अग्नि सापकोटा: जनयुद्धमा परिवारका ३ सदस्य गुमाए, आफै गोली खाए (भिडियो) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अग्नि सापकोटा: जनयुद्धमा परिवारका ३ सदस्य गुमाए, आफै गोली खाए (भिडियो)



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएर सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखको उमेदवार बनाउने ।

यस निर्णयसंगै लामो समयदेखि खाली रहेको प्रतिनिधि सभाको सबैभन्दा महत्वपुर्ण पदको पनि टुङ्गो लाग्ने देखिएको छ ।

माघ ६ गतेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ । संसद्को सो बैठकको सम्भावित कार्यसूचीमा सभामुख चयनको विषय पनि छ । सत्तारुढ दल नेकपाले सभामुखको विषय टुंगो नलगाउँदा ३ पटक संसद बैठक सूचना टाँसेर स्थगन भइसकेको छ ।

संसदको गणित नेकपाको बलियो रहेकाले अघि सार्ने उमेदवारले जित्ने निश्चित देखिन्छ ।

को हुन् सापकोटा

सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डे टोलमा ०१४ साल फागुन २४ गते अग्नि सापकोटाको जन्म भएको हो । धनपति सापकोटा र तिलमाया सापकोटाका छोरा अग्निका ३ छोरा छन् ।

साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी सापकोटा पछिल्लो ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भए ।

०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक गरी २ वर्ष जेल जीवन बिताएका छन् ।

०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए । ०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए ।

सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन गर्दा उनी शिक्षक राजनीतिमै सक्रिय थिए ।

प्रधानाध्यापक छोडेर उनी पूर्णकालीन राजनीतिमा होमिएका थिए । ०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदा सम्म भूमिगत नै थिए ।

जनयुद्धको समयमा उनले आफ्ना तीनजना भतिजा भतिजीलाई गुमाएका थिए। उनका कान्छो भाइ कृष्णप्रसाद सापकोटाकी छोरी शुभद्रा सापकोटा, जेठो दाजुका दुईवटा छोरा रेवती सापकोटा र प्रेम सापकोटा जनयुद्धकै बेला मारिएका थिए।

साथै, पछिल्लो पटक सिन्धुपाल्चोकको ठोकर्पामा भएको भिडन्तमा उनलाई समेत गोली लागेको थियो। त्यतिबेला उनी क्षेत्रीय ब्युरो इन्चार्ज थिए।

सापकोटा २ पटक मन्त्री भइसकेका छन् । सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी उनले सम्हालिसकेका छन् ।

सापकोटाकाे विवरण:

जन्म मिति/स्थानः २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुभिण्डे गाउँ

आमाको नामः तिलमाया सापकोटा

बुबाको नामः धनपति सापकोटा

स्थायी ठेगानाः चौतारा साँगाचोकगढी-४, सिन्धुपाल्चोक

शैक्षिक योग्यता: स्नातक, त्रिभुवन विश्वविद्यालय

पारिवारिक स्थितिः श्रीमती, तीन छोरा

पेसा र अनुभवः

१५ वर्ष अध्यापन, (७ वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक)

पार्टी सदस्यता मिति र पार्टीको नामः

वि.सं. २०३५ साल नेकपा (चौथो महाधिवेशन)

पार्टी जिम्मेवारीः

स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

राजकीय जिम्मेवारीः

वि.सं. २०६४ – चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निकटतम प्रतिद्धन्द्धीभन्दा २० हजार बढी मत (३०,१७५) ल्याइ निर्वाचित। देशभरि सर्वाधिक मत ल्याउने सातौं उम्मेद्वार। संविधानसभा सदस्यका रुपमा संविधान निर्माणमा सक्रियतापूर्वक क्रियाशील।

वि.सं. २०६८ – वैशाख २२ गते नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्री

वि.सं. २०७० – सिन्धुपाल्चोक-२ बाट दोस्रो पटक संविधानसभा सदस्यमा निर्वाचित तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा(माओवादी) बाट विजयी एकमात्र सांसद।

वि.सं. २०७३ – वन तथा भू-संरक्षणमन्त्री

वि.सं. २०७४ – प्रतिनिधिसभा सदस्यमा विजयी, सिन्धुपाल्चोक-१, लगातार तीनपटक संसद् सदस्यमा विजयी (ह्याट्रिक)

राजनीतिक जीवन

वि.सं. २०२९ – सालमा विद्यार्थी सङ्‌गठनमा आवद्व

वि.सं. २०३५ – पार्टी सदस्यता (नेकपा चौथो महाधिवेशन)

वि.सं. २०३७ – शिक्षक सङ्‌घर्ष समितिको सदस्य (ने.रा.शि.सं) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै ने.रा.शि.सं को केन्द्रीय महासचिव र उपाध्यक्ष

वि.सं. २०४८ – शिक्षकबाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा सक्रिय, २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य

वि.सं. २०५१ – मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य, २०५२ माघदेखि भूमिगत

वि.सं. २०५२ – फागुनबाट सुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रिय ब्युरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिट्व्युरो सदस्यमा निर्वाचित

वि.सं. २०५८ – पार्टीबाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी

वि.सं. २०६२ – चैत्र १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली ३ ठाँउमा लागि गम्भीर घाइते

वि.सं. २०६२/२०६३ – दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जनतालाई जनआन्दोलनमा परिचालनको नेतृत्व

वि.सं. २०६९ – साल माघमा भएको एकीकृत नेकपा (माओवादी) को हेटौंडा महाधिवेशनबाट पोलिट्व्युरो सदस्य

वि.सं. २०६९ – साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता

वि.सं. २०७१ – मा भएको विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्य

वि.सं. २०७३ – नेकपा (माओवादी केन्द्र)को कार्यालय सदस्य

वि.सं. २०७५ -नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य

सापकोटाकाे परिचयात्मक भिडियो