च्याटपछिको भेटघाट « Himal Post | Online News Revolution
Logo

च्याटपछिको भेटघाट



– सुरेश बादल

के छ, खाना खानुभयो ? एक्कासि फेसबुकमा आएको म्यासेजले मन चन्चल बनायो । मेसेज पठाउने केटी अपरिचित थिइन् । ‘हजुर, भर्खर खाएँ । तपाईंले खानुभयो त ?’ ‘खाएँ मैले पनि । अनि प्लिज तपाईं नभन्नु न है,’ ऊ एकैचोटि घनिष्ठ बन्न खोजी । ‘अनि के भनौँ त तपाईंलाई ?’ ‘तिमी नै भन्नु न है, प्लिज ?’ उसले दोस्रो पल्ट प्लिज ठोकी । ‘हस् म अबदेखि तपाईंलाई तिमी नै भन्छु ।’
‘हिहिहि… कस्तो हो के ।’ उसले हाँसोसँगै केही आर्टिफिसिसिल चिह्न पठाई ।
‘के गर्छौ नि तिमी ?’
‘म सानोतिनो जब गर्छु अनि हजुर नि ?’
‘म त केही गर्दिनँ, बेरोजगार ।’
‘गफ नहान्नु न । केही त पक्कै गर्नुहुन्छ ।’
‘उही त हो नि । फेसबुकमा हावा–हावा स्टाटस लेखेर बस्छु ।’
‘अनि फेसबुकमा मात्र लेखेर खान पुग्छ त ? कमाउनु परेन ?’
‘कमेन्टमा टन्न तारिफ पाउँछु, त्यहि खाएर अघाउँछु । कमाउन त तिमीजस्ता माया गर्ने मान्छेहरू कमाएकै छु नि त ।’ मैले हात परेको मौका गुमाउन चाहिनँ ।
‘ओहो, गफ पनि कति दिन सकेको ? साँच्ची भन्नु त, गर्लफ्रेन्ड छ कि छैन तपाईंकी ?’
‘हाहाहा भएको भए तिमीसँग गफ गरेर बस्ने फुर्सद हुन्थ्यो होला त ?’
ढाँट्नुभा’को हेर न, कस्तो गफाडी † यस्तो मान्छेको त पक्कै हुन्छन् कोही न कोही ।’
‘कस्सम छैन । किन ढाँट्नु ?’
‘ओएमजी, अनि किन त यस्तो ?’
‘खासमा मलाई मायाप्रेममा विश्वास लाग्दैन । एउटा प्रेम टुटेपछि फेरि कसैलाई माया गर्ने हिम्मत पलाएन । बरु तिम्रो सुनाऊ न । तिम्रो त होला नि ।’
‘सेम हेयर ।’
‘मतलब ?’ मैले उसको कुरा अलि बुझिनँ ।
‘मतलब मेरो पनि लास्ट मन्थ ब्रेकअप भयो ।’
‘सो स्याड ।’
‘अहँ म स्याड छैन । इभन आई डन्ट बिलिभ इन लभ टु ।’
‘त्यस्तो किन नि?’
‘यहाँ साँचो माया गर्नेहरू नै पाइँदैनन् आजकाल ।’ ऊ अलि ज्ञानीजस्तो बनी ।
‘तर जे भए पनि पहिलो प्रेम होला, याद आउँछ नि होइन र ?’ मैले अलि भावुक बन्दै टाइप गरेँ ।
‘तपाईंलाई थाहा छ ? मेरो फस्ट लभ त स्कुल पढ्दा नै भएको थियो, टेन क्लासमा । माइन्ड नगर्नु ल, कविज्यू, मलाई त त्यो लभको याद नै आउँदैन हौ ।’
‘ओहो †’ मलाई अचम्म लाग्न थाल्यो, ‘अनि दोस्रो नि ?’
‘त्यसपछि प्लस टु मा पनि लभ परेको थियो । मेरो माया त चोखै थियो तर उसको माया टाइमपास रै’छ । पछि बोर भयो नि ।’ उसले दोस्रो लभको बारेमा पनि निर्धक्क लेखिदिई ।
‘अनि ?’
‘ह्या छोड्नु, कति कुरा गर्नु यी धोकेबाजहरूको ।’ सबका सब केटा धोकेबाज नै हुन्छन् ।’ ऊ आरोपमा उत्रिई । मेरो पुरुष मनको अहंलाई अलिकति चोट लाग्यो ।
‘सबै केटामान्छे एउटै हुँदैनन् नि त, डियर ।’
‘ए सरी हजुर सरी, म अलि इमोसनल भएछु । हुन त पटक–पटक साँचो मायाको बदलामा धोका पाउँदा मान्छेले गरोस् पनि के, हैन त ?’
ऊ यति फ्याङ्क होलिजस्तो लागेकै थिएन । तीन–तीन पटक मायामा पर्दै छुट्दै गरेकी केटी चोखो मायाका बारेमा बोल्दै थिई ।
उसको र मेरो दोस्ती चाँडै बढ्यो । हामी रात अबेरसम्म फेसबुकमै झुन्डिन थाल्यौं । प्रेमका कुरा हुँदा ऊ पुन: आफ्ना तीनवटा लभ र ब्रेकका कुरा गरिरहन्थी । अनि मैले गर्लफ्रेन्ड फेला पारेँ कि पारिनँ भनेर पनि सोधिरहन्थी ।
‘तिम्रो अफिस कता हो ?’ मैले एकदिन सोधेँ ।
‘चाबहिल हो ।’
‘चाबहिल कहाँनेर ?’
‘ठ्याक्कै के एल टावर अगाडि । तपाईं कता बस्नुहुन्छ र ?’
‘म त भक्तपुर बस्छु, घर यतै छ ।’
‘ए कति टाढा हौ ?’ उसले खिन्न मानी ।
केही दिनपछि नै हामीले आफ्ना फोन नम्बरहरू साटिसकेका थियौं । कहिलेकाहीँ गफ लेख्दा–लेख्दा आँखा टट्याए भने फोनमा पनि कुरा गथ्र्यौं ।
कहिलेकाहीँ दिउँसोतिर ऊ छुस्स–छुस्स मिसकल गर्थी । म फर्काउँथेँ । मैले फोन फर्काउँन ढिला गरेँ भने ऊ रिसाउँथी ।
एक दिन उसले मिस कल दिएका बेला मैले फोन फर्काउन ढिला गरेँ । काम सकेर उसलाई फोन गर्दा ऊ फुलेल भैसकेकी रै’छ ।
‘कस्तो हो, के फोन गर्न पनि नहुने, छुच्चा ।’ ऊ फोनमै रिसाई ।
‘हेर न, ब्यालेन्स नै थिएन क्या । बेरोजगार मान्छे ।’
‘उफ् गफ नहान्नु त । तपाईं बेरोजगार त हुँदै होइन, म ग्यारेन्टी दिन्छु ।’
‘आफ्नो मान्छेलाई किन ढाँट्नु ?’ मैले पनि हल्का जिस्किँदै उसलाई खुसी पार्ने प्रयास गरेँ ।
‘पागल मान्छे ।’ ऊ मज्जाले मस्किई ।
आत्मीय सम्बन्ध भैसक्दा पनि हामी फोन र च्याटमै सीमित रह्यौं । न म उसका बारेमा धेरै जानकार थिएँ, न त मैले बताएका मेरा यथार्थ कुरा उसले पत्याउँथी । हामी फगत झिनामसिना कुराहरूमै जिस्किरहन्थ्यौँ । कहिलेकाहीँ ऊ खाना खाएपछि मिसकल गर्थी अनि रातभर फोन राख्न मान्दिनथी ।
‘एउटा कुरा भनौँ ?’ एक पटक रातभरीको वार्तामा उसले कुनै सिरियस कुरा भन्न लागेझैँ साउती मारी ।
‘अँ भन न, के कुरा हो ?’
‘म कस्ती लाग्छु तपाईंलाई ?’
अहो, कुरा त सिरियस नै रहेछ ।
‘राम्री नै छौ ।’ मैले उनको फेसबुकमा उपलब्ध तस्बिरका आधारमा आफ्नो अभिमत दिएँ ।
‘राम्री नै, के कुरा गरेको ?’
‘होइन, होइन, धेरै राम्री छौ ।’
‘हत्तेरी, मैले तस्बिरका बारेमा भनेको होइन क्या † मेरा बारेमा तपाईंको के विचार छ पो भनेको त ?’ ‘एकदम गलत विचार छ, माइ डियर ।’ मैले जिस्क्याएँ ।
‘छि:–छि: कस्तो हो के हजुर त । भयो म बोल्दिनँ ।’ ऊ रिसाएजसरी नखरा गर्दै थिई ।
‘सरी यार सरी । अँ कस्तो विचार भनेको तिम्ले ? खासमा मैले तिम्रो कुरै बुझिन क्या †’
‘आई लाइक यु, डु यु लाइक मि ?’ उसले फ्याट्टै सोधिदिई ।
‘मन पर्छ ।’ मैले सहज उत्तर दिएँ ।
‘बट आई लभ यू ।’ उसले अझै अर्को कदम बढाई । म जिल्ल परेँ ।
म चुपचाप भएँ । केही बेरपछि उसैले मौनता तोडी ।
‘भन्नुस् न डु यु लभ मि ?’
‘खै कसरी भन्नु ।’

‘यदि साँचो माया गर्नुहुन्छ भनिदिनुस् न ।’
‘यो फेसबुकको झुटो दुनियाँबाट कसरी साँचो मायाको प्रकट गरौँ म ? भन त मलाई नदेखि नभेटि कसरी विश्वास गर्न सक्छौ ? मेरो माया साँचो नै हुन्छ भन्ने के ग्यारेन्टी ?’
त्यसो भए भेटौँ न त हामी ।’ ऊ एकै झट्कामा बोली ।
‘ल भेटेरै कुरा गरौला नि त ।’ मलाई पनि फेसबुकमा देखिएका उसका तस्बिरहरूले मोहित बनाएका थिए । अझ उसैले प्रेमप्रस्ताव राख्दा त मनै फुरुंग भएको थियो ।
हामीले भोलिपल्टै भेट्ने तय गर्यौं । उसले अफिसबाट चाँडै छुट्टि लिने भई । म भक्तपुरबाट गाडी चढेर चाबेलतिर लागेँ । म बाटोमा हुँदा उसले मिसकल गरिरही । मैले फोन गरेँ ।
‘कहाँ हो क्या आइपुग्ने बेला भएन ?’ ऊ चिच्याई ।
‘आउँदैछु क्या † यो भक्तपुरको गाडी जहाँ पनि रोकीबस्छ, के गर्नु त मैले ?’
‘अनि बाइकमा आ’को हैन र ?’
‘हाहाहा कसको बा’ले किन्दिनु नि हामीलाई बाइक ।’ म जिस्किएँ ।
‘ल ल छिटो गर्नु ।’ ऊ खिन्न हुँदै बोली ।
‘कता हो ?’ १० मिनेछपछि फेरि ऊ फोनमा कराई ।
‘आइपुग्नै आँटेँ । गौशालामा छु ।’
करिब आधा घण्टा बितेपछि बल्ल म चाबहिल पुगेँ ।
‘ओई तिमी कता हो ठ्याक्कै भन त’
‘ए वन रेस्टुरेन्ट एन्ड क्याफे देख्नुभा’छ ?’
काँपेका हातले पाइन्टको खल्तिमा भएका दुईवटा सयका नोट छामेँ । असाध्यै माया लाग्यो ।
‘अहँ देखेको छैन त ।’
‘ठ्याक्कै कता हुनुहुन्छ र तपाईं ?’ उसले फेरि सोधि ।
‘मेडिकेयर हस्पिटल देख्या छौ?’
‘अँ देख्या छु ।’
‘हो त्यो सँगैको चियापसलमा आऊ न, अलि तलपट्टिको पसल है ।’
’ह्या, यता आउनु न अलि माथिपट्टि ।’
‘हैन यतै आउ न त्यो मैले देख्या छैन क्या †’ मैले चिच्याएर बोलेँ, अनि फोन काटेँ ।
चियापसलको टुलमा बसिरहँदा फेसबुकमा मुस्काराएको तस्बिर भएकी केटीलाई चिनेँ । ऊ अँध्यारो अनुहार लगाएर यताउती हेर्दै थिई । टुप्लुक्क आइपुगी । म मुसुक्क हाँसे । उसको अनुहार झन् फुंग उडेजस्तो भयो । मैले काठको टुल तानिदिएँ । ऊ टुसुक्क बसी ।
‘भन के खान्छौ ?’
‘अहँ केही नखाने ।’ ऊ मतिर नहेरी बोली ।
‘चिया खाउँ है?’
‘नाइँ नखाने ।’
‘अनि के खान्छौ त ? कफी ?’
उसले पुलुक्क मेरो अनुहारमा हेरी ।
‘हामीकहाँ कफी बन्दैन भाइ ।’ हाम्रो कुरा सुनिरहेकी पसलकी साहुनी बोलिन् ।
‘चिया नै खाउँ है ।’ म फिस्स हाँसेँ ।
‘हजुर खानु न, म ठिक छु ।’
मैले एउटा चिया मगाएँ । ऊ केही नबोली पर–पर हेरिरही । मलाई अचम्म लागिरह्यो च्याटमा मेरो पछि परेर उत्पात गर्ने केटी मलाई भेटेपछि कसरी एकाएक परिवर्तन भई ।
‘हजुर के गर्नुहुन्छ भन्नु न कामचाहिँ ?’ उसले सोधी ।
‘केही गर्दिनँ, म पढ्दैछु । बाले दे’को पकेट मनिमा बाँचिरा’छु ।’ झूटो कुरा गर्न मन लागेन ।
उसले मेरा फाटेका जुत्तामा हेरेझैँ लाग्यो । मैले खुट्टा यसो पछाडितिर मोडेँ । चिया आइपुग्यो । मैले एक्लै पिएँ । खासै केही कुरा भएनन् । ऊ छटपटिएजस्तो हतारिएजस्तो गर्दै थिई । मैले आफ्ना हातले डन्डिफोर भरिएको गाला यस्सो मुसारेँ ।
‘अब जाउँm होला है ।’ ऊ ब्याग तानेर उभिई ।
‘हुन्छ, मैले पनि भक्तपुर पुग्नुपर्छ । गाडी पनि प्याक आउँछ । कहिलेकाहीँ त उभिने ठाउँ पनि पाइँदैन, जाउँm होला अब ।’ मैले पनि उनको आसय बुझे र साथ दिएँ ।
दुई हप्तादेखिको चिनजान । कहिले भेटौँ कहिले भेटौँ हुँदा–हुँदा आधा घण्टा भेट्नासाथ हामी छुट्न हतारियौँ । म बस चढेर घर फर्किएँ ।
बाटोमा उसलाई फोन गरेँ । फोन उठेन । घर गएर फेसबुक खोलेँ । अचम्म, उसले त ब्लक गरिसकिछ । उसको चोखो माया को झलझली याद आयो । पहिलो दिन एउटा सुट लगाएको तस्बिरमा उसले ’ह्यान्डसम’ कमेन्ट गरेको सम्झेर मुसुक्क हाँसें ।
अनि झल्झली पुराना कुरा सम्झना आउन थाले ।
साथीको बाइकमा बसेको तस्बिरमा पनि उसले ‘नाइस’ लेखेकी थिई । मेरो बर्थडेको पुरानो तस्बिरमा पनि उसले

‘ह्याप्पी बर्थ डे’ लेखेकी थिई । मैले ‘थ्यांक्यु’ लेखेको थिएँ । उसले ‘यतिले काम चल्दैन है ट्रिट चाहिन्छ ।’ भनेकी थिई । अनि मैले कहाँ भन्दा उसले अन्त हुन्न केएफसी मै दिनुपर्छ भनेकी थिई । मलाई पनि गफ गर्न कसले भेट्ने र । मैले पनि हस्, केएफसी मै दिन्छु भन्दिएको थिएँ ।

रातभर उसको ‘साँचो माया’ को सम्झना आइरह्यो । उसलाई ‘धोका’ दिएर गएका उसका तीन जना पूर्वप्रेमीको पनि माया लागिरह्यो ।

कान्तिपुर साप्ताहिकमा  प्रकाशित :आश्विन २३, २०७३