आजकलका लेखहरू मधेश बिरोधी हुनुपर्छ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

आजकलका लेखहरू मधेश बिरोधी हुनुपर्छ



-ईश्वर अर्याल

लोकतान्त्रिक गणतन्त्र आइसकेपछिका दिनहरूमा धेरैको लेखकिय शैलीमा आमूल परिवर्तन आएको छ । यद्यपि यस्ता परिवर्तनहरु सुधारात्मक रूपमा अघि बढेका छैनन् या भनौं प्रगतिशील छैनन् । बजारमुखी लेखहरुले बजार हल्लाउन त राम्रैसँग सक्छन्, तर बिचार हल्लाउन सक्दैनन ।

त्यसैले त आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यकको पक्षमा लामो लेख तयार पारेर प्रकाशनको लागि मिडियामा दिनु अगाडि धेरैपटक सोच्नु पर्छ, जबकि राजा महाराजाको गुणगान, कुनै दलबिशेषका नेताहरूको गुणगान, निरंकुशताको पक्षपोषण जस्ता शीर्षकमा लेख लेखियो भने निर्धक्क भएर लेखे हुन्छ र छाती फुलाएर सामाजिक सञ्जालमा पोस्ट गरे हुन्छ । किनकि त्यस्ता लेखहरुमा आउने प्रतिक्रियाहरुले हमेसा वाहवाहीको सन्देश बोकेर आउने गर्दछन् ।

आजकलका लेखहरू मधेशबिरोधी हुनुपर्छ । अझ भारतबिरोधी भए झन् राम्रो । मधेसलाई बिहार भनिएको हुनुपर्छ । जनजातिलाई पुच्छर नभएका बाँदरहरु भनिएको हुनुपर्छ । सङ्घीयताको विरोधी हुनुपर्छ र विगतका शोषण र उत्पिडनलाई कहीँ कतै उल्लेख गरिएको हुनुहुन्न । डोला बोक्ने घर्तीहरुले सधैँ डोला नै बोक्नुपर्छ, बाजा बजाउने दमाईहरुको काम अर्काको बाजा नै बजाउने हो, नत्र आफ्नै बाजा बज्छ । जिब्रो लटपट्याएर नेपाली भाषा बोल्ने तामाङ, राई र लिम्बुहरू जबसम्म आफ्नो पुर्ख्यौंली भाषा छोड्दैनन र ढाका टोपीमा फोटो खिच्दैनन, तबसम्म उनीहरू नेपाली हुँदैनन ।

आजकलका लेखहरुमा प्रचण्डलाई आतंककारी भनेर सम्बोधन गरिएन भने तुरुन्तै भारु खाएको प्रमाणित हुन्छ । बाबुरामलाई ‘र’को एजेन्ट भनिएन भने लेखले कुनै अर्थ राख्दैन । खगेन्द्र संग्रौला जसले छ दशक नेपाली साहित्यको सेवा गरे, उनलाई जँड्याहा भन्नैपर्ने हुन्छ । युग पाठकहरूलाई डलर खाएको देख्नै पर्छ । देशमा एउटा भन्दा धेरै सिके राउतहरु छन् तर अहँ, त्यही एउटाको विरोध भन्दा बाहेक अर्कोको बारेमा चुँ गरेर बोल्न पाईन्न ।

महाकाली र कर्णाली बेचिएका दर्दनाक कथाहरुलाई दन्त्यकथाहरु हुन भनेर जबरजस्ती बिर्सनु पर्छ । कालापानी र लिपुलेकहरु बेचिए भन्न सम्म पाइन्छ तर कसरी बेचिए त्यसको सप्रसंग व्याख्या गरेमा तुरुन्त सजायँको भागिदार हुनुपर्छ । जय स्वाभिमानको नारा लगाउँदै लेख्न चाहिँ पाइन्छ तर लैनचौरबाट हुन्डी बुझेकाको विरुद्धमा चुँ सम्म गर्न पाईन्न ।

संविधान कार्यान्वयन गर्नुपर्छ भन्न पाइन्छ, तर संशोधन गरेर स्विकार्यता बढाउँ अनि सबै पक्षको साथ लिएर मात्र आमनिर्वाचन गरौँ भन्ने हो भने बसिखप्नु हुँदैन । आखिर कार्यान्वयन भनेको संशोधन पनि त हो ।

हिजो गाउँमा सामन्तहरुको निगाहमा दुई छाक खान नपाएकाहरु आज सदरमुकाम झरेर दुईचार कुरा बोल्न सक्ने बनेका छन् । यसको कारण हो, गणतन्त्र आउने बित्तिकैका केही वर्ष लेखकहरु बढी नै छाडा बने । उनीहरूको पक्षमा लेख्ने स्वतन्त्रताको दुरुपयोग गरे । आजकल चाहिँ स्वतन्त्रताको दुरुपयोग गर्न पाईँदैन ।लेखेको लेख कता बाँडौं, कसलाई पढिदे भनौं ? सामाजिक सञ्जालमा गरिबहरुका कथा लेख्ने बित्तिकै आफ्नै चरित्रहत्या होला भन्ने पिरले सताईरहन्छ ।

कथित जनताको मुक्तिको नाममा सत्र हजार एकै चिहान भए भनेर लेख्ने हो भने तुरुन्तै वाहवाही पाइन्छ । तर सत्रहजार मध्ये हेलिकप्टरबाट खसालिएका, भैरबनाथ गणको ढलमा बोराभित्र लडेका, शीवपुरीमा गाडिएका, सिङ्गै गाउँ जलाउँदा दर्दनाक मृत्यु भएकालाई चाहिँ सत्रहजारभित्र गन्नु हुँदैन । तिनीहरू सबै इच्छामृत्यु धारण गरेका प्राणीहरु हुन । यी छोडेर बाँकी गन्ने हो भने तीनहजार पनि मुस्किलले पर्दैनन । तर सत्रहजार भन्न चाहिँ छोड्नुहुँदैन ।

अझ सङ्घीयता र पहिचानको कुरा गर्ने हो भने लेन्दुप दोर्जेले सिक्किम छोडेर भारतमा बसाइँ सर्दा बिर्सेर आफ्नो घरमै छोडेको थोत्रो कोट तुरुन्तै भिर्न तयार हुनुपर्छ ।

आजकल यो पंक्तिकार पनि धेरै ठुलो असमन्जमा फँसेको छ । ‘घाम’ शीर्षकमा कविता लेखेर एउटा कवि सम्मेलनमा वाचन गरेर फर्किँदाको साँझ दुई छिमेकीहरु आफ्नो घरको करेसोमा फुसफुस गरिरहेको सुनियो । पुरानो घरबेटीले नयाँ भाडावालालाई भन्यो, “माओवादीको ठुलै नेतो हो, बचेर बसेस ।” करिब बर्षदिन अगाडि करेसाबारीमा पानी लगाउन पल्लो घरका अंकलसंग पाँच सात मिटर पाईपको टुक्रो छ भनेर सोधेको, उनी नराम्रोसंग पड्के अनि छैन भने ।

लेख्न मात्र हैन, करेसाबारीमा कालो पाइपको पानी हाल्न र छतमा माघको पहारिलो घाम दक्षिणतर्फ फर्केर ताप्न पनि दशपटक सोच्नुपर्ने स्थिति आएको छ आजकल ।

गएको दशबर्षमा बिरुवा बदलिएर रुख भयो । गाउँको प्राथमिक स्कुल बदलिएर उच्च माबी भयो । ग्राभेल सडक बदलिएर पिच भयो । खोलाले बाटो परिवर्तन गरेर बगर बन्यो, गाविस भवन नगरपालिका भवन भयो । उमेरसंगै मान्छेको अनुहार बदलिएर चाउरी पर्‍यो, हराभरा कपाल भएको टाउको खुईलियो तर अहँ त्यो टाउको भित्र भएको गिदी बदलिएन । बरु झन् संक्रीण बन्दै गयो ।

हुनेखाने र नहुने नखानेहरुको बिचमा खिचिएको एउटा पुरानो रेखा मेटिनुको साटो आजकल झन् मोटो भएको छ । त्यसले आजकल हुने र नहुनेहरुलाई मात्र छुट्याउँदैन, बरु छुत र अछुतलाई छुट्याउँछ र विडम्बना के छ भने पहिला दलित, जनजाति, थारु, मुस्लिमहरु मात्र अछुत हुन्थे, आजकल आत्मसम्मान नगुमाईकन या नबेचिइकन निरन्तर चलेका कलम बोकेका भुँईमान्छेहरु पनि अछुत भएका छन् ।

स्वाभिमानी हुनु भनेको आफ्नो श्रम र पसिनामा निर्भर रहनु हो । तर दौरा सुरुवाल र ढाकाटोपी लगाएर धोती, कछाड, हाकुपटासी, बख्खु र दोचा लाई गाली गरेपछि स्वाभिमानी भइन्छ भनेर पाठ पढाउन सक्नेहरुले आफ्नो कित्ता सुरक्षित गरेका छन् । त्यो कित्तामा नपर्नेहरु या त्यसको पक्षमा लेख्न नसक्नेहरु सबै देशद्रोहीहरु हुन् ।

तराईमा बर्सेनि भइरहेको डुबानमा बाँध बाँध्ने भनेर केन्द्रको रातोकिताबमा नाम लेखाएर लगेको पैसा बाटोमै सुरा सुन्दरीमा खर्च गर्ने र बँचेको पैसाले मोबाइलको लागी रिचार्जकार्ड किनिसकेपछि डाटा अन गरेर, फेसबुकमा ‘जय स्वाभिमान’ टाइप गर्नेहरु राष्ट्रबादी र स्वाभिमानी बन्छन भने यो पंक्तिकारलाई देशद्रोही घोषणा गरेर जेल हाल्दिए हुन्छ ।

त्यसैले त बारम्बार भन्न मन लाग्छ, आजकलका लेखहरुमा भौगोलिक स्वाभिमानको डम्फु बजाउनु पर्छ । मानवीय स्वाभिमानको धज्जी उडाउनु पर्छ । मान्छेलाई गोली ठोकिसकेपछी अचानक छाउने मूर्दाशान्तिका पूजक नभईकन लेखक बन्नै सकिँदैन