अहङ्कारीहरुलाई जनताले हराउने गरेका छन् :प्रधानमन्त्री दाहाल - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अहङ्कारीहरुलाई जनताले हराउने गरेका छन् :प्रधानमन्त्री दाहाल



बैशाख ८ , बिर्तामोड ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक इतिहासमा अहङ्कारीहरुले निर्वाचनमा हार्ने गरेको बताउनु भएको छ । अखिल (क्रान्तिकारी) र बाइसिएल झापाको संयुक्त सम्मेलनको उद्घाटनमा आयोजित जनसभामा बोल्दै प्रचण्डले अहङ्कारीहरुलाई जनताले हराउने गरेको बताउनु भएको हो ।

जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘मेची–महाकाली अभियान चलाएका कुनै पनि शक्तिले निर्वाचन जितेको इतिहास छैन । गीरिजा बाबूले भन्नुहुन्थ्यो, देशैभरि जितिन्छ जस्तो लागेर मेची महाकाली अभियान चलाइयो । तर, नराम्रोसँग हारियो । माओवादीको पनि त्यस्तै भयो । २०६४ मा हामीमा शक्तिको दम्भ थिएन, चुनाव जित्यौं । २०७० मा हामीमा पनि अहङ्कार पलायो, सबै पार्टीलाई भुसुना देख्न थाल्यौं, देशैभरि जित्ने भनेर मेची–महाकाली अभियान चलायौं । तर, नराम्रोसँग हा¥यौं । अहिले केपीजी र एमालेका साथीहरु त्यही मेची–महाकाली अभियान चलाउँदै हुनुहुन्छ ।’

अहिले माओवादीमा अहङ्कार नभएको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले हामी अहङ्कारमा छैनौं । गम्भीर र जिम्मेवार भएर राजनीतिक निकास र आर्थिक समृद्धिका लागि लागेका छौं । देशमा राजनीतिक परिवर्तन भयो । तर, जनताको जीवनमा परिवर्तन आएन । मेरो नेतृत्वमा सरकार बनेदेखि नै हामी जुन जोगी आए पनि कानै चिरेका भन्ने उखानलाई गलत सावित गर्न लाग्यौं र सफल पनि भयौं । दैनिक १८ घण्टा अन्धकार हुने देशमा लोडसेडिङ अन्त्य गरेका छौं । ०.८ प्रतिशतको आर्थिक बृद्धिदरलाई ६.२ प्रतिशत पु¥याएका छौं । विकास आयोजनाहरुको काम तिब्रतामा अघि बढिरहेका छन् । फास्ट ट्रयाक हामी आफै बनाइरहेका छौं । छिमेकीहरुसँगको सन्तुलित सम्बन्ध विकास गरेका छौं । विदेशमा रहेका नेपालीहरुको पीडामा मल्हम लगाएका छौं । संविधान कार्यान्वयनका लागि प्रतिवद्ध भएर निर्वाचनमा लागेका छौं । यसले हामीलाई विजयमा पु¥याउने छ ।’

बैशाख ३१ गते घोषणा गरिएको निर्वाचन कुनै हालतमा नरोकिने प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘कतिपयमा बैशाख ३१ गते निर्वाचन हुँदैन कि भन्ने आशंका छ । तर, आकाश खसेन र धर्ति भासिएन भने निर्वाचन कसैले रोक्न सक्दैन । निर्वाचन रोक्न विभिन्न चलखेल सुरु भएका छन् । तर, सरकार हरहालतमा बैशाख ३१ गते नै निर्वाचन सम्पन्न गर्न लागिपरेको छ । सरकारको निर्वाचन सम्पन्न गर्ने अभियानमा कसैले अवरोध ग¥यो भने मैले जनतालाई अपील गर्नेछु, सिङ्गो देश त्यसका विरुद्ध उभिनेछ र निर्वाचन सम्पन्न भइछाड्ने छ ।’
स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जित्ने प्रचण्डले बताउनु भयो । भन्नुभयो, ‘बैशाख ३१ गते हुने निर्वाचन गाउँ पञ्चायत वा गाउँ विकास समितिको निर्वाचन होइन । गाउँ–गाउँमा सिंहदरबार खडा गर्ने गाउँ सरकारको निर्वाचन हो । निमूखा जनता सिंहदरबार छिरेर आफ्नो अधिकार लिन सक्दैनथे, अब माओवादीले सिंहदरबार जनताको गाउँ–नगरमा ल्याई दिएको छ । माओवादी केन्द्रको उपहार, गाउँ नगरमा सिंहदरबारको नारा लिएर जनतामा जानुस्, त्यसले निर्वाचनको वातावरण थप बलियो बन्नेछ र माओवादी केन्द्र पनि विजयी हुनेछ ।’
निर्वाचनको विरोध गर्ने शक्तिहरु पनि चुनावमा आउनैपर्ने प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘माओवादीले नजितोस् । तर, निर्वाचन सम्पन्न हुँदा देशले जित्छ । मैले मधेशी मोर्चाका नेताहरुलाई पनि भनेको छु, तपाईहरु निर्वाचनमा आउनुहोस्, निर्वाचनमा आउनु भएन भने तपाईहरुले ऐतिहासिक गल्ती गर्नुहुनेछ, जुन गल्ती भोलि सच्चाउन असम्भव हुनेछ । जनताबाट अलग भएर राजनीति गर्ने सोंच तपाईहरुकै लागि आत्मघाती हुनेछ ।’

सभामा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की, माओवादी केन्द्रका नेताहरु वर्षामान पुन, गोपाल किराँती, धर्मशिला चापागाईं लगायतका वक्ताहरुले देश निर्वाचनमा होमिएको भन्दै माओवादी केन्द्रलाई जिताएर परिवर्तन र समृद्धिको यात्रा संस्थागत गर्न अपील गर्नुभयो ।