अखण्ड ५ नम्बर प्रदेशको माग गर्दै बुटवलमा प्रर्दशन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अखण्ड ५ नम्बर प्रदेशको माग गर्दै बुटवलमा प्रर्दशन



प्रियान्स भण्डारी / विकास गौतम १२ मंसिर ।

प्रदेश नम्बर ५ मा परेका जिल्लाहरुलाई कुनै पनि हालतमा टुक्र्याउन नहुने भन्दै बुटवलमा बिरोध गरिएको छ ।

अखण्ड ५ नम्बर प्रदेशको लागी बुटवलमा गठन भएको अखण्ड ५ नम्बर प्रदेश दवाव अभियानले आज बुटवलमा विरोध प्रर्दशन गरेको हो । कालो झण्डा एव विभिन्न नारा लेखीएका व्यानर सहित प्रदर्शनमा उत्रिएका सहभागीहरुले बिरोधसभामा ५ नम्बर प्रदेश अखण्ड राख्नका लागि ज्यानको आहुती दिन पनि पछि नपर्ने बताएका छन् ।

उनीहरुले राजनैतिक दलहरुको स्वार्थका लागि ५ नम्बर प्रदेशलाई चलाउने प्रयास भए राजनैतिक दलहरुलाइ नै बहिष्कार गर्ने चेतावनी दिए । सरकारले प्रदेश ५ का गुल्मी, अर्घाखाची, पाल्पा लगायतका पहाडी जिल्लालाई अलग गर्ने गरी संविधान सशोधन प्रस्ताव ल्याउन लागेकाले त्यसको बिरोधमा आज विरोध प्रर्दशन गरिएको हो ।

बुटवलको गोलपार्कबाट शुरु भएको बिरोध ¥याली मिडियाचोक हुदै हस्पिटल लाइनमा पुगेर कोणसभामा परिणत भएको थियो । बिरोधसभामा बोल्दै अखण्ड ५ नम्बर प्रदेशको लागि दबाब समितिका संयोजक विष्णु पोखरेलले जनताको भाबनामा खेलवाड गर्ने दलहरुलाई जनताले बहिष्कार गर्ने बताए ।

बिरोध सभालाई गुल्मी–रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष नारायण पन्थ, पाल्पा–रुपन्देही समाजका पदमबहादुर कार्की, बुटवल उद्योग बाणिज्य संघका सदस्य बसन्त ढकाल, होटल व्यवसायी संघ महासंघका पूर्व केन्द्रीय सदस्य देबीकुमार श्रेष्ठ, पत्रकार महासंघ रुपन्देहीका पुर्व सभापति दीपक ज्ञवाली, रुपन्देही ब्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे लगायतले सम्बोधन गर्दै पहाड र तराई मिलेर बसेको समुदायलाइ कसैले पनि चलाउने दुष्साहस नगर्न चेतावनी दिएका थिए । अखण्ड ५ नम्बर प्रदेशको लागी भन्दै हिजोमात्रै नागरिक समाज र युवाहरुको भेलाले अखण्ड ५ नम्बर प्रदेशको लागि दबाब समिति गठन गरेको थियो । बिरोध कार्यक्रममा बुटवलका विभिन्न चोकमा कालो झण्डा र व्यानर टांग्ने, विरोध प्रदर्शनगर्ने, कोण सभा गर्ने, स्थानीय प्रशासन मार्फत सभामुखलाई ज्ञापन पत्र बुझाउने छन् । समितिले विभिन्न संघसंस्थाहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने र प्रदेश ५ का पहाडी जिल्लाहरुलाई अलग गर्ने गरी संसोधन दर्ता भए कडा भन्दा थप कडा कार्यक्रम सार्बजनिक गर्ने जनाएको छ ।