सभामुख सापकोटाले गरे संसद बैठक बोलाउने संकेत - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सभामुख सापकोटाले गरे संसद बैठक बोलाउने संकेत



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो घटनाक्रमबारे ब्यापक अध्ययन गरेको बताउँदै संसद बोलाउने संकेत गरेका छन् ।

संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताउँदै उनले यस्तो संकेत गरेका हुन् ।

अन्तरपार्टी महिला सञ्जालले सोमबार संसद् सुरु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधिसभाले कहिल्यै पनि सरकारलाई असहयोग नगरेको बताए।

संदद्‌मा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको उनले बताए । संसद्‌मा अराजकता भयो, अनुशासन भएन भन्ने सरकारको आरोपमा कुनै सत्यता नभएको सभामुख सापकोटाको भनाइ छ ।

उनले भने, “कुनै दिन पनि न त्यहाँ त्यस्तो नारा लाग्यो न वेल घेर्ने काम भयो । सौहार्द ढंगले व्यवस्थित ढंगले हामीले लोकतन्त्रको मूल्य मान्यता, आदर्शलाई स्थापित गर्नका लागि छलफलको वातावरण बनाउन भगिरथ मिहिनेत गर्‍यौं । हामी सबै सांसद, सचिवालयका कर्मचारीहरु सबैले अहोरात्र खटेर र सबै अनुशासित भएर सदन सञ्चालन गरेका थियौं । जुन अहिले सहयोग भएन, त्यहाँ अराजकता भयो, अनुशासन भएन भन्ने कुरा आइरहेको छ त्यो सत्यमा आधारित छैन । त्यो सत्य छैन ।”

सभामुख सापकोटाले प्रतिनिधिसभाको अधिवेसन सुरु गर्ने कुरामा सरकारले अवरोध गर्नु बेठीक भएको पनि बताए । संसद्‌ले नीति तथा कार्यक्रम र बजेट पास गर्ने कुरामा कहिल्यै पनि अवरोध नगरेको तर सरकारले विघटन गरेर प्रतिनिधिसभालाई सञ्चालन गर्न अवरोध गरेको उनले बताए । उनले भने, “म के भन्न चाहन्छु भने एउटा यस्तो अवरोध गरेको कुरा चाहे त्यो नीति तथा कार्यक्रम पास गर्ने कुरामा होस्, चाहे बजेट पास गर्ने कुरामा होस् कुनै कुरामा पनि प्रतिनिधिसभाले सहयोग नै गरेको छ । कार्यपालिकालाई कहिल्यै पनि असहयोग गरेको छैन । त्यसकारण यस्तो परिस्थितिमा जुन खालको अवरोध सिर्जना गरिएको छ त्यो बेठीक छ ।”

संसद्‌ले संविधान संशोधन गरेर नक्सापास गरी अभूतपूर्व एकता देखाएको अवस्थामा अवरोध सिर्जना गर्‍यो भन्नु गलत भएको पनि उनले बताए । संसद्‌भित्र कहिल्यै पनि प्रतिपक्ष र कुनै पनि सांसदले अवरोध नगरेको पनि उनले बताए । उनले भने, “हामीले संविधान संशोधन गरेर नक्सा पास गर्‍यौं त्यो सायदै अभूतपूर्व एकता थियो हाम्रो संसद्‌मा प्रकट भएको । त्यसैगरी यो पनि स्पष्ट पार्न चाहन्छु संसदभित्र न प्रतिपक्षले न अन्य कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।”

संसद फेरि पनि सुरु गर्नुपर्छ भन्ने आवाज आइरहेको उल्लेख गर्दै सभामुख सापकोटाले यस सम्बन्धमा आफूले अध्ययन गरिराखेको बताए । उनले भने, “दुईवटा सदन चलाएको अनुभवसहित हाम्रो व्यवस्थित देशको सर्वाङ्गीण कुरामा ध्यान दिँदै व्यवस्थित ढंगले संसद् सञ्चालन गर्ने तयारी हुँदै गर्दा हठात् संसद् सञ्चालनमा अवरुद्धता आएको छ । त्यसलाई सुरु गर्नुपर्छ भनेर तपाईंहरुले मात्रै होइन यो देशका सबै संविधानविद्हरु, कानुनविद्हरु, विज्ञहरु, राजनीतिक पार्टीका नेताहरु अधिकांशले चिन्ताका साथ सुरु हुनुपर्छ भन्ने आवाज उठाइराख्नुभएको छ । त्यस सम्बन्धमा म गम्भीरतापूर्वक जिम्मेवारीपूर्वक अध्ययन गरिराखेको छु । विश्लेषण गरिरहेको छु ।”

सभामुख सापकोटाले संसद्‌ले सरकारलाई जहिले पनि सहयोग गरेको कुरालाई समेटेर अदालतलाई समेत जवाफ दिएको बताए । प्रतिनिधिसभाले सरकारलाई कहिले पनि कार्यपालिकालाई असहयोग नगरेको अवस्थामा सरकारले विघटन गरेर प्रतिनिधि सभालाई अवारेध गर्न नहुने पनि उनको भनाइ छ ।