'निल्नु न ओकल्नु'को अक्करमा प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

‘निल्नु न ओकल्नु’को अक्करमा प्रधानमन्त्री ओली



काठमाडौं- पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि नेकपा सचिवालयले तीन दिनको विश्राम लिएको छ । स्थायी कमिटीमा जानुअघि निर्णायक बैठकमा ओलीलाई पनि सहभागी गराउने प्रयासस्वरूप धैर्य गरिएको प्रचण्ड–नेपाल समूहका नेताहरूको भनाइ छ ।

सचिवालयको बुधबारको बैठकमा ओली पक्षका मानिने महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल पनि सहभागी थिए । तर, प्रधानमन्त्रीनिवास बालुवाटारमै भएको बैठकमा ओली उपस्थित भएनन् । अब तीन दिनपछि बस्ने बैठकमा पनि उनी उपस्थित हुने–नहुने निश्चित छैन ।

वरिष्ठ नेता झलनाथ खनालले ओलीसँगै सम्बन्धित विषयमा छलफल गर्नुपर्ने भएका कारण उनकै उपस्थितिमा छलफल गर्नका लागि २० मंसिरमा सचिवालय र २१ मंसिरमा स्थायी कमिटी बैठक गर्ने निर्णय भएको जानकारी दिए । उनले ओली सहभागी नभए पनि निर्णय गर्न सकिन्छ भन्ने सन्देश बुधबारको बैठकमार्फत दिइएको बताए । ‘केपी ओलीले प्रस्तुत गरेको ३८ पेजको दस्ताबेज छ, अर्को १० पेजको चिठीसहित ४८ पेजको त उहाँकै कुरा छ । अरू पनि दस्ताबेज र चिठीपत्र छन् । सबै कुरा उहाँसँगै सम्बन्धित रहेकाले छलफल गर्न उहाँको उपस्थिति अनिवार्यजस्तै भयो । त्यसकारण उहाँ उपस्थित भएर नै बहस र छलफललाई अगाडि लानु राम्रो हुन्छ भन्ने हामी सबै निष्कर्षमा पुग्यौँ,’ खनालले भने, ‘जे–जे कारणले उपस्थित नभए पनि उहाँलाई उपस्थित गराउन कोसिस गरौँ, आउँदै आउनुभएन भने बेग्लै कुरा हो । त्यसका लागि २० गते १ बजे सचिवालय र २१ गते १ बजे स्थायी कमिटी बैठक गर्ने सर्वसम्मत निर्णय भएको हो ।’

ओलीले बैठकमा उपस्थित नहुने सन्देश दिएपछि के गर्ने भन्ने विषयमा प्रचण्ड–नेपाल समूहका नेताहरूले बुधबार बिहान खुमलटारमा अनौपचारिक छलफल गरेका थिए । बैठकमा प्रस्तुत भइसकेको प्रस्ताव फिर्ता नहुने विषयमा उनीहरूबीच मतैक्य छ । बरु, ओली र प्रचण्डको प्रस्तावको किनारा बैठकबाटै गर्ने उनीहरूको योजना छ । पार्टी अध्यक्ष ओली आफूसँग असहमतहरूको सरोकार सम्बोधन गर्ने मनोविज्ञानमा छैनन्, आफ्नो प्रस्ताव पारित गराउने सुविधामा छैनन् । त्यसैले नेकपा विवाद झन्झन् पेचिलो भएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ पार्टी संवेदनशील र असामान्य मोडमा रहेकाले त्यसअनुसार नै छलफल गर्ने र निर्णय लिने अवस्थामा पुगेको बताउँछन् । ‘हामी अहिले गम्भीर र संवेदनशील मोडमा छौँ । त्यसैले संवेदनशीलताका साथ नै छलफल र बहसको प्रक्रिया अगाडि बढाउन र निर्णय लिन उचित हुन्छ भन्ने ठान्छौँ । त्यसकारण अध्यक्ष ओली आउनुभएन भने के गर्ने भन्नेबारेमा सोच्नै चाहेका छैनौँ,’ श्रेष्ठले भने, ‘हाम्रो अपेक्षा मात्रै होइन, विश्वस्त छौँ कि अध्यक्ष अर्को बैठकमा उपस्थित भएर पार्टीको अहिलेको संकटको निवारण गर्ने छलफललाई सार्थक निष्कर्षमा पु¥याउन योगदान गर्नुहुनेछ ।’

बुधबार १ बजेका लागि बोलाइएको बैठकमा ओली उपस्थित हुने वा नहुने द्विविधाबीच महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङको आग्रहअनुसार प्रचण्डले बैठक एक घन्टा ढिलो सारेका थिए । तैपनि ओली अनुपस्थित भएपछि नौ सदस्यीय सचिवालयका बाँकी आठ नेताहरूको बैठक बसेको थियो ।

करिब १५ मिनेट बसेको बैठकमा वरिष्ठ नेताहरू खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले त्यसैगरी बैठक सारिरहने विषय ठीक नहुने धारणा राखेका थिए । तर, उपाध्यक्ष वामदेव गौतमले भने बैठक बसेर क्षतिको सम्भावनाको बाटो रोज्नुभन्दा अझै केही दिन निकास दिनकै लागि अधिकतम कोसिस गर्दा उपयुक्त हुने धारणा राखेका थिए । ‘उहाँले अझै कोसिस गर्नु नै राम्रो हुन्छ, समझदारी हुन्छ भने कोसिस गर्दै ठीक हुन्छ, पार्टी जेसुकै होस्, बैठक मात्र गरौँ भन्ने कुरा मात्र राम्रो होइन भन्नुभयो,’ गौतमलाई उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने ।

वरिष्ठ नेता खनालले भने ओलीको अनुपस्थितिमा पनि औपचारिक बैठक बस्न सक्छ भन्ने प्रमाणकै लागि बुधबार सचिवालयबाट तीन निर्णय गरिएको प्रस्ट्याए । ‘उहाँ अनुपस्थित भएको वेलामा पनि औपचारिक बैठक बस्यौँ, बकाइदाले तीनवटा निर्णय ग¥यौँ । त्यसकारण उहाँको अनुपस्थितिमा पनि बैठक बस्न सक्छ भन्ने प्रमाण दिइसकेका छौँ,’ उनले भने, ‘त्यसकारण अबका दिनमा उहाँ अनुपस्थित हुनुभयो भने पनि बैठक रोकिँदैन, अगाडि बढ्छ ।’ प्रधानमन्त्रीको सचिवालयले भने कार्यव्यस्तताका कारण प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित भएको जनाएको शुरोजंग पाण्डेले नयाँ पत्रिकामा लेखेका छन् ।