आज उपत्यकामा घोडेजात्रा मनाइँदै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आज उपत्यकामा घोडेजात्रा मनाइँदै



काठमाडौँ, चैत १४ गते । 

चैत्र कृष्ण चतुर्दशीका दिन सोमवार काठमाडौँ उपत्यकामा घोडेजात्रा मनाइँदैछ ।  टुण्डी नामका राक्षसले सहरका बालबालिकालाई दुःख दिन थालेपछि घोडाको टापले राक्षसलाई दबाएर राखिएको किंवदन्तीअनुरूप काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले घोडादौड र अश्वकला प्रदर्शन गरेर यो जात्रा मनाइन्छ ।

ललितपुरको बालकुमारीमा पनि एउटा आँखा नदेख्ने कानो एकल घोडालाई सर्वसाधारणले हाहाहुहु गर्दै धपाएर यो जात्रा मनाउने प्रचलन छ ।  विशेष गरेर यो दिन जात्रा मनाइरहेका उपत्यकाका नेवारी समुदायका मन मिलेका व्यक्ति विशेषलाई तिमी जङ्गबहादुरको घोडा किन्न हिँडेका हौ कि कसो ? भनेर ठट्टा रमाइलो गर्ने प्रचलन पनि छ ।

घोडे जात्रा मनाइरहेकाहरूमा यो दिन जाँडको मातले जङ्गबहादुरको घोडासमेत खरिद गर्छु भन्ने अदम्य साहस उत्पन्न भएको हुन्छ भनिन्छ ।  यसैदिन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरले घोडासहित त्रिशुलीमा हाम फालेको, फ्रान्समा नेपोलियन बोनापार्ट समक्ष प्रस्तुत भएको घोडादौडमा प्रथम भएको घटनाको स्मृति गराउने जङ्गको टुँडिखेलमा रहेको शालिक अवलोकन गर्ने प्रचलन पनि छ ।
कहिल्यै थकित नहुने र भुइँमा लमतन्न नबस्ने घोडालाई हेरेर मानिसले पनि आफूलाई तन्दुरुस्त र फूर्तिलो राख्न यो दिन घोडाप्रति उसलाई मनपर्ने चना घाँस आदि दिएर धन्य सम्झने चलन छ ।

यसै दिनदेखि रायो, चमसुर, पालुङ्गो, लसुन, छ्यापी, तोरी लगायतका हरिया सागपातको स्वाद क्रमशः हराउँदै जान्छ भनिन्छ ।  साथै, घोडेजात्राकै दिन फर्सी, लौका, घिरौँला जस्ता लहरे तरकारीको बिउ रोप्ने चलन कतैकतै छ ।

उपत्यकामा तलेजुका बाहनका रूपमा रहेका घोडालाई भने जात्रा उत्सवमा समावेश गर्ने गरिन्न ।  नेपाली सेनाको क्याभलरी युनिटबाट रिसल्लासहित आएको सैन्यले नयाँ सडक जुद्ध शालिक सामुन्ने रहेको रेवन्त पीठमा यो दिन बिहानै बोका बली दिएपछि उपत्यकामा घोडेजात्रा सुरु हुन्छ ।