आज राति उल्का वर्षा देखिने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आज राति उल्का वर्षा देखिने



मंगलबार राति उल्का वर्षा देखिने भएको छ । स्विफ्ट टटल नामक पुच्छे्रताराका कारण देखिने उल्का वर्षा राति ९ बजेपछि सुरु भई वुधबार बिहान ५ बजेसम्म देख्न सकिने छ ।

तर अत्याधिक मात्रामा भने वुधबार बिहान २ बजेपछि देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६० किलोमिटरसम्म हुने भएकोले करिब ७० किलोमिटर माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने सोसाइटीले जनाएको छ ।

उल्का वर्षाको समयमा नाङ्गो आँखाले नै उत्तरपूर्वी आकाशमा देख्न सकिने सोसाइटीको भनाइ छ । उक्त उल्का वर्षाको स्रोत पर्सियस (ययाति) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई पर्सिड मिटियर सावर नाम दिइएको सोसाइटीले जनाएको छ ।

उल्का वर्षाको समय शुक्लपक्ष भएकोले चन्द्रमाको प्रकाशले उल्का वर्षा हेर्न चाहनेहरुका लागि केही व्यवधान हुनेछ ।

सोसाइटीका अनुसार स्विफ्ट टटल अहिले पृथ्वीको नजिक छैन । तर यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ ।

जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई नै उल्का वर्षा भन्न गर्छौं । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।

के हो त स्विफ्ट टटल ?

स्विफ्ट टटल १८६२ जुलाईमा अमेरिकन खगोलविद् द्वय लेक्सी स्विफ्ट (१८२०–१९१३) र होरस टटल (१८३८–१९३३) द्वारा पत्ता लगाइएको पुच्छ्रेतारा हो ।

यसको सूर्यलाई परिक्रमा गर्ने अवधि करिब १३३ वर्ष रहेको छ । हाल यो पुच्छ्रेतारा पृथ्वीको नजिक छैन तर यसले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्दछन् । यसलाई नै उल्कावर्षा भनिएको हो ।