्याफे हो त्यो चै सोध्न बिर्सेँ।) परबाट एउटा फ्रेण्डसीप क्याफे नाम गरेको क्याफे देखेँ,जुन अन्डरग्राउण्ड पनि रहेछ। छिरेँ। त्यो क्याफे मेरो जिन्दगीमा महत्वपूर्ण पल लिएर आयो। एकदमै नसोचेको मोड दिएर गयो। मैले सोचेकै थिइन। जिन्दगीले एउटा नयाँ मोड लिएर आयो।

क्रमश: (यो समान्य ईन्जिनियरको कथा हो जो जिन्दगीलाई सुन्दर र सफल बनाउने स्वेरकल्पनामा आफ्नो घर परीवारबाट टाढा रही काठमाडौंको नौलो रहनसहनमा आफ्नो जिन्दगी सँग जुधिरहेछ। यो धुले हावमा मडारिइरहेछ। पढ्दै गर्नु होला एउटा नलेखिएको मेरो कथा “अदृश्य माया”। अरु भागहरु आउँदै गर्नेछ। )

-ग्याट्स बि