अाखीर किन गर्छ मान्छेले अात्महत्या ? « Himal Post | Online News Revolution
Logo

अाखीर किन गर्छ मान्छेले अात्महत्या ?



जीवन न कसैले सोचे जस्तो हुन्छ न रोजे जस्तो । कुन बेला कस्तो मोड र कस्तो परिस्थिति आउँछ आफैँलाई थाहा हुँदैन । मान्छेले हजारौँ सपनालाई अंगाल्दै जिन्दगी अगाडी बढाइ रहेका हुन्छन् । कति बेला कस्तो किसिमको बज्रपात आउँछ या जीवनमा चोट पर्दछ मान्छे लाई पत्तो समेत हुँदैन । मान्छेको मन पनि मौसम जस्तै परिवर्तीत प्रकृतिको हुन्छ । जति सुकै परिवर्तनीय भए पनि मन आखिर मान्छेको अधिनस्थ हुन्छ । हुन त दार्शनिक हरू मन लाई अधिनस्थ गर्न या नियन्त्रण मा राख्न सकिँदैन भन्छन् तर मान्छे ले चाहेमा उडीरहेको मन नियन्त्रणमा राख्न गाह्रो छैन ।

मानव जीवन नै यो संसारको सबैभन्दा उत्कृष्ट जीवन हो । भगवान् ले सृष्टि लाई प्रदान गरेको अनुपम उपहार हो । भगवान् ले जीवन मात्र दिएका छैनन् । जीवन जिउने आधार हरू पनि दिएका छन् । दुख सबैको जीवनमा हुन्छ । त्यस्ता दुख हरू बाट पार पाउनको लागी भगवानले मार्ग हरू पनि दिएका छन् । सङ्घर्ष ले मान्छे लाई त्यो भैतीक सुख प्राप्तिको मार्गमा पुर्याउछ र चिन्तन र ध्यानले भगवत प्राप्ति अथवा अध्यात्मीक सुखको मार्गमा डोर्याउछ । त्यस्तो भगवात प्रदत्त जीवन प्राप्त गरिसकेपछी “जिन्दगी सङ्घर्ष हो र संघर्षनै जिन्दगीको जिउने आधार हो” भन्ने मूल मन्त्र लाई आत्मसात गरेर आफ्नो मन लाई नियन्त्रण गर्न सिक्नु पर्दछ । सङ्घर्ष सँग हार मान्नु हुँदैन जीवनमा जस्तो पनि परिस्थिति आई परेपनि डटेर सामना गर्ने मनस्थीती बनाउनु पर्छ । त्यसर डट्ने सामर्थ्य भगवान् आफैले दिएर पठाएका हुन्छन् । हामीले प्रयोग गर्न जान्नु पर्दछ ।

जब जब जीवनमा नयाँ चुनौतीहरू आउछन तिनै नयाँ चुनौती र परिस्थितिले जीवन के हो भन्ने बुझ्ने मौका पनि सँगै लिएर आउछन । समयले हामीलाई नयाँ–नयाँ चुनौतीहरू सहज रूपमा स्वीकार गर्नको लागि क्षमता प्रदान गर्दछ । मानिसले समय अनुसार आइपरि आउने सबै कुरालाई सहज रूपमा स्वीकार गर्न नसक्दा बर्सेनि हजारौँ मानिसले आत्महत्या गर्ने गरेका छन् ।

तर किन मान्छे आत्महत्यासम्म पुग्दछ ? दिनदिनै जताततै आत्महत्याको समचार छापिन्छ पत्रिकाहरुमा । कोही झुण्डीएर ईहलिला समाप्त गरिरहेको छ । कुनै जोडी नारायाणी नदीमा बगेर आत्महत्या गरेका छन् । कसैले विष सेवन गरेका छन् । आखिर किन त ? आत्महत्या मानसिक रोगी हरुले गर्ने कायरता पूर्ण निर्णय हो भन्दछन मानवशास्त्रीहरू । कतै कतै आवेशमा गरिएका निर्णय हरुले पनि मान्छेलाई अप्राकृतीक मृत्यु सँग साक्षात्कार गराउदो रहेछ । आत्म हत्याको लागी उत्प्रेरक तत्वको भूमिका महत्त्वपूर्ण हुन्छ र “मान्छेको मन” त्यस्तो उत्प्रेक तत्त्व हो जसले मान्छे लाई आत्महत्या गर्न उक्साउछ । जसको मन नियन्त्रीत हुन्छ उनीहरू आत्महत्या कदापि गर्दैनन ।

आत्महत्या आफैमा रोगीले मात्र गर्ने अपराध नभई जो सुकैले जतिसुकै बेला गर्नसक्ने स्वनिर्णय हो भन्ने मान्यता स्थापित गरेर त्यसलाई परिभाषित गर्न नसकीएला तर पौराणीक कालमा पनि आफू पृथ्वीमा जुन काम गर्न आएको हो त्यो काम सकीएपछी “स्वयम् समाधीस्त” भएका महा पुरुष र देवी हरुका कथा पनि पढ्न पाईन्छन शास्त्र हरुमा । त्यसरी समाधिष्थ हुनु पनि आत्महत्या नै हो तर परिस्थिति अनुसार आत्महत्या को परिभाषा फरक फरक हुदोरहेछ ।

आजको समयलाई नियालेर हेर्दा आत्महत्या यौटा विकराल सामाजिक समस्या हुन पुगेको छ । विभिन्न कारणले निम्ताउने मानसिक जटिलता, डिप्रेसन, आर्थिक सामाजिक तनाव र मानिसहरूले भोगेका अन्य विभिन्न किसिमका रोगहरुको सामना गर्न नसकेको अवस्थामा उसले संसार बाट स्वैच्छीक बिदाइ लिनु आत्महत्या हो भनेर मान्नुपर्ने अवस्था देखिएको छ ।

दिनप्रतिदिन आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दो छ । १० वर्षे बच्चा, युवा देखि लिएर वृद्धवृद्धाहरुले पनि आत्माहत्या गरेको सुनिन्छ र देखिन्छ । आत्महत्याको समस्याले समाजमा उग्र रूप लिएको पाइएको छ । बेला बेला आउने गरेका समचारहरुले आम मानिसहरूलाई झन् त्रसित गराएको छ । जो आफ्नो बच्चाहरू छोडेर उनीहरूको पालनपोषणको लागी देश भित्र लगायत अन्य मुलुकमा रोजगारको सिलसिलामा रहदै आएका छन् । सन्तानको भविष्यको लागी देशमा राम्रो रोजगार नभएको कारण र बढ्दो महंगीले नेपाल भारत लगायतका अन्य देशका महिलालाई समेत बच्चाहरुबाट टाढा रहेर काम गर्न बाध्य बनाएको छ । बच्चाहरुको बढ्दो महत्वोकांक्षा र आफ्नो आयश्रोतको तालमेल मिलाउन नसकेर विदेशमै आत्महत्या गर्ने हरू पनि भेटीएका छन् भने अर्को तर्फ अभिभावक हरुले छोडेर हिडेपछी को उनीहरूको बच्चा हरुको एक्लोपन र गलत सङ्गतले नसालु पदार्थ एवम् कुलतमा फंस्नेगरेको पनि भेटिन्छ । विभिन्न परिस्थिति हरू द्वारा सृजीत समस्या हरुकै औशतमा वैदेशिक रोजगारीमा गएका अभिभावक हरुका बाल बच्चा ले आत्म हत्या गरेको पाइन्छ । त्यो भन्दा पर विदेशमा रहेका अभिभावकहरु को अनुपस्थितिमा जीवनलाई नबुझ्दै गर्ने लिभिङ् टुगेदर रिलेसनशिप मा धोका, अविश्वास र अपरिपक्को अवस्थामा रहेको अवैध गर्भधारणले युवायुवतिहरुलाई आत्माहत्या गर्न बाध्य बनाएको भेटिन्छ र वृद्धवृद्धाहरुले आफ्नै सन्तानबाट बेहोर्न परेको अपहेलना र मानिसक तनाव आर्थिक अभाव, विभिन्न किसिमका रोगहरुलाई खप्न नसकेका कारण समेत आत्माहत्या गर्ने गरेको पाइन्छ ।

विश्वमा सबै भन्दा बढी आत्महत्या गर्ने देश जापान रहेको छ । त्यस्तै भारत र नेपालमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो छ । आत्महत्या गर्नेमा आम नागरिक देखि चर्चित सेलिब्रिटीहरुको सङ्ख्या उतिकै देखिन्छ । कुनै बेला भारतकी चर्चित कलाकार प्रतुषा बेनर्जीको आत्महत्याले भारत लगायत अन्य देशमा समेत सनसनी मच्चाएको थियो । उनको आत्महत्याको कारण उनका प्रेमीबाट भएको धोका र विश्वासघात भनिएको छ । भारतमा पनि अन्य चर्चितव्यक्तिहरुले पनि आत्मा हत्याको बाटो रोजिसकेका छन् ।त्यस्तै नेपालमा जेनिसा खड्का, आलोक नेम्वाङ, लगायत अन्य चर्चित व्यक्तिहरूले पनि आत्महत्या गरेका छन् ।

मनोवैज्ञानिकहरु भन्छन् कुनै पनि मानिसले जीवनमा कुनै न कुनै बेला आत्महत्याको सोचाइ राखेको हुन्छ । मानव मस्तिष्कमा चौबिसै घण्टा राम्रा विचार मात्र सिर्जना हुँदैन । कतिपय वेला उसको मस्तिष्कमा आफ्नो जीवनको हरेक क्षणलाई समेट्न नसकी मृत्यु नै उसले मुख्य बाटो अपनाउन खोजेको बताउँछन । त्यस्तै आत्मबल कम्जोर हुने व्यक्तिहरूमा त्यस्तो सोचाइ उत्पन्न हुनसाथ ऊ तुरुन्त आत्महत्या गर्ने तर्फ लाग्छन् । आत्महत्याको सोचाइ गरिरहेको बेलामा साथीभाइ अथवा अन्य मानिसको भेटवार्ता र मनोरञ्जन तिर मनलाई मोड्दै समयलाई टार्न सक्यो भने त्यो मानिस आत्महत्याबाट बच्न सक्छ भन्ने भनाई मनोवैज्ञानिकहरुको छ ।

यसरी आत्महत्याको क्रम बढिरहँदा एउटा प्रश्न सधैँ अपुरो रहने गर्दछ । आखिर किन गर्छन् मानिसहरूले आत्महत्या ? आत्महत्या गर्ने कारणहरुमा गरिबी, पारिवारिक कलह, अधुरो प्रेम, आर्थिक अभाव र जीवनमा असफलताजस्ता मानसिक तनावका कारणले मानिसहरू आत्महत्या गरेको देखिन्छ । यस्तै उच्च जीवन शैली कायम राख्न नसक्दा, व्यापारिक घाटा, आर्थिक समस्या, आफन्तको मृत्यु, दैवीप्रकोप, आत्मसम्मान घट्दै गएको अवस्थामा पनि आत्महत्या गरेको पाइन्छ । एक्लोपन, गल्ती वा अपराध बोध, ज्यादा महत्वकांक्षा, प्रेममा धोका, दीर्घरोगी, नकारात्मक सोच, महिलाको अस्तिवमा पर्ने चोट पीडाहरु पनि आत्महत्याको कारण रहेको देखिन्छ । यसरी समस्या देखिने तर समस्याको समधान गर्न नसक्दा कतिपय मानिसहरू आफ्नो जिबनलीला आत्महत्याद्वारा समाप्त परेको भेटिन्छ । तर हामीले बुझ्नैपर्ने कुरा के हो भने संसारमा समस्याको जन्म हुनुभन्दा पहिला नै त्यसको समाधानको पनि जन्म भएको हुन्छ । हरेक समस्याको समाधान छ, हामीले समस्यासँग सामना गर्न सक्नु पर्छ । आत्महत्यालाई समस्या समाधानको माध्यम बनाइनु हुँदैन । आत्महत्या गरेर गयो भने मान्छेको जीवन समाप्त हुन्छ समस्या समाधान हुँदैन । अत: समस्या समाधान गर्ने, समस्याको हल खोज्नेतिर ध्यान दिनु पर्दछ । यदि त्यसो गर्न सकिएमा कसैले पनि अनाहकमा अकालमा देह त्याग अर्थात् आत्महत्याको बाटो रोज्ने छैनन् ।

दिपीका भुसाल

पर्वत, हाल इजरायल